फेवाताल पुर्नेलाई कारबाही माग

समाधान संवाददाता २०८२ पुष ११ गते ११:४०

पोखरा ।
फेवातालको मुख्य जलाधार क्षेत्रका डाँडा खारेर हर्पनखोला वरपरको सिमसार क्षेत्र पुर्ने गतिविधिप्रति वातावरण संरक्षणका लागि महाअभियान कास्की र नागरिक समाज कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विश्व रामसार क्षेत्रमा सूचीकृत र विश्वकै १३ औं सुन्दर तालका रूपमा चिनिएको फेवातालको अस्तित्व नासिने गरी भइरहेको अनधिकृत कार्य निन्दनीय भएको उनीहरूको ठहर छ ।

Advertisement


वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेल र नागरिक समाज कास्कीका नरेन्द्रमान लालचनले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै ताल पुर्ने कार्य तत्काल रोक्न माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ’पछिल्लो समय डाँडा खारेर ताल तथा सिमसार क्षेत्र पुर्ने कार्यविरुद्ध उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरिसकेको छ । सर्वोच्च अदालतले समेत प्रदेश र स्थानीय सरकारका नाममा निर्देशनात्मक आदेश दिएको भए पनि त्यसको इमानदारीपूर्वक पालना नहुँदा यस्ता गतिविधि एकपछि अर्को गरी भइरहेका छन् ।’


अदालतको आदेश पूर्ण रूपमा पालना गराउन प्रदेश तथा स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै नागरिक समाजले ताल पुर्ने कार्यमा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेको छ । दोषीलाई दण्ड दिएर दण्डहीनता अन्त्य गर्नुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ । फेवातालको जलाधार क्षेत्र जोगाउन सरोकारवाला निकायहरू जिम्मेवार बन्नुपर्ने उनीहरूको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया