आफ्नै जन्मथलो कास्की-३ बाट चुनाव लड्न दाहाललाई आग्रह: बुहारी सिर्जनासहित १५ जनाको आकांक्षा

समाधान संवाददाता २०८२ पुष १० गते १८:१५

पोखरा । नेपाली कम्युनिस्ट पार्टी कास्की क्षेत्र नम्बर ३ को बैठकले आगामी २१ फागुनमा हुने निर्वाचनका लागि पार्टी संयोजक पुष्पकमल दाहालको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ। उम्मेदवार सिफारिसका लागि बिहीबार बसेको बैठकले दाहालको नाम एक नम्बरमा राखेर जिल्ला कमिटीमा पठाउने निर्णय गरेको हो।

Advertisement

क्षेत्र नम्बर ३ दाहालको जन्मस्थल समेत हो। उनी अन्नपूर्ण गाउँपालिकाको लेवाडेमा जन्मिएर पछि चितवन बसाइँसराइ गरेका थिए। बैठकमा सहभागी नेताका अनुसार अघिल्लो निर्वाचनमा पनि उनलाई यही क्षेत्रबाट लड्न आग्रह गरिएको थियो। दाहालले यसअघि विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं १० र रोल्पा २ बाट चुनाव जितेका थिए। विसं २०७० को दोस्रो निर्वाचनमा भने उनी काठमाडौं १० मा पराजित भए पनि सिराहा ५ बाट विजयी भएका थिए। यस्तै विसं २०७४ मा चितवन ३ र विसं २०७९ मा गोरखा २ बाट उनले चुनाव जितेका थिए।

आफ्नो जन्मथलोसमेत भएकाले यसपटक कास्की ३ बाट चुनाव लड्दा अन्य दलको समेत सहयोग मिल्ने अपेक्षा स्थानीय नेताहरूको छ। ‘बैठकमा धारणा राख्ने सबैले संयोजकलाई कास्की ३ मा जसरी पनि ल्याउनुपर्ने बताए’, बैठकमा सहभागी एक नेताले भने, ‘यसले क्षेत्रको विकास र राजनीतिक शक्तिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।’

Advertisement

पार्टीको उम्मेदवार चयन प्रक्रिया अनुसार एक जेन-जी र महिलासहित ५ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ। तर कास्की ३ मा दाहालबाहेक अन्य नाममा सहमति जुट्न नसक्दा १५ जनाले उम्मेदवारीमा आकांक्षा देखाएका छन्। आकांक्षीमा दाहालकी बुहारी सिर्जना त्रिपाठीसमेत छिन्। प्रकाश पत्नी त्रिपाठीको माइती क्षेत्र नम्बर ३ कै हेमजामा भएकाले उनी लामो समयदेखि कास्कीको राजनीतिमा सक्रिय छिन्।

त्रिपाठीका अतिरिक्त संविधानसभा सदस्य दुर्गा विक, पूर्व प्रदेश सांसद रामजी बराल, बलराम सुवेदी, भानु अधिकारी र भोजराज पौडेललगायतले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। दाहालबाहेकका नाममा सहमति नजुटेपछि सबै आकांक्षीको नाम जिल्ला समितिमा सिफारिस गरी पठाइएको सचिवालयले जनाएको छ। उम्मेदवारको अन्तिम टुंगो भने केन्द्रले लगाउनेछ।

Advertisement

तपाईको प्रतिक्रिया