सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने

पोखराको कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा यसपालि विशेष रौनक थपिने भएको छ । पोखरा सडक महोत्सव अन्तर्गत हुने ‘न्यूइयर इभ’ को विशेष कार्यक्रममा चर्चित डान्सर आस्मा विश्वकर्माको प्रस्तुति हेर्न पाइने भएको हो । रेवान पोखराले आयोजना गरेको महोत्सवको लेकसाइड क्षेत्रमा हुने सांगीतिक माहोल तताउन कार्टुन क्रुजकी आस्मा पोखरा आउने भएकी हुन् ।
सांगीतिक उत्सवको व्यवस्थापन गरिरहेको अल टेक नेपालका संयोजक शेरबहादुर गुरुङका अनुसार आस्मासँग सम्झौता भइसकेको छ । आस्माले पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएका हिन्दी गीतहरुमा कम्मर मर्काउनेछिन् । उनले ‘छिकिरी छिकिरी’ लगायतका चर्चित गीतमा डान्स देखाउने पक्का भएको छ ।
पुस १६ गते साँझ हुने ‘न्यूइयर इभ’ स्पेसलमा आस्मा मात्र होइनन्, नेपाली संगीतका हस्तीहरुको पनि जमघट हुँदैछ । सोही साँझ एक्स नेपथ्य ब्यान्ड पनि तीन दशकपछि नेपालमा एकसाथ गुञ्जिने भएको छ । कार्यक्रममा एक्स नेपथ्य, उज्जन शाक्य, डी–मर्चा, लेकाली र देउराली लगायतका ब्यान्डहरुले लाइभ प्रस्तुति दिनेछन् । एक्स नेपथ्यका गायक रविन श्रेष्ठ र गौतम गुरुङले आफ्ना पुराना तथा चर्चित गीतहरु गाउने संयोजक गुरुङले बताए । रविन श्रेष्ठले ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’, ‘आँगनै भरी’, ‘नक्कली कान्छी’ जस्ता कालजयी गीतहरु सुनाउनेछन् । अर्का गायक गौतम गुरुङले ‘जोमसोमै बजार’, ‘गण्डकीको तिरैमा’, ‘झरीले रुझेको आकाश’, ‘यार्लिङ कहाँ खस्यो ?’ लगायतका गीत गाएर दर्शकलाई नचाउनेछन् ।
‘न्यूइयर इभ’ कै दिन भाइरल गायक उज्जन शाक्यको ब्यान्डले पनि लाइभ प्रस्तुति दिने अल टेक नेपालका सञ्चालक गुरुङले जानकारी दिए । शाक्यले ‘बेबी’, ‘राजमती चा’, ‘लुमन्ती’, ‘कुमारी’, ‘मतिनाया स्वाः’, ‘लिक्कलिक्क’ लगायतका गीतहरु गाउनेछन् । कोमागाने पार्कमा पुस १६ गतेको माहोल निकै तताउने गरी तयारी भइरहेको छ । त्यसको अघिल्लो दिन अर्थात् पुस १५ गते साँझ पनि चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ । उक्त दिन चर्चित गायक स्वप्न सुमन र केहर एन्ड द लुंगा ब्यान्डले लाइभ प्रस्तुति दिनेछन् । स्वप्न सुमनले ‘जे छौ तिमी’, ‘कसरी भनूँ तिमीलाई’, ‘बाचा भयो’, ‘म तिम्रो’ लगायतका युवापुस्ता माझ लोकप्रिय गीतहरु गाउनेछन् । त्यस्तै केहर एन्ड द लुंगाले ‘सररर’, ‘तिमीलाई सम्झेर’, ‘बैगुनी’, ‘तिमी बिना’ लगायतका गीतहरु प्रस्तुत गर्नेछन् ।
पुस १५ गते साँझ नै चक्र ब्यान्डको पनि विशेष प्रस्तुति रहनेछ । सोही दिन दिउँसोको सत्रमा भने लोक तथा दोहोरी गीतको रमाइलो हुनेछ । दिउँसो प्रिती आले, देउराली ब्यान्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालले गीत गाउनेछन् । दिवा कार्यक्रममा लोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेल लगायतको प्रस्तुति रहने गुरुङले बताए । सांगीतिक कार्यक्रमको सुरुआत भने पुस १४ गतेदेखि नै हुनेछ । पुस १४ गते अन्तरविद्यालय खुला नृत्य प्रतियोगिता आयोजना गरिनेछ । सोही दिन दिउँसोदेखि साँझसम्म ‘इन्टर स्कुल ब्यान्ड कम्पिटिसन’ का विजेता तथा उपविजेताहरुले आफ्नो सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको छ ।









माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
राष्ट्रपति रनिङ शिल्डमा भलिबल छात्र तर्फ पोखरा युनाइटेड एकेडेमी प्रथम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया