
जोमसोम । कुनै समय मुस्ताङ घरपझोङको थाक पाँच गाउँ तिब्बतको एक भूभाग भएको दाबी गरिन्छ । १२ औं शताब्दीमा तिब्बतबाट आएका राजा घ्याल थकोरचेनले यहाँको ९ सय वर्ष पुरानो ठिनी गाउँमा राज्य चलाएको बताइन्छ ।
त्यस बेला तिब्बतबाट आएका राजा माथिल्लो मुस्ताङको लोमान्थाङ र डोल्पा चाहार्दै ठिनी आइपुगेका थिए । तिब्बतबाट राज्य चलाउने उद्देश्यले आएका राजा घ्याल थर्कोचनले ठिनी गाउँलाई घरपझोङको उपयुक्त राजधानी बनाउँदै घरपझोङको थाक पाँचको राज्य चलाउन पुगे ।
राजा घ्याल थर्कोचेनलाई अहिले पनि स्थानीयले तीन आँखे राजाका रुपमा सम्झन्छन् । तीन आँखे राजा निकै शक्तिशाली थिए । राजाले बिचको आँखा खोले सर्वनास हुने भएकाले त्यस बेला ठिनी गाउँका बसेका जनताले तिब्बतबाट आएका थर्कोचेनलाई राजाको रुपमा स्वीकार गरे । त्यसपछि १२ औं शताब्दीमा ठिनी गाउँ र घरपझोङको राज्य उनै थर्कोचेनले चलाएको ठिनी गाउँको स्थानीय एवं थाक पाँच गाउँ उद्दार समितिका अध्यक्ष कुलबहादुर थकालीको भनाइ छ ।
त्यस बेला राजाले राज्य चलाउनुअघि ठिनी गाउँमा बस्नेहरु सबै तिब्बतबाटै स्थान्तरण भएका थिए । उनीहरु तिब्बतमा हुँदा बोलिने थकाली सेके भाषा नै अहिले बोलिन्छ । यहाँको ठिनी गाउँमा त्यस बेला ठिन माक्टु अर्थात ६ वटा जाति बस्थे । यहाँ ६ जातिको बसोबास भएकाले ठिन माक्टु भन्दा भन्दै अपभ्रम्स भई ठिनी रहन गएको भनाइ पनि छ ।
मुस्ताङको ठिनी गाउँ राजा थर्कोचेनले राज्य चलाएको पुरानो बस्ती हो
ठिनी गाउँमा ठिन माक्टु अन्तर्गत चकिठिन, ओमठिन, ताङ्लाठिन, कुङ्लेठिन, तपोठिन र धोठिन जाँतीको बसोबास थियो । जसमध्ये जोमसोममा घ्योठिन जाँतीको बसोबास थियो । थाक पाँच गाउँमा ठिन माक्टुको ६ खलकको बसोबास रहेको र सबै थकाली समुदाय रहेको स्थानीय कुलबहादुर थकालीले सुनाए ।
ठिनीका राजा घ्याल थर्कोचेन तिब्बतका राजखानदानकै व्यक्ति भएको र उनी उपयुक्त राज्य चलाउन ठिनी आइपुगेका थिए । राज्य चलाउने खोजीमा ठिनी गाउँमा आइपुगेका राजा थर्कोचेनलाई त्यस बेला गाउँले राजा मानेर राखेको र थर्कोचेनले पनि ठिनी गाउँमा राज्य चलाउन उपयुक्त ठानेर त्यही रोकिएका थिए ।
ठिनीका राजा थर्कोचेनको राज्य त्यस बेला हालको वारागुङ मुक्तिक्षेत्र १ को लुप्रा गाउँ र खोलाबाट तल दक्षिण घरपझोङ गाउँपालिका १ को चोखोपानीसम्म राज्य सीमाना थियो । यहाँ ठिनीको राजाका ३ छोरा र १ छोरी थिए । स्थानीय कुलबहादुर थकालीले नेपालमा बाइसे र चौबिसे राज्य हुँदाको बेला त्यहाँ ठिनीमा राजा थर्कोचेनले राज्यले चलाएको जानकारी दिए ।
तिब्बतबाट आएका राजा थर्कोचेनले हालको ठिनी गाउँलाई पुरानो घरपझोङ किल्लामा स्थान्तरण गरेका थिए । त्यस बेला लडाई धेरै हुने भएकाले शत्रुबाट बच्न र भूकम्पबाट सुरक्षित रहन ठिनी गाउँलाई उचाइमा रहेको घरपझोङ किल्लामा स्थानान्तरण गरेको तिब्बती ग्रन्थहरुमा उल्लेख छ । घरपझोङ किल्लाको सतहमा कडा चट्टान रहेको र त्यहाँ जमिन भाँसिने डर नभएकाले किल्लामा राज्य स्थापित गराएको स्थानीय थकालीले बताए ।
घरपझोङ ५ ठिनी स्थित घरपझोङ किल्लामा त्यस बेला ठिनी गाउँ स्थान्तरण भएको भग्नावशेष अझै छँदै छ । किल्लाबाट शत्रुले आक्रमण गर्न लागेको सजिलै देख्न सकिने र प्रतिरक्षा गर्न पनि सजिलो हुने भएकाले राजा थर्कोचेनले गाउँलेसँगै किल्लामा बसेर राज्य चलाएको बताइन्छ ।
बाह्रौं शताब्दीताका मुस्ताङको थाक सात सय क्षेत्रमा राजा नरहेको र ठिनीका राजा थर्कोचेनले नै आफ्नी छोरी हिमारानीलाई थकाली समुदायका व्यक्तिसँग विवाह गराई दिएर चोखोपानीबाट तल नाउरीकोटसम्म राज्य चलाउने अधिकार दिएको स्थानीय कुलबहादुर थकाली बताउँछन् ।
यसबारे अर्को कथा पनि छ । थाक सात सय क्षेत्रमा जुम्लाका राजकुमारले राजा घ्याल थर्कोचेनको राज्यमाथि आक्रमण गर्ने क्रममा राजाले छोरी जुम्लाका राजकुमारलाई सुम्पिएर युद्धविराम गराई चोखोपानीदेखि तल्लो क्षेत्र राजकुमारलाई सुम्पिएको भन्ने गरिएको छ । यो ठो रिम्पोर्छे दाइजो उपहारलाई थकाली तुलाचन समुदायले छिरिङ घ्याल्मो भन्ने गरेको स्थानीय थकालीको भनाइ छ ।
थर्कोचनले खडा गरिदिएको थाक सात राज्यका राजालाई थकाली चारचनले हंस राजा भन्ने गरेका छन् । त्यस समय राजा थर्कोचेनले थाक पाँच गाउँ राज्यको सीमाना कुर्न दक्षिणतर्र्फको घरपझोङ १ चोखोपानीसम्मको सीमाना रेखदेख गर्न कान्छा छोरा सोचुम्पलाई खटाएको र उत्तरतर्फको सीमाना कुर्न मुस्ताङको वारागुङ १ लुप्रा र वनजंगल कुर्न एक बोन लामालाई खटाएका थिए ।
ठिनीका राजा थर्कोचेनले घरपझोङ किल्लामा रहेर राज्य चलाए पनि हाल त्यहाँबाट थर्कोचेनका पछिल्ला पुस्ता विस्थापित भएर पुरानै थलो ठिनी गाउँमा छन् । घरपझोङ किल्लामा खेतीपाती गर्न, वनजंगल र सिचाइको असुविधा भएका कारण पुरानै ठिनी गाउँमा सरेको स्थानीयहरु बताउँछन् ।
यहाँको थाक पाँच राज्य चलाएका ठिनी गाउँका राजा थर्कोचेनले घरपझोङ १ छुडाकमा पानीघट्ट संरक्षणका लागि त्यस समय एक समुदायलाई छैरो गाउँमा राखेका थिए । राजाका पालामा छुडाक रहेको त्यो गाउँ अपभ्रंस भई छैरौ गाउँ रहने गएको स्थानीय कुलबहादुर थकालीको भनाइ छ ।
यहाँको थाक पाँच अन्तर्गत मुस्ताङको जोमसोम २०२४ अघि राजाले शासन गरेको गाउँ ठिनी गाउँकै अधिनमा रहेको थियो । त्यस बेला हालको जोमसोम गाउँको नाम धोचिन रहेको बताइन्छ । राजा थर्कोचेनले राज्य गरेको ठिनी गाउँ राजधानीका रुपमा थियो भने अन्य गाउँ राजा थर्कोचेनको राज्य अन्तर्गत पर्दथे ।
थाक पाँच गाउँ अन्तर्गत ठिनी, जोमसोम, स्याङ, मार्फा र चिमाङ गाउँ पर्दछन् । यहाँको ठिनी गाउँ राजा थर्कोचेनले राज्य चलाएको सबैभन्दा पुरानो बस्ती हो । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको ठिनी गाउँमा राजा थर्कोचेनका पछिल्लो पुस्ताका थकाली समुदायको बसोबास छ ।
ठिनीमा करिब एक सय घरधुरीको बसोबास छ । पछिल्लो समय केही दलित समुदाय पनि यहाँ छन् । ढुंगा र माटोले बनेको ऐतिहासिक ठिनी गाउँमा थकाली संग्रहालय पनि छ । जहाँ राजा थर्कोचेनका युद्धमा प्रयोग गरिएका हातहतियार र पोशाक पनि राखिएका छन् ।
जोमसोम बजार नजिकै रहेको ठिनी गाउँमा प्रचुर पर्यटकीय सम्भावना बोकेको गाउँ रहेको स्थानीय कुलबहादुरको भनाइ छ । यहाँका स्थानीय कृषि र पशुपालनमा रहे पनि पछिल्लो समय पर्यटन व्यवसायतर्फ पनि आकर्षित भएका छन् ।
ठिनी क्षेत्रमा यारुझो भ्युटावर, स्नोलियोपार्ट गुफा, ढुम्बाताल, घरपझोङ किल्ला, कुछप तेरङ्गा गुम्ब, छमा ताल र तिलिचो पदमार्ग पर्दछन् । पछिल्लो समय ठिनी गाउँमा महिलाले सामुहिक रुपमा थकाली होमस्टेसमेत चलाएका छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया