कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति

गण्डकी । पर्वतको कुश्मास्थित ३०० वर्ष पुरानो ‘शताब्दी घर’ आइतबार कलामय बन्यो। कुश्मा कला परियोजनाको आयोजनामा भएको एकदिने कला कार्यशालामा अग्रजदेखि अनुज पुस्ताका कलाकारले एकै थलोमा बसेर रङ र कुचीमार्फत आफ्ना भाव क्यानभासमा उतारे।
कोही पिँढीमा त कोही आँगनमा बसेर चित्र कोर्दै थिए। उनीहरूले प्रकृति, जीवनशैली र शताब्दी घरकै आकृतिलाई क्यानभासमा कैद गरे। कार्यशालामा पर्वत र बागलुङसहित धवलागिरि क्षेत्रका कलाकार तथा कुश्माका विभिन्न विद्यालयका करिब २ सय विद्यार्थी सहभागी थिए।
परियोजनाका अध्यक्ष आरके अदिप्त गिरीले चित्रकलाको संरक्षण र नयाँ पुस्तालाई आकर्षित गर्न कार्यक्रम आयोजना गरिएको बताए। ‘धवलागिरि आफैँमा कलाको उर्वर क्षेत्र हो। यसलाई नयाँ ढंगले अगाडि बढाउनुपर्छ,’ गिरीले भने, ‘यहाँ कोरिएका चित्रलाई शताब्दी घरमै संग्रह गरिनेछ।’ परियोजनाले शताब्दी घरलाई सांस्कृतिक संग्रहालयका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।
कार्यक्रममा सहकार्य गरेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले कार्यशालाले कलाको वातावरण सिर्जना गरेको बताए। ‘कलाकारहरूबीच सिक्ने र सिकाउने अवसर बन्यो,’ उनले भने, ‘प्रतिष्ठानले पछिल्लो समय जिल्लास्तरमा ललितकलासम्बन्धी गतिविधि बढाएको छ।’ उनले आगामी दिनमा धवलागिरि क्षेत्रलाई समेटेर प्रदर्शनी आयोजना गर्ने योजना सुनाए।
प्रतिष्ठानका प्राज्ञ सदस्य राधी कँडेलले राजधानी र पोखराजस्ता ठूला सहरमा केन्द्रित कला गतिविधि विकेन्द्रित हुन थालेको बताइन्। ‘यसपालि पर्वतमा कार्यक्रम गर्न सफल भयौं। विद्यार्थीको उत्साहजनक सहभागिताले कलाप्रतिको सम्मान झल्काएको छ,’ उनले भनिन्।
नवलपुरको गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति भीम शर्माले कार्यशालाले प्रतिभा पहिचानमा सघाउने धारणा राखे। उनले आगामी १५ माघदेखि गैँडाकोटमा हुने गण्डकी प्रदेशस्तरीय कला प्रदर्शनीमा धवलागिरि क्षेत्रका कलाकारको सहभागिता रहने जानकारी दिए। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा हुने सो प्रदर्शनीबाट छानिएका कृति राष्ट्रिय प्रदर्शनीमा लगिनेछ।
बागलुङका कलाकार मछिन्द्र शाक्यले कार्यशाला नयाँ र पुरानो पुस्ता जोड्ने सेतु बनेको बताए। ‘धवलागिरिका कलाकार एकैठाउँमा जम्मा हुने अवसर मिल्यो। स्थलगत रूपमा क्यानभासमा आकृति कोर्दाको अनुभूति बेग्लै भयो,’ उनले भने।
सहभागी कलाकारले शताब्दी घर, त्यहाँ संग्रहित पुराना सामग्री, संस्कृति र जनजीवन झल्काउने चित्र कोरेका थिए। रासस









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया