सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे

समाधान संवाददाता २०८२ पुष ६ गते २०:३७

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कर्मचारीको सेवा र व्यवहारले नै समग्र संघीयता प्रणाली सबल हुने बताएका छन्।

Advertisement

कर्मचारीको व्यवहार र कामबाट नागरिकले सरकारलाई सुन्ने, देख्ने र महसुस गर्ने भएकाले सरल र सहज रूपमा सेवा प्रवाह गर्न उनले निर्देशन दिए। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराले आयोजना गरेको सहायक स्तर पाँचौँ र चौथो (सुब्बा र खरिदार) तहको ३० कार्यदिने सेवाकालीन तालिमका सहभागीलाई पुस ६ गते प्रमाणपत्र वितरण गर्दै पाण्डेले कर्मचारीको कार्यसम्पादनमा मुख्यमन्त्री र प्रदेश सरकारकै अनुहार प्रतिविम्बित हुने धारणा राखे।


प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबु तिवारीले प्रतिष्ठानलाई आत्मनिर्भर बनाउने यात्रामा मुख्यमन्त्री कार्यालयले सहजीकरण गर्नुपर्नेमा जोड दिए। उनले क्षमता विकास, नेतृत्व विकास, सुशासन र जवाफदेहिताका विषयमा सूचना, सञ्चार तथा प्रविधिमैत्री पाठ्यक्रमहरू परिमार्जन भइरहेको जानकारी दिए। पुस ६ गते पोखरामा आयोजित समारोहमा संघ, प्रदेश र स्थानीय तहका ६० जना प्रशिक्षार्थी दीक्षित भएका हुन्। दीक्षित भएका कर्मचारीलाई तालिममा सिकेका ज्ञान र सीपले दैनिक कार्यलाई प्रभावकारी बनाउन पाण्डेले आग्रह गरे।

Advertisement


गण्डकी प्रदेश कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयका सचिव बासुदेव रेग्मीले तालिममा सिकेका विषयले दैनिक कार्य सहज, छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्न सहयोग पुग्ने बताए। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव ऋषिराज आचार्यले तालिमको सञ्चालन तथा व्यवस्थापनलाई प्रविधि अनुकूल बनाउँदै लैजानुपर्नेमा जोड दिए। उनले कानुनसम्मत काममा ढिलासुस्ती नगरी नागरिकका काम सम्पन्न गर्नु कर्मचारीको प्रमुख दायित्व भएको बताए।

समापन समारोहमा प्रतिष्ठानमा कार्यरत उपसचिव प्रभाकर घिमिरे र प्रशासकीय अधिकृत प्रज्जवल आचार्यको बिदाइ समेत गरिएको थियो। कार्यक्रममा प्रशिक्षार्थीका तर्फबाट मोनिका पौडेल र गोविन्द रिजालले तालिमका अनुभव सुनाएका थिए। प्रतिष्ठानका उपसचिव नारायण पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन शाखा अधिकृत जीतबहादुर रानाले गरेका थिए।

Advertisement

सुरेन्द्र बाबु तिवारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा दीक्षित भएका ६० जना कर्मचारीलाई मुख्यमन्त्री पाण्डेले प्रमाणपत्र प्रदान गरे।

तपाईको प्रतिक्रिया