जनप्रियको गरिमा कायम राख्छुः अध्यक्ष पहारी

समाधान संवाददाता २०८२ पुष ६ गते १८:१९

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको ऐतिहासिक गरिमालाई कायम राख्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता गरेका छन् ।

Advertisement

आइतबार क्याम्पसमा आयोजित पदस्थापना तथा शपथ ग्रहण समारोहमा अध्यक्ष पहारीले विश्वविद्यालय अनुदान आयोगबाट क्याम्पसले प्राप्त गर्ने गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको तेस्रो चक्रको प्रमाणपत्र हाँसिल गर्न आफूले कुनै कसर बाँकी नराख्ने उद्घोष गरे ।

अध्यक्ष पहारीले आफ्नो तीनवर्षे कार्यकाल (२०८२–२०८५) को मार्गचित्र प्रस्तुत गरे । उनले गण्डकी प्रदेश सरकारसँग प्रभावकारी समन्वय गरी सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने र श्रमबजारको मागअनुरूप दक्ष जनशक्ति उत्पादन गर्ने कुरालाई आफ्नो बटमलाइन बनाएका छन् ।

Advertisement

‘मेरो नेतृत्व क्याम्पसको समृद्धि, संस्थागत सुशासन र शैक्षिक उत्कृष्टतामा केन्द्रित हुनेछ,’ अध्यक्ष पहारीले भने, ‘हामी सबै पक्षलाई समेटेर, सबैसँग हातेमालो गर्दै जनप्रियलाई नाम जस्तै साँच्चिकै ‘जनप्रिय’ बनाउन समर्पित हुने छौँ ।’

क्याम्पसको २७ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनबाट निर्वाचित अध्यक्षसहित ११ जना सदस्यले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता बोधराज बरालले नवनिर्वाचित पदाधिकारीलाई शपथ ग्रहण गराउँदै प्रमाणपत्र प्रदान गरेका थिए । शपथ लिने सदस्यमा गणेशबहादुर अधिकारी, नम्रता बराल, तिलकराम पौडेल, गिरिराज चालिसे, विश्वकुमार बिजुक्छे, पदमबन्धु पोखरेल, लक्ष्मीप्रसाद पौडेल, ईन्द्रप्रसाद पौडेल, इन्जिनियर शारदामोहन काफ्ले, राधिका रेग्मी सिग्देल र हेमबहादुर थापा पराजुली छन् ।

Advertisement

२५ सदस्यीय सञ्चालक समितिमा निर्वाचित बाहेकका सदस्य मनोनयन र पदेन रहने व्यवस्था छ । पदस्थापना समारोहमा क्याम्पसका अग्रज तथा सरोकारवालाले शैक्षिक संस्थालाई राजनीतिबाट मुक्त राख्नुपर्नेमा विशेष जोड दिएका थिए । संस्थापक उपाध्यक्ष हरिप्रसाद बराल, सल्लाहकार तथा पूर्वअध्यक्ष दामोदर चालिसे, पूर्व कार्यवाहक अध्यक्ष परशुराम बराल, निवर्तमान अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे लगायतले क्याम्पसलाई केन्द्रविन्दुमा राखेर काम गर्न सुझाव दिए ।

पब्लिक क्याम्पस प्राध्यापक संघ जनप्रिय एकाइका अध्यक्ष विकास थापामगरले पनि शैक्षिक गुणस्तरमा नयाँ समितिले विशेष ध्यान दिनुपर्ने बताए । निर्वाचन समिति संयोजक अधिवक्ता बोधराज बरालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

तपाईको प्रतिक्रिया