रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार

समाधान संवाददाता २०८२ पुष १३ गते ६:२३

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच पार्टी एकीकरण गर्ने ऐतिहासिक सहमति भएको छ । आइतबार बिहान दुई पक्षबीच भएको हस्ताक्षरसँगै वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि नयाँ ध्रुवीकरण भएको हो ।

सहमतिपत्रमा रास्वपाका सभापति रवि लामिछाने र मेयर बालेन्द्र शाहले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार एकीकरणपछि पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ भने चुनाव चिह्न ‘घण्टी’ कायम हुनेछ ।

Advertisement

दुई नेताबीच भएको शक्ति बाँडफाँटको सहमतिअनुसार पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने रहनेछन् । यस्तै, आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह बन्ने टुंगो लागेको छ ।

भ्रष्टाचारविरुद्धको आन्दोलनको अपनत्व लिने

Advertisement

दुवै पक्षले नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिने प्रतिबद्धता जनाएका छन् । आन्दोलनका क्रममा घाइते भएका तथा सहिद परिवारका मागहरू यथोचित सम्बोधन गर्ने विषय सहमतिपत्रमा उल्लेख छ ।

यस्तै, समुन्नति र सामाजिक न्यायका लागि नीतिगत तथा संरचनात्मक सुधार गर्दै १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्र कार्यान्वयनमा समर्पित हुने दुवै नेताले बताएका छन् ।

झण्डा र कार्यालय

पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकारभित्र निलो रङको घण्टीको आकृति रहनेछ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमति भएको छ ।

बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समेटिनेछ । जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई मुख्य आधार मानिने सहमतिपत्रमा उल्लेख छ । यो सम्झौताबमोजिम निर्वाचन आयोगमा दलसम्बन्धी विवरण अद्यावधिक गर्ने प्रक्रिया तत्काल अघि बढाइने जनाइएको छ ।

तपाईको प्रतिक्रिया