सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया

समाधान संवाददाता २०८२ पुष ७ गते १५:२१

पोखरा ।

Advertisement

लमजुङको क्व्होलासोथार गाउँपालिका ५ सिङ्दीमा सञ्चालित निःशुल्क आँखा शिविरको पहिलो दिन २८ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ। आइतबारदेखि सुरु भएको शिविरमा ३५५ जनाले सेवा लिएका छन्।

शिविरमा २१७ जनालाई चश्मा र औषधि वितरण गरिएको छ। मुटु फाउन्डेसन नेपाल र मनोज एसोसिएसन फ्रान्सको व्यवस्थापन तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा गाउँपालिकाले उक्त शिविर आयोजना गरेको हो। शल्यक्रियाका लागि छनोट गर्न वडा नम्बर ७ र ८ मा शुक्रबार तथा वडा नम्बर ६ मा शनिबार स्क्रीनिङ गरिएको थियो।

Advertisement

आधारभूत स्वास्थ्य सेवा केन्द्र सिङ्दीमा शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले दूरदराजका नागरिकलाई गाउँमै सेवा प्रदान गर्न कार्यक्रम आयोजना गरिएको बताए। ‘यसअघि वडा नम्बर ४ भुजुङमा पनि यस्तै शिविर सञ्चालन गरिएको थियो,’ गुरुङले भने। मुटु फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङले सहर पुगेर उपचार गर्न आर्थिक समस्या भएका नागरिकलाई लक्षित गरी गाउँमै पुगेर शिविर व्यवस्थापन गरिएको जानकारी दिए। उनले यसअघि दोर्दी र मर्स्याङ्दी गाउँपालिकामा पनि यस्ता शिविर सञ्चालन गरिसकेको र आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए।

हिमालय आँखा अस्पताल पोखराका नेत्र अधिकृत गोविन्दनाथ योगीले अस्पतालले विगतदेखि नै दूरदराजमा प्राविधिक सेवा पुर्‍याउँदै आएको बताए। यस्ता शिविरले समयमै आँखाको समस्या पत्ता लगाएर उपचार गर्न मद्दत पुग्ने उनको भनाइ छ। सोमबारसम्म चल्ने शिविरमा हिमालय आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. नारायणी रोक्का भट्टराईसहितको प्राविधिक टोली खटिएको छ। शिविरमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङ, राजु परियार, दिनेश विक, सन्तोष सुवेदी, मिलन रावत र गोपिनी गुरुङ लगायतले प्राविधिक सहयोग गरिरहेका छन्।

Advertisement

क्व्होलासोथार गाउँपालिका ५ का वडाअध्यक्ष गीतबहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङले स्वागत गरेका थिए। कार्यक्रमको सञ्चालन आधारभूत स्वास्थ्य सेवा केन्द्र सिङ्दीकी प्रमुख विन्तीमाया गुरुङले गरेकी थिइन्। गाउँमै निःशुल्क शल्यक्रिया र उपचार सेवा पाएपछि स्थानीय नागरिक लाभान्वित भएका छन्।

तपाईको प्रतिक्रिया