कांग्रेसमा विशेष महाधिवेशनको दबाब: महामन्त्री थापालाई बुझाइयो स्मरण पत्र, पुस २८ सम्मको समयसीमा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गरिरहेका महाधिवेशन प्रतिनिधिले शुक्रबार महामन्त्री गगन थापालाई स्मरण पत्र बुझाएका छन्। पार्टीको १५ औं महाधिवेशनको सुनिश्चितता नभएको र नेतृत्वले विधानको पालना नगरेको भन्दै उनीहरूले विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउन माग गरेका हुन्।
प्रतिनिधिले यसअघि नै २ हजार ४८८ जना (५४.५८ प्रतिशत) महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित गत २९ असोजमा पार्टी केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थिए। विधानको धारा १७ (२) मा ४० प्रतिशत सदस्यले लिखित अनुरोध गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ। सोही व्यवस्थालाई स्मरण गराउँदै उनीहरूले आगामी २८ पुसभित्र विशेष महाधिवेशन सम्पन्न गर्नुपर्ने ‘डेडलाइन’ नेतृत्वलाई दिएका छन्।
स्मरण पत्रमा भनिएको छ, ‘विशेष राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई थप सुदृढ, गतिशील र जनभावना अनुरूपको बनाउन विशेष महाधिवेशन अपरिहार्य छ। विधानले तोकेको समयसीमा (२०८२ मंसिर) भित्र १५ औं महाधिवेशन हुने छाँटकाँट नदेखिएकाले विशेष महाधिवेशनको विकल्प छैन।’ उनीहरूले पार्टीले तय गरेको १५ औं महाधिवेशनको कार्यतालिका प्रथम दृष्टिमै अविश्वसनीय देखिएको र विधान बमोजिम तोकिएको अवधिभित्र महाधिवेशन हुने गम्भीर प्रयास नभएको आरोप लगाएका छन्।
महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउनु आफ्नो वैधानिक अधिकार भएको जिकिर गरेका छन्। उनीहरूले मंसिरभित्र महाधिवेशन नभए स्वतः विशेष महाधिवेशन हुनुपर्ने मागलाई जीवित राखेका छन्। ‘यो माग पार्टीको लोकतान्त्रिक मूल्य-मान्यता, विधानको सम्मान र राष्ट्रिय आवश्यकतासँग जोडिएको छ’, पत्रमा उल्लेख छ, ‘यसलाई अबिलम्ब सम्बोधन गरी नेपाली कांग्रेसलाई नयाँ ऊर्जा, एकता र दिशासहित अघि बढाउन अनुरोध गर्दछौं।’
स्मरण पत्र बुझ्दै महामन्त्री थापाले पार्टी विधान र प्रतिनिधिको भावना अनुसार अघि बढ्ने बताए। यसअघि असोजमा बुझाइएको हस्ताक्षरमा ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिको समर्थन रहेकाले यसलाई बेवास्ता गर्न नमिल्ने पक्षधरहरूको तर्क छ। उनीहरूले अबिलम्ब विशेष महाधिवेशनको मिति र स्थान तोक्ने निर्णय गर्न र प्रक्रिया अगाडि बढाउन जोडदार माग गरेका छन्।









पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
माछापुच्छ्रे राष्ट्रिय टेनिस सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया