कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन

समाधान संवाददाता २०८२ पुष ८ गते १९:२३

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरणलाई सहज र व्यापक बनाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ। महामन्त्री गगनकुमार थापाले मंगलबार सबै जिल्ला कार्यसमितिहरूलाई ‘अत्यन्त जरुरी’ परिपत्र पठाउँदै यस्तो निर्देशन दिएका हुन्।

Advertisement

पार्टी केन्द्रीय कार्यालयले यसअघि प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा सिधै फारम पठाएकोमा कतिपय फारममा क्रम संख्या (सिरियल नम्बर) नभएको पाइएपछि पुनः नम्बरसहितको नयाँ फारम पठाइएको जनाएको छ।

महामन्त्री थापाले नयाँ सदस्यता वितरण गर्दा जिल्ला कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय कार्यसमिति, गाउँ/नगरपालिका तथा वडा कार्यसमितिसँग आवश्यक समन्वय, सहजीकरण र अनुगमन गर्न निर्देशन दिएका छन्।

Advertisement

सदस्यता वितरणका क्रममा कुनै उजुरी वा गुनासो आएमा विधानको धारा ४ (८) (क) (१) बमोजिम जिल्लास्थित ‘क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समिति’ मार्फत समयमै टुंगो लगाउनुपर्ने परिपत्रमा उल्लेख छ। तहगत रूपमा सदस्यता वितरणको सहजीकरण गर्दै तोकिएको समयसीमाभित्रै विवाद निरुपण गरी केन्द्रमा जानकारी गराउन भनिएको छ।

कांग्रेसले विधान, नियमावली र केन्द्रीय परिपत्रअनुसार मापदण्ड पुगेका व्यक्तिलाई सहज ढंगले सदस्यता उपलब्ध गराउने नीति लिएको जनाएको छ। तोकिएको समयभित्रै सदस्यता वितरण गरी केन्द्रमा विवरण पठाउन महामन्त्री थापाले आग्रह गरेका छन्।

Advertisement

तपाईको प्रतिक्रिया