
पोखरा । महोत्सव भन्नेबित्तिकै रमाइलो, खानपान र सांगीतिक माहौलको झल्को आउँछ । तर, कास्कीको लेखनाथमा जारी २१औं संस्करणको लेखनाथ महोत्सवको दृश्य भने थोरै फरक र लोभलाग्दो छ । पुस ३ गतेदेखि सुरु भएको यो महोत्सवमा रमाइलो गरेर घर फर्कने दर्शकका हातमा प्लास्टिकका खेलौना वा कपडाका पोका मात्र देखिँदैनन्, बरु देखिन्छन् ताजा तरकारीले भरिएका झोला ।
महोत्सवको प्रवेशद्वारबाटै स्थानीय कृषि उत्पादनका स्टलहरू राखिएका छन् । यसले गर्दा दर्शकले आफूलाई आवश्यक पर्ने तरकारीदेखि कृषि औजारसम्म खरिद गर्न त पाएका छन् नै, कृषिका बारेमा परामर्श लिने अवसर पनि मिलेको छ । दर्शकले यसपटक कृषि प्रदर्शनीका स्टललाई निकै अभिरुचिका साथ नियालेको देखिन्छ ।
लेखनाथ महोत्सवमा ताजा तरकारीका ८, सुन्तला तथा फलफूलका ९, मौरीका ६ लगायत स्टल छन्
मेला हेर्न आएकी पोखरा ३१ पचभैया निवासी राधा थापाको अनुभव पनि उस्तै छ । ‘घरमा भर्खरै लगाएका आलु, काउली, बन्दा, मुला खाने बेला भएको छैन, मेला हेर्न पनि पाइने र फर्कँदा दुई–चार दिनलाई जोगो हुने गरी तरकारी लिएर जान पाइने भएकाले सजिलो भयो,’ राधाले भनिन् ।
हुन पनि महोत्सवमा राखिएका ३ सय ३६ स्टलमध्ये कृषि उत्पादनका मात्रै २४ स्टल छन् । अझ विशेष कुरा त के भने, यहाँ बृहत् कृषि मेला प्रदर्शनीकै व्यवस्था मिलाइएको छ । कृषि प्रदर्शनी उपसमितिका संयोजक दयाराम तिवारीका अनुसार प्रदर्शनीमा पोखरा महानगरपालिकाभित्रका ३३ वटै वडाका ७५ भन्दा बढी किसानले विभिन्न किसिमका कृषि उपज राखेका छन् ।
पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा र आयोजकको समन्वयमा राखिएको प्रदर्शनीमा फलफूल, तरकारी, बीउविजन र कृषि प्रविधिका उत्कृष्ट नमुनामात्र छैनन्, माटोको उर्वराशक्ति तथा अम्लीयपन परीक्षण गरेर किसानलाई जानकारी दिने व्यवस्था पनि छ । उत्कृष्ट हुने किसानलाई पुरस्कृत गरिने योजना रहेको तिवारीले जानकारी दिए ।
कृषिका २४ स्टलमध्ये ताजा तरकारीका ८, सुन्तला तथा फलफूलका ९, मौरीका ६ र अन्य कृषिसँग सम्बन्धित स्टल छन् । बेगनास र रुपातालका माछाका स्टल पनि यहाँका आकर्षण हुन् । महोत्सवमा दैनिक सरदर ५० केजीभन्दा बढी माछा बिक्री हुने गरेको छ ।
२०५८ सालमा सुन्तला प्रदर्शनीबाट सुरु भएको लेखनाथ महोत्सवले आफ्नो इतिहासलाई पनि कायमै राखेको छ । कास्कीको पुम्दी, बागलुङ, पर्वत र स्याङ्जामा उत्पादन भएका सुन्तलाहरू खरिद गर्न पाइन्छ । सुन्तलाका ११ वटा स्टलबाट दैनिक सरदर तीन सय केजीभन्दा बढी सुन्तला बिक्री भइरहेको छ ।ताजा तरकारीमा स्थानीय उत्पादनकै बाहुल्य छ । लेखनाथदेखि हेमजासम्मका उत्पादनहरू स्टलमा सजिएका छन् । विभिन्न कृषक समूह र आमा समूहहरूले स्थानीय किसानका उत्पादन संकलन गरी बिक्री वितरणको व्यवस्था मिलाएका छन् । अझ रोचक त के छ भने, महोत्सवभित्र रहेका होटल तथा रेस्टुरेन्टहरूले पनि यिनै स्टलबाट तरकारी खरिद गरेर पाहुनालाई खुवाउने गरेका छन् ।
कृषि उत्पादनमा लेखनाथलाई निश्चित कुनै एउटा ब्रान्डका रूपमा स्थापित गर्न नसकिए पनि स्थानीय स्तरमा उत्पादन भएका माछा, मह, फलफूल, जडीबुटी तथा जेठोबुडो, गुर्दी, घैया, मन्सराजस्ता स्थानीय चामलले महोत्सवमा राम्रो बजार पाएका छन् । मेलामा आउनेहरूले कृषि सम्बन्धी परामर्श र आधुनिक सामग्रीको अवलोकन पनि गर्ने गरेकाले यसले कृषि उत्पादनको बजारीकरणमा टेवा पुर्याएको छ ।
यसैबीच महोत्सवको तेस्रो दिन शनिबार करिब ४० हजार दर्शकले मेलाको अवलोकन गरेको र आर्थिक कारोबारतर्फ १ करोड ५० लाख बराबरको कारोबार भएको अनुमान गरिएको महोत्सवका प्रचारप्रसार उपसमितिका संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए । साँच्चै, यस पटकको लेखनाथ महोत्सव केवल रमाइलो गर्ने थलो मात्र नभएर किसान र उपभोक्तालाई जोड्ने पुलका रूपमा समेत स्थापित भएको छ ।

भीमपाणि बराल
बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया