रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ रिभानमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ३९औँ वार्षिकोत्सव तथा संरक्षण दिवस मनाइएको छ । संरक्षण क्षेत्र व्यवस्थापन समिति रिभान र माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ को आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा शुक्रबार विविध कार्यक्रम गरी दिवस मनाइएको हो ।
नेपाल सरकारले २०४९ साल साउन ५ गते राजपत्रमा संरक्षण दिवस मनाउने उल्लेख गरेसँगै एनटिएनसीले सहमति लिएर डिसेम्बर १० मा संरक्षण दिवस मनाउँदै आएको छ ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले संरक्षण क्षेत्रबाट आयआर्जन र राजस्व वृद्धि गर्न एक भएर लाग्नुपर्ने बताए । अन्नपूर्ण संरक्षण आयोजनाका आयोजना प्रमुख डा. रविन कडरियाले यस क्षेत्रमा संरक्षण आयोजनाले नांगा पाखालाई हरियाली बनाउने, स्थानीयलाई आयआर्जनमा जोड्ने, शिक्षा, सिँचाइ, पानी सरसफाइसँगै पछिल्लो समय पर्यटनको क्षेत्रमा पनि काम गरेको उल्लेख गरे । माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले संरक्षणको क्षेत्रमा यहाँका स्थानीयलाई पोख्त बनाउँदै एक भएर अगाडि बढ्नुपर्ने बताइन् ।
दिवसको अवसरमा माछापुच्छ्रे गाउँपालिका माविस्तरीय हाजिर जवाफ प्रतियोगिता, पालिकामा रहेका संरक्षण क्षेत्र व्यवस्थापन समितिस्तरीय सामूहिक नृत्य, विद्यालयस्तरीय चित्रकला र कृषि प्रदर्शनी गरिएको थियो । माविस्तरीय हाजिर जवाफ प्रतियोगितामा निष्पक्ष मावि रिभान प्रथम, उदय मावि धम्पुस द्वितीय, गौरी शंकर मनीलाल मावि सैतिघट्टा तृतीय र शुक्ला गण्डकी मावि घाचोक सान्त्वना भए ।
सामूहिक नृत्य प्रतियोगितामा संरक्षण क्षेत्र व्यवस्थापन समिति घाचोक प्रथम, संरक्षण क्षेत्र व्यवस्थापन समिति सार्दीखोला द्वितीय, संरक्षण क्षेत्र व्यवस्थापन समिति धम्पुस तृतीय र संरक्षण क्षेत्र व्यवस्थापन समिति रिभान सान्त्वना भए भने संरक्षण क्षेत्र व्यवस्थापन समिति ल्वाङ घलेलले प्रोत्साहन पुरस्कार प्राप्त गर्यो । विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा निष्पक्ष माविका सनोज विक प्रथम, उदय माविका खगेन रसाइली द्वितीय, महेन्द्र माविका आदित्य अधिकारी तृतीय र अन्नपूर्ण आधारभूत विद्यालयका ईशान तामाङ सान्त्वना भए ।
कृषि प्रदर्शनीअन्तर्गत मसलाजन्यतर्फ माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ का विष्णु क्षेत्री प्रथम, वडा नम्बर ५ कै सीता लामिछाने द्वितीय र वडा नम्बर ७ का प्रेम सुनार तृतीय भए ।
फलफूलतर्फ वडा नम्बर ३ का देवीलाल शर्मा प्रथम, वडा नम्बर ५ का खिमलाल पौडेल द्वितीय, वडा नम्बर ७ का रामबहादुर भण्डारी तृतीय र वडा नम्बर १ की मनीषा गुरुङ सान्त्वना भए । तरकारीतर्फ वडा नम्बर ४ का अमृत अधिकारी प्रथम, वडा नम्बर ३ का जगदीश लम्साल द्वितीय र वडा नम्बर ३ कै तुलसी आचार्य तृतीय भए । कृषि प्रदर्शनीमा प्रेम सुनार र रिभान कृषि सहकारी संस्था लिमिटेडले विशेष पुरस्कार प्राप्त गरे । विजयीलाई नगद र सम्मानपत्र प्रदान गरिएको थियो ।
संरक्षणको विकासमा योगदान पुर्याएबापत विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरूमा संरक्षण किसान सम्मानबाट रिभानकी राधिका ढुंगाना, हरियाली कार्यक्रममा सहयोग पुर्याएका रिभान हुम्दीका देवीलाल लामिछाने र साबिक रिभान वन व्यवस्थापन उपसमिति छन् ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय ल्वाङका प्रमुख लेखनाथ गौतम, रेन्जर सुदीप केसी, संरक्षण क्षेत्र व्यवस्थापन समिति घाचोकका अध्यक्ष रविलाल पोख्रेल, संरक्षण क्षेत्र व्यवस्थापन समिति ल्वाङ घलेलका अध्यक्ष ओमप्रकाश गुरुङ, राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान कास्कीका अध्यक्ष परशुराम अधिकारीलगायतले मन्तव्य राखेका थिए ।
त्यस अवसरमा वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीले संरक्षणसम्बन्धी सचेतना जगाउने नाटक प्रस्तुत गरेका थिए । संरक्षण क्षेत्र व्यवस्थापन समिति रिभानका अध्यक्ष तोरणबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष नारायणप्रसाद पौडेलले स्वागत र समितिका सचिव शिवप्रसाद भुसालले कार्यक्रम सञ्चालन गरेका थिए ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया