कालाबाङ घरेडीमा फोनिजको पर्यटन अन्तरक्रिया

समाधान संवाददाता २०८२ पुष ६ गते १८:५३

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा महानगरपालिकाको सहकार्यमा ‘पोखरा पर्यटन वर्ष २०२५’ प्रवद्र्धनका बारेमा अन्तरक्रिया गरेको छ ।

Advertisement

फोनिजको आयोजना, फोनिज गण्डकी र कास्कीको समन्वयमा शनिबार पोखरा २२ मा रहेको कालाबाङ घरेडी सामुदायिक होमस्टेमा ‘पोखरामा पर्यटन प्रवर्धनमा आदिवासी जनजाति पत्रकारको भूमिका’ विषयमा अन्तरक्रिया गरिएको हो ।

पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा पोखरा महानगरपालिकाको सहयोगमा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ अर्यालले पर्यटकीय गन्तव्यको प्रचार प्रसारमा पत्रकारको भूमिका उल्लेखनीय रहेको बताए ।

Advertisement

नेपाललाई पर्यटन क्षेत्रमा विश्वभरी चिनाउनुमा आदिवासी जनजातिको संस्कार, संस्कृतिको मुख्य भूमिका भएको बताउँदै उहाँले मिडियालाई पर्यटन अभियानमा सहयोग गर्न आग्रह गरे । उनले भने, ‘आदिवासी जनजातिहरुको संस्कृतिले नेपालको पर्यटन प्रवद्र्धनमा भूमिका खेलिरहेको छ, यसलाई जोगाउनु हामी सबैको कर्तव्य हो ।’ अहिले पोखरा महानगरपालिकाले पोखराको पर्यटकलाई मध्यनजर गरेर, प्रकृति, संस्कृति र साहसिक पर्यटनलाई ध्यान दिइरहेको उनको भनाइ छ ।

कार्यक्रममा व्यवसाय प्रवर्द्धन केन्द्र पोखराका प्रमुख नवराज अधिकारीले पर्यटनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि पोखरा अति उपयुक्त ठाउँ भएको बताए । पोखराको पर्यटन क्षेत्रलाई यहाँ आयोजना हुने मेला महोत्सवले समेत टेवा दिइरहेको उनको भनाइ छ ।

Advertisement

यो वर्ष पोखरा महानगरपालिका पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएर अघि बढेको उनले बताए । उनले भने, ‘आफ्नो लक्ष्य पूरा गर्न महानगर निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ ।’

फोनिजका सल्लाहकार उजीर मगरले पर्यटन वर्ष २०२५ मनाइ रहँदा पोखरा महानगरले पोखरालाई मात्र केन्द्रिकृत नगरी अन्य ठाउँको पर्यटन प्रवर्धनमा पनि ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।

फोनिजका अर्का सल्लाहकार डण्ड गुरुङले बाह्य पर्यटकहरु नेपालको सिमिन्टेड घर हेर्नुभन्दा यहाँका आदिबासीको सभ्यता, संस्कृति, रहनसहनमा आकर्षित रहेको बताए । आदिबासीको संस्कृति प्रवद्र्धनमा सरकारले ध्यान दिनुपर्ने उनले सुझाव दिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय अध्यक्ष लक्की चौधरीले यहाँको पर्यटन प्रवर्धनमा आदिबासीको ज्ञान, सीप, कला र संस्कृतिले महत्वपूर्ण भूमिका खेल्दैआएको बताए । आदिबासी समुदायको कला, संस्कृति, ज्ञान र सीपलाई प्रवर्धन गरेर पर्यटकलाई आकर्षित गर्न सकिने उनको सुझाव थियो ।

फोनिजका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा फोनिजका संघीय महासचिव समीर बलामी, पोखरा वडा २२ का अध्यक्ष हिमलाल बडाल, फोनिज गण्डकी प्रदेशका अध्यक्ष खिमा गुरुङ लगायतले पोखरा पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका महत्वपूर्ण हुने भएको त्यसमा पत्रकारले साथ दिनुपर्ने धारणा राखेको थिए ।


कालाबाङमा फोनिजको पूर्ण बैठक
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को तेस्रो पूर्ण बैठक पोखराको कालाबाङ घरेडी सामुदायिक होमस्टेमा भएको छ । शुक्रबारदखि सुरु भएको बैठक शनिबार सकिएको हो ।

पोखरा महानगरपालिका वडा २२ मा रहेको कालावाङ घरेडी सामुदायिक होमस्टेमा भएको बैठकले विभिन्न निर्णय गर्दै सकिएको हो । बैठकले फोनिजको गतिविधिलाई थप सशक्त बनाउँदै अघि बढ्ने निर्णय गरेको छ । बैठकले विगतको गतिविधिको समीक्षा गर्दै आगामी दिनमा थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

बैठकमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षबारेमा अध्ययन समिति गठन गर्न महासंघलाई पुनः दवाव दिने निर्णय गरेको छ । पटक पटक ज्ञापनपत्र र अल्टिमेटम दिँदासमेत महासंघको महाधिवेशनले दिएको म्यान्डेट समेत कार्यान्वयन नगर्दा फोनिजले खेद प्रकट गर्दै अब निर्णायक संघर्ष गर्ने निर्णय गरेको छ । महासंघ गम्भीर नबने महासंघको कार्यालयमा देशव्यापी तालाबन्दी गर्नेसम्मको कार्यक्रम अघि बढाउने फोनिज संघीय समितिमा छलफल भएको छ ।

सोहीअनुसार फोनिजकर्मीको क्षमता बृद्धिका लागि राष्ट्रिय स्तरको कार्यशाला गोष्ठी, प्रशिक्षणमूलक कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ । फोनिजलाई संगठनात्मक रुपमा चुस्त बनाउन कार्ययोजनासहित गतिविधि अघि बढाउने निर्णय गरेको छ । मातृभाषा पत्रकारितालाई प्रवर्धनमा अभियान चलाउने बैठकमा छलफल भएको छ ।

फोनिजका अध्यक्ष लक्की चौधरीको अध्यक्षतामा भएको बैठकमा सल्लाहकार डण्ड गुरुङले संगठनात्मक कामलाई केन्द्रमा राखेर इमान्दारितापूर्वक काम गर्न सुझाव दिए । फोनिज बलियो भएमा मात्र आदिबासीको अधिकारको सवाल बलियो गरी उठ्ने भन्दै उनले फोनिज आदिबासी समुदायको प्रवक्ताको भूमिकामा रहेको बताए ।

फोनिजका सल्लाहकार उजीर मगरले तत्कालीन अनिज र हालको फोनिज स्थापनामा आफूहरुको ठुलो संघर्ष र मेहनत भएकाले यसको गरिमा कायम गर्नेगरी गतिविधिहरु गर्न सुझाव दिए । फोनिज संस्था आदिबासीको शक्ति भएको बताउँदै उहाँले संगठनात्मक गतिविधिलाई बलियो बनाउन सामुहिकताको खाँचो रहेको बताए । २०५६ साउन २७ गते तत्कालीन अनिज नामबाट स्थापना भए पनि अहिले फोनिज फैलिएर ठूलो शक्तिको रुप लिएकोमा खुशी व्यक्त गरे ।

फोनिज संघीय अध्यक्ष लक्की चौधरीले फोनिजको गतिविधि आदिबासीको अधिकारको पैरवी, पत्रकारिताको विकास, अभिव्यक्ति स्वतन्त्रता र जिम्मेवार तथा समावेशी पत्रकारिता प्रवर्धनमा केन्द्रित रहेको बताए । आगामी दिनमा फोनिजलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने उनले प्रतिवद्धता जनाए ।

बैठकमा फोनिजका सल्लाहकार शान्ति गुरुङ, फोनिजका पदाधिकारी, प्रदेश कमिटीका अध्यक्ष तथा इन्चार्ज, जातीय पत्रकार संस्थाका अध्यक्षहरुले आफ्नो गतिविधि र संघीय समितिलाई सुझावसहितको धारणा राखेका थिए ।

फोनिजका सल्लाहकारहरु, फोनिज संघीय समितिका पदाधिकारी तथा सदस्यहरु, काठमाडौं उपत्यकासहितको विशेष समन्वय समिति, सातवटा प्रदेश कमिटी, गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरुगरी ६५ जनाको सहभागिता थियो । तेस्रो पूर्ण बैठकले कास्की घोषणापत्र समेत जारी गरेको छ ।

२६ वर्षअघि स्थापना भएको फोनिजमा देशभर ६६ जिल्ला शाखा, ८ विदेश शाखा, काठमाडौं उपत्यकासहित ८ प्रदेश कमिटी, आठ जातीय पत्रकार संस्था गरी साढे चार हजार आदिबासी जनजाति पत्रकार आवद्ध छन् ।

तपाईको प्रतिक्रिया