भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग

समाधान संवाददाता २०८२ पुष ६ गते २०:०८

पोखरा । भद्रकाली माध्यमिक विद्यालयलाई पोखरा–१३ बाझापाटनस्थित सत्य युवा सेवा समितिले १ लाख ५३ हजार रुपैयाँ बराबरको शैक्षिक तथा भौतिक सामग्री सहयोग गरेको छ ।

Advertisement

सामाजिक उत्तरदायित्व अन्तर्गत समितिले विद्यालयलाई १ थान ५ सिटको सोफा सेट, ७० थान प्लास्टिकका कुर्सी, १० थान मेटलका कुर्सी र १/१ थान अफिस टेबल तथा कुर्सी हस्तान्तरण गरेको हो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा समितिका अध्यक्ष हितमान गुरुङ, उपाध्यक्ष रोशन गुरुङ र सचिव महेश आचार्यले संयुक्त रूपमा प्रधानाध्यापक यदुराज पगेनीलाई उक्त सामग्री दिए ।

शिक्षा क्षेत्रको विकासमा समुदायको भूमिका महत्त्वपूर्ण हुने भएकाले विद्यालयलाई सहयोग गरिएको समितिका अध्यक्ष हितमान गुरुङले बताए । ‘यस वर्ष आयोजना गरेको म्युजिकल फेष्ट २०२५ कार्यक्रमबाट बचत भएको रकमबाट सानो भए पनि योगदान दिन पाउँदा समिति गौरवान्वित भएको छ,’ गुरुङले भने । उनले आगामी दिनमा पनि विद्यालयसँग सहकार्य गर्दै सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement

त्यसैगरी उपाध्यक्ष रोशन गुरुङ र सचिव महेश आचार्यले शिक्षा नै समाजको दिगो विकासको आधार भएको बताए । विद्यालयलाई आवश्यक सहयोग गर्नु समितिको प्रमुख उद्देश्य रहेको उनीहरूको भनाइ थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यदुराज पंगेनीले प्राप्त सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै यसले विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालनमा सहजता थपिएको बताए । उनले विद्यालय र समुदायबीचको सहकार्यले मात्र गुणस्तरीय शिक्षा सम्भव हुने भएकाले समितिको योगदान प्रशंसनीय र उदाहरणीय रहेको उल्लेख गरे ।

विद्यालयका शिक्षक, कर्मचारी र स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त कार्यक्रमले विद्यालय र समुदायको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ । समितिको यो सहयोगले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मीनबहादुर सावदले जानकारी दिए । समितिको आगामी योजनामा पनि शिक्षा र सामाजिक क्षेत्रका अन्य रचनात्मक कार्यहरू समेटिएको उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया