‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’

समाधान संवाददाता २०८२ पुष ११ गते १२:२८

पोखरा ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पोखरा ९ पृथ्वीचोकले साइबर अपराधसम्बन्धी प्रशिक्षण आयोजना गरेको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पोखरा १० मा रहेको ज्योतिकुञ्ज बोर्डिङ स्कुलसँगको सहकार्यमा कार्यक्रम भएको सेवा केन्द्रका अध्यक्ष कुमारीमुना बस्तोलाले जानकारी दिइन् ।

Advertisement


कार्यक्रममा विद्यालयमा कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत १ सय १० जना विद्यार्थीको सहभागिता थियो । विद्यालयका प्राचार्य बालकृष्ण शर्माले विकृति, विसंगति अन्त्य गरी समुन्नत तथा सभ्य समाज निर्माणमा सेवा केन्द्रको भूमिका रहेको बताए । उनले साइबर अपराधबारेको कार्यक्रमले शिक्षक, विद्यार्थी सचेत बन्ने अवसर पाएको चर्चा गरे ।


सेवा केन्द्रका अध्यक्ष बास्तोलाले रजत जयन्ती वर्षको अवसरमा संस्थाले सिर्जनात्मक र रचनात्मक कार्यक्रम गरेको जानकारी दिइन् । ‘विकृति र विसंगतिरहित समाजको निर्माण सामुदायिक सेवा केन्द्रको अभियान’ भन्ने मुल नाराका साथ सेवा केन्द्रले लागुऔषध नियन्त्रण, लैगिंक तथा घरेलु हिंसा न्यूनीकरण लगायतका कार्यक्रम गरेको बताइन् ।

Advertisement


उनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर, छात्रवृत्ति लगायतका कार्यक्रम गरेको उल्लेख गरिन् । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकाले २१ औं शताब्दीको सूचना प्रविधिको युगमा युवा विद्यार्थी जानेर नजानेर साइबर अपराधका घटनामा पर्न सक्ने बताए ।


उनले साइबर अपराधको परिचय तथा प्रकृति, जोखिम, कानुनी प्रावधान र बाच्ने उपायबारे सहजीकरण गरे । उनले अनलाइन तथा इन्टरनेटको माध्यमबाट बालबालिकालाई हिंसा तथा दुव्र्यवहारका घटना हुन सक्ने चर्चा गरे ।

Advertisement


कार्यक्रममा सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका उपाध्यक्ष उत्तम जोशी, सचिव तीर्थ शर्मा ढकाल, कार्यसमितिका सदस्य तथा कार्यक्रमको संयोजक शोभा पहारीले बोलेका थिए । प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र एवंं सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकले साइबर अपराध रोकथाम नियन्त्रणका लागि समुदाय स्तरमा सचेतनामूलक पर्चा वितरण लगायतका कार्यक्रम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया