मंसिर महिनामा १२ हजार ४४२ जनामाथि ट्राफिक कारबाही

पोखरा । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले मंसिर महिनामा सवारी नियम उल्लंघन गर्ने १२ हजार ४४२ जनामाथि कारबाही गरी १ करोड ९ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
कार्यालयले सार्वजनिक गरेको मंसिर महिनाको प्रगति विवरणअनुसार उक्त अवधिमा ३७ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परी ११ पुरुष र २ महिला गरी १३ जनाले ज्यान गुमाएका छन् भने ६६ जना घाइते भएका छन्। घाइतेमध्ये २९ जनाको अवस्था गम्भीर र ३७ जनाको अवस्था सामान्य रहेको कार्यालयले जनाएको छ।
सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति देखिएको छ। विवरणअनुसार १८ वटा दुर्घटना तीव्र गतिका कारण भएका हुन् भने मादक पदार्थ सेवनका कारण ३, चालकको असक्षमताका कारण ४, ओभरटेकका कारण १ र अन्य प्राविधिक कारणले दुर्घटना भएका हुन्। कार्यालयले दुर्घटना न्यूनीकरणका लागि महिनाभर १ हजार ८०६ पटक ट्राफिक प्रहरी परिचालन गरेको थियो। यस्तै, ३ हजार २४८ वटा सवारी साधनको चेकजाँच गरिएको र भूपि शेरचन राजमार्ग, बेनी–जोमसोम सडक खण्ड र पृथ्वी राजमार्गमा ४ पटक राजमार्ग गस्ती गरिएको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गोपी कृष्ण सुवेदीले बताए।
समुदाय तथा विद्यालय लक्षित सचेतना कार्यक्रममार्फत कार्यालयले ठूलो संख्यामा नागरिकलाई ट्राफिक नियमबारे जानकारी दिएको छ। मंसिरमा सञ्चालित विभिन्न कार्यक्रमबाट ८१ हजार ७९३ जना लाभान्वित भएका छन्। जसमा ३३ पटक विद्यालय तथा कलेजमा सचेतना कक्षा, २९ पटक नयाँ चालकलाई सचेतना, ८०५ पटक व्यवसायी र चालक सहचालकलाई जानकारी र ३८४ पटक स्थानीय टोल समुदायमा कार्यक्रम गरिएका थिए। यात्री र पैदलयात्रीलाई सुरक्षित यात्रा र बाटो काट्ने तरिकाबारे १ हजार ८८ पटक सचेतना कार्यक्रम सञ्चालन गरिएको प्रगति विवरणमा उल्लेख छ।
प्रहरी कर्मचारीको मनोबल उच्च राख्न कार्यालयले विभिन्न कल्याणकारी र रचनात्मक क्रियाकलापसमेत गरेको छ। कार्यरत प्रहरीलाई ट्रयाकसुट वितरण गर्नुका साथै प्रत्येक शुक्रबार ‘टी विथ द टिम’ कार्यक्रममार्फत गुनासो सुनुवाइ गर्ने गरिएको छ। प्रहरी कर्मचारीलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ र सामाजिक सञ्जालको प्रयोगसम्बन्धी प्रशिक्षणसमेत दिइएको छ। तनाव व्यवस्थापनका लागि साप्ताहिक रूपमा ‘नेचर वाक’ कार्यक्रम सञ्चालन गर्ने गरिएको कार्यालयले जनाएको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघसंस्थासँगको समन्वयमा ट्राफिक व्यवस्थापनका पूर्वाधारहरु थप गरिएका छन्। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट ६२ थान सूचनामूलक बोर्ड प्राप्त गरी वितरण गरिएको छ भने ‘वर्ल्डलिंक कम्युनिकेसन प्रालि’ मार्फत ३३ थान ‘नो पार्किङ’ र ११ थान ‘नो स्टपिङ’ बोर्ड जडान गरिएको छ। त्यस्तै, ‘जेसीआई’ संस्थाबाट २ थान डिभाइडर र १५ थान ट्राफिक कोण प्राप्त भएको छ। पृथ्वी राजमार्गको आबुखैरेनीदेखि म्याग्देसम्मका ४६ स्थानमा ‘चाइना कन्स्ट्रक्सन कम्पनी’ सँगको समन्वयमा ‘सोलार स्ट्रिट लाइट’ जडान गरिएको छ। बागलुङ नगरपालिकाबाट १ थान डिजिटल बोर्ड, २३ थान ट्राफिक संकेत बोर्ड र १ थान कम्प्युटर प्राप्त भएको कार्यालयले जनाएको छ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया