गौरी तमुको कविता संग्रह ‘सैँप्रोल’ सार्वजनिक

समाधान संवाददाता २०८२ पुष ६ गते १८:३२

पोखरा । कवि गौरी तमूको कविता सञ्चयन ‘सैँप्रोल’ पोखरामा सार्वजनिक गरिएको छ । गुरुङ साहित्यिक मञ्चद्वारा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले कृति लोकार्पण गरेका हुन् ।

Advertisement

कार्यक्रममा साहित्यकार सरुभक्तले गुरुङ जातिका संस्कार र संस्कृतिलाई नेपाली साहित्यिक क्षेत्रमा प्रयोग गरी समृद्ध बनाउन लेखक गुरुङ उल्लेखनीय भूमिका रहेको उल्लेख गरे । ‘नेपालका आदिवासी जनजातिका जातीय बिम्बहरू प्रयोग गरी उत्कृष्ट सिर्जनाहरु हुन सक्छन् । यो बाटोमा गौरी तमूको यात्रा लोभलाग्दो छ,’ सरुभक्तले भने ।
जनजाति र बहुभाषी नेपालीले एकसाथ विभिन्न भाषामा सिर्जना गर्न सक्ने उनको भनाइ छ । नयाँ कृति सैँप्रोल नेपाली काव्य जगत्का लागि पृथक र उल्लेखनीय प्राप्ति बन्ने उनको विश्वास छ ।

कवि तमूले महिलाको अस्तित्व र गुरुङ संस्कृतिका विषयवस्तुलाई कवितामा अभिव्यक्त गर्ने प्रयास गरेको उल्लेख गरिन् । इन्डिगो इन्क प्रालिले यो कृति प्रकाशन गरेको हो । यसअघि ‘समैँ दर्बानी’ नामक मुक्तक सञ्चयन प्रकाशित छ ।

Advertisement

‘तमू जातिका सांस्कृतिक र धार्मिक ग्रन्थमा प्रशस्त मिथक छन् । केही मिथकलाई सैँप्रोलमा उपयोगको प्रयास गरेकी छु,’ उनले थपिन्, ‘पितृसत्ताको चंगुलमा फस्दै गरेको गुरुङ समुदायप्रतिको चिन्ता हो । सैँप्रोललाई महिला भएकै कारण उनको विद्वता र क्षमतामाथि गरिएको प्रश्नप्रतिको प्रतिरोध हो ।’

साहित्यकार गनेस पौडेलले कृतिमा सौन्दर्यचेतको सरल एवम् गहन प्रस्तुति रहेको औंल्याउँदै पहिचानवादी कृतिको एक मानवका रुपमा सैँप्रोल स्थापित हुने अपेक्षा सनाए । साहित्यकार तीर्थ गुरुङले गौरीको संस्थागत सक्रियता, प्राज्ञिक कर्म र सिर्जनशीलताले उत्कृष्ट कृति तयार भएको जनाए । कार्यक्रम मञ्चका अध्यक्ष तेजबहादुर गुरुङको अध्यक्षतामा भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया