टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार

समाधान संवाददाता २०८२ पुष ८ गते १९:४७

पोखरा । पोखरामा हुने प्रतिष्ठित ‘टाइगर कप आमन्त्रित खुला क्लब च्याम्पियनसिप’ महिला तथा पुरुष भलिबल प्रतियोगिताको छैटौं संस्करणको तयारी तीव्र पारिएको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आगामी ९ देखि १७ माघसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा प्रतियोगिता हुन लागेको हो।

Advertisement

यसपटकको संस्करणमा नेपालसहित ३ देशका ४ विदेशी क्लबको सहभागिता रहने भएको छ। आयोजक संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिए। उनले प्रतियोगितालाई भव्य बनाउन भारत र माल्दिभ्सबाट समेत रेफ्री झिकाइने र दर्शक क्षमता बढाउन प्यारापिट विस्तार गरिने बताए।

पुरस्कार राशी बढ्यो
आयोजकले यसपटक पुरस्कार राशीमा वृद्धि गरेको छ। महिला तथा पुरुष दुवैतर्फका उपाधि विजेताले समान ६ लाख ६६ हजार ६६६ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। उपविजेता टिमले ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टिमले १ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष शर्माले जानकारी दिए।

Advertisement

यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही ११ हजार ६६६ रुपैयाँ पुरस्कार पाउनेछन्।

सहभागी टिमहरू
प्रतियोगितामा पुरुषतर्फ यसपटक ‘टिपटप हेल्प नेपाल’ को नाम रहने छैन। हेल्प नेपालका खेलाडीहरू समावेश गरी ‘पर्वत जिल्ला भलिबल संघ’ ले सहभागिता जनाउने भएको छ। पुरुषतर्फ गण्डकी प्रदेश, नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, माल्दिभ्स भलिबल एसोसिएसन र भारतको गुजरात भलिबल क्लब गरी ७ टिमबीच प्रतिस्पर्धा हुनेछ।

Advertisement

महिलातर्फ भने आयोजक टाइगर ग्रुपले टिम नराख्ने भएको छ। यसअघि टाइगर ग्रुपबाट खेल्दै आएकी राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले यसपटक ‘एभरेस्ट भलिबल क्लब रुपन्देही’ बाट खेल्नेछिन्।

महिलातर्फ नेपाल पुलिस, एपिएफ, आर्मी, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लबसहित विदेशी टोलीहरू थाइल्यान्डको ‘युनाइटेड प्यासन भलिबल क्लब’ र ‘थाइल्यान्ड क्विन्स’ गरी ७ टिम सहभागी हुनेछन्।

दर्शकको सहजताका लागि ३ हजार ५०० रुपैयाँ मूल्य तोकेर ‘सिजनल टिकट’ वितरण सुरु गरिसकेको आयोजकले जनाएको छ। दैनिक साधारण टिकटको मूल्य भने तय भइसकेको छैन।

तपाईको प्रतिक्रिया