वैकल्पिक शक्तिको नयाँ ध्रुव: ६ घण्टाको छलफलपछि रवि र बालेनबिच सहकार्यको सहमति

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबिच आगामी निर्वाचनमा मिलेर जाने सहमति भएको छ। सोमबार राति अबेरसम्म ६ घण्टा भएको सघन संवादले दुई नेतालाई सहकार्यको विन्दुमा पुर्याएको हो। जेन-जी आन्दोलनले सिर्जना गरेको नयाँ राजनीतिक परिस्थिति र बढ्दो ध्रुवीकरणका बिच वैकल्पिक शक्तिहरूलाई एउटै केन्द्रमा ल्याउन उनीहरूले यो पहल सुरु गरेका हुन्।
रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित कार्यालयमा सोमबार साँझ भएको वार्तामा दुवै नेताले एक्लाएक्लै र सामूहिक रूपमा संवाद गरेका थिए। लामिछाने र शाहलाई एउटै गाडीमा बिदा गरेपछि राति १: ४२ बजे नेता असिम शाहले सामाजिक सञ्जाल फेसबुकमा ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई’ भन्दै खुसी व्यक्त गरे। असिमले दुई नेताबिच आगामी दिनमा एकअर्कालाई साथ दिएर अघि बढ्ने निष्कर्ष निस्किएको बताए।
न्यायिक आदेशबाट छुटेपछि लामिछानेले राजनीतिक संवादलाई तीव्र पारेका छन्। उनले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग एक्लाएक्लै वार्ता गरेका थिए भने ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि भेट्ने तयारी गरेका छन्। रास्वपा नेता गणेश कार्कीले नयाँ शक्तिहरू एक हुनुपर्छ भन्ने चाहनाअनुसार निर्णायक छलफल भइरहेको र यसको सकारात्मक नतिजा आउने बताए। सहकार्यका लागि आफू सबै किसिमको त्याग गर्न तयार रहेको सन्देश लामिछानेले यसअघि नै सार्वजनिक गरिसकेका छन्।
संवादका सहजकर्ता एवं जेन-जी अगुवा सुदन गुरुङले वैकल्पिक शक्तिको एकताका लागि दुवै नेता सकारात्मक रहेको बताए। उनले शक्ति सन्तुलन र संगठनात्मक बाँडफाँटका विषयमा थप छलफल आवश्यक भए पनि मिल्ने सम्भावना शतप्रतिशत रहेको दाबी गरे। गुरुङका अनुसार जेन-जीको माग सम्बोधन, सुशासन र राज्य पुनर्संरचनाका एजेन्डामा उनीहरू एक ठाउँमा छन्। ‘को के बन्ने, कसको भूमिका के हुने र अगाडि कसरी बढ्ने भन्ने टुंग्याउने गरी छलफल अघि बढेको छ। सबै ओपन माइन्डेड भएकाले मिल्ने सम्भावना सय प्रतिशत नै छ’ गुरुङले भने।
यसअघि शनिबार र आइतबार भएका भेटहरूमा पनि लामिछानेले नयाँ दलहरू मिल्ने सर्तमा आफू नेतृत्व छाड्न तयार रहेको उल्लेख गरेका थिए। उनले एउटा चुनावका लागि मात्र नभई सिंगो पुस्ताको भविष्य बदल्न र परिवर्तनलाई संस्थागत गर्न एकता आवश्यक रहेको बताए। सोमबारको छलफलमा रास्वपा उपसभापति डिपी अर्याल, मेयर शाहका सहयोगी कुमार बेन लगायतको उपस्थिति थियो। अर्यालले छलफलको विस्तृत प्रगतिबारे मंगलबार जानकारी दिइने बताए।









गण्डकको सेयर पुँजी पौने ३ करोड
हिउँ चितुवाको सर्वेक्षण सुरु
पोखरा–२१ मा सुन्तला महोत्सव गते
सम्पादकीय—नयाँ चुनाव र ओलीका चुनौती
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया