बचत सुरक्षामा शुभम सहकारीको जोड

समाधान संवाददाता २०८२ पुष ११ गते १८:५५

पोखरा ।
शुभम सहकारी संस्थाले सदस्यको बचत सुरक्षा र लगानीलाई उत्पादनसँग जोड्ने नीति अघि सार्दै १३औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । वर्तमान आर्थिक संकटको अवस्थालाई मध्यनजर गर्दै संस्थाले आर्थिक मितव्ययिता, सुशासन र प्रविधिमैत्री सेवालाई प्राथमिकतामा राखेको जनाएको छ ।

Advertisement


पोखराको सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसमा आयोजित सभामा संस्थाको आर्थिक एवं वार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गरिएको थियो । सो अवसरमा संस्थाले सदस्यहरूको आर्थिक सशक्तीकरण, बचत प्रवद्र्धन, सहुलियतपूर्ण ऋण सेवा र उत्पादनसँग जोड्ने नीतिसहित योगदान दिँदै आएको जानकारी गराइयो ।


कार्यक्रमको अध्यक्षता गरेका संस्थाका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद पोखरेलले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै विभिन्न उपाय अपनाई आर्थिक मितव्ययिता कायम गरिएको बताए । उनले संस्था सदस्य केन्द्रित हुँदै बचतकर्ताको बचत सुरक्षाको सुनिश्चिततासँगै सुशासन र प्रविधिमैत्री नीति अवलम्बन गरेको तथा संस्थाको सेयर पुँजीलाई पुँजीकृत गर्दै उत्पादनसँग जोड्ने रणनीति रहेको स्पष्ट पारे ।

Advertisement


कार्यक्रममा प्रमुख आमन्त्रित उच्च सरकारी वकिल कार्यालय गण्डकी प्रदेशका उपन्यायाधिवक्ता स्वतन्त्र न्यौपानेले शुभम सहकारीले अपनाएको प्रविधि, पारदर्शिता र आन्तरिक नियन्त्रण प्रणाली अनुकरणीय रहेको बताए । कानुनी प्रक्रियामार्फत धितो सुरक्षाको लागि गरेको पहल र खर्च कटौतीको लागि भएका प्रयासहरू सबल रहेको बताउँदै उनले आगामी दिनमा सहकारी नियमन प्राधिकरणले निर्दिष्ट गरेका नीति र कानुनको पालना पूर्णरूपमा गर्न सञ्चालकलाई सुझाव दिए ।


साधारण सभामा कोषाध्यक्ष होमराज भट्टराईले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको पारदर्शिता, सुशासन तथा सदस्य केन्द्रित सेवामा विशेष जोड दिइएको बताए । उनले गैरबैंकिङ सम्पत्ति बिक्री गर्नु चुनौतीपूर्ण भए पनि लगानी सुरक्षाका साथै जोखिममुक्त बनाउनु प्रमुख दायित्व भएकाले सो कदम चालिएको उल्लेख गरे ।

Advertisement

संस्थाको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै सचिव अशोक पौडेलले संस्थाको एक वर्षे गतिविधि, निर्णयहरू र संस्थागत उपलब्धिहरू प्रस्तुत गरे । लेखा तथा सुपरिवेक्षण समिति संयोजक ज्ञानेन्द्रबहादुर थापाले लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थालाई मार्गनिर्देशन गर्ने सुझावहरू राखेका थिए ।


सम्पूर्ण सेयर सदस्यहरूको तर्फबाट पत्रकार दिननाथ बरालले संस्था बलियो बनाउन कोषको पर्याप्त व्यवस्था गर्नुपर्ने कुरामा जोड दिए । सहकारी क्षेत्र दिनप्रतिदिन धराशायी भइरहेको र अनेक समाचार सुन्नमा आएको अवस्थामा संस्थाले सन्तोषजनक उपलब्धि हासिल गरेको बताउँदै उनले आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार हुने अपेक्षा व्यक्त गरे ।


सल्लाहकारहरूको तर्फबाट मन्तव्य राख्दै कुमार आचार्यले यो विषम परिस्थितिमा संस्थालाई जोखिममुक्त बनाउन सुशासनको नीति अवलम्बन गर्नुपर्ने र दण्ड तथा पुरस्कारको व्यवस्था गरी सदस्यहरूलाई हौसला दिनुपर्ने बताए । पूर्वअध्यक्षहरूको तर्फबाट चुडामणि बरालले संस्थाको स्थापना नै दरिलो संगठनबाट भएकाले संस्थाको भविष्य उज्ज्वल रहेको विचार राखे । कार्यक्रममा स्वागत मन्तव्य निवर्तमान अध्यक्ष राजन पन्तले राखेका थिए भने धन्यवाद ज्ञापन संस्थापक अध्यक्ष खेमराज बरालले गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव अशोक पौडेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया