खुमा अर्याल फाउन्डेसनको शिविरमा ६ सय ३१ जनाले लिए स्वास्थ्य सेवा

पोखरा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा शनिबार सम्पन्न विशेषज्ञसहितको बृहत् स्वास्थ्य शिविरमा ६ सय ३१ जना स्थानीयले स्वास्थ्य सेवा लिएका छन् । खुमा अर्याल फाउन्डेसन स्याङ्जा र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना एवम् गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा उक्त शिविर भएको हो ।
अर्जुनचौपारी गाउँपालिका–१ स्थित गाउँकार्यपालिकाको कार्यालयमा सञ्चालित शिविरमा परीक्षण गराएकामध्ये १ सय २० जना बिरामीलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा रिफर गरिएको छ । रिफर गरिएका बिरामीहरूलाई गण्डकी मेडिकल कलेजमा औषधिमा ५ प्रतिशत र उपचार शुल्कमा २० प्रतिशत छुट दिइने आयोजकले जनाएको छ ।
शिविरमा हाडजोर्नी तथा नशारोग, मुटुरोग, आँखा, नाक, कान तथा घाँटी रोग, स्त्री तथा प्रसुति रोग, बालरोग, दन्तरोग र छालारोग परीक्षण सेवा उपलब्ध गराइएको थियो । रेडियोलोजी, जनरल मेडिसिन, इसिजी र इको सेवा पनि शिविरमा प्रदान गरिएको थियो । स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टरहरू कृष्ण विष्ट, चन्द्रबहादुर पुन, बृहस्पति सिग्देल, अपार अधिकारी, विनिता शर्मा, स्मारिका आचार्य, बृजकुमार यादव, सान्त्वना पराजुली, अर्जुनकुमार खत्रीलगायतका चिकित्सकहरूले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।
शिविरमा सेवा लिनेहरूमध्ये सबैभन्दा धेरै आँखा, नाक, कान, घाँटी रोग र हाडजोर्नी तथा नशारोगका बिरामी रहेका छन् । तथ्यांकअनुसार १ सय ९० जनाले आँखा, नाक, कान, घाँटी र १ सय ९० जनाले नै हाडजोर्नी तथा नशारोगको परीक्षण गराए । त्यस्तै, १ सय २६ जनाले रेडियोलोजी सेवा, १ सय २२ जनाले जनरल मेडिसिन सेवा, १ सय १५ जनाले इसिजी र ९० जनाले इको सेवा लिएका छन् । ५५ जनाले मुटुरोग, ४६ जनाले स्त्री तथा प्रसुति रोग, ३८ जनाले दन्तरोग, ३५ जनाले छालारोग र ३२ जनाले बालरोग सम्बन्धी परीक्षण गराएको आयोजकले जनाएको छ ।
कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले दूरदराजको पालिकामा आएर विशेषज्ञसहितको स्वास्थ्य सेवा उपलब्ध गराएकोमा खुमा अर्याल फाउन्डेसनलाई धन्यवाद दिए । गाउँपालिकाका उपाध्यक्ष सपना गुरुङ, वरिष्ठ उद्यमी तथा समाजसेवी खुमाप्रसाद अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थापक परिवार सदस्य डा. लुना अर्यालले शिविरमा उपलब्ध सेवाहरूको बारेमा जानकारी गराएकी थिइन् ।
फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले सबैको साथ र सहयोगले गर्दा नै शिविर गुणस्तरीय सेवासहित सम्पन्न भएको बताए । सो क्रममा फाउन्डेसन र गाउँपालिकाको तर्फबाट गण्डकी मेडिकल कलेजलाई सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो । फाउन्डेसनद्वारा गाउँपालिकालाई र गाउँपालिकाद्वारा फाउन्डेसनलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।
गण्डकी मेडिकल कलेज पोखराको टिमलाई प्रशंसापत्र प्रदान गरिएको थियो । फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका–१ का वडाध्यक्ष रणबहादुर थापाले स्वागत र सचिव ध्रुव शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया