सम्पादकीय—पोखराको ब्रान्ड ‘सडक महोत्सव’

पर्यटकीय सहर पोखराको पहिचान र ब्रान्डका रूपमा स्थापित ‘पोखरा सडक महोत्सव’ आफ्नो २७ औं संस्करणको संघारमा छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर पुस १३ देखि १७ गतेसम्म लेकसाइडको साढे ३ किलोमिटर सडकमा आयोजना हुने यो महोत्सव नेपालकै सबैभन्दा ठूलो र व्यवस्थित सडक उत्सव मानिन्छ । विसं २०५५ देखि सुरु भएको यो यात्राले आज पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने निर्विकल्प राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा उभ्याएको छ ।
सडक महोत्सवको २७ वर्षे इतिहास केवल मनोरञ्जनमा मात्र सीमित छैन । यसले पोखराको पर्यटनमा ‘लो–सिजन’ को अवधारणालाई पूर्णतः बदलिदिएको छ । कुनै समय डिसेम्बर र जनवरी महिनामा पर्यटकको अभावमा सुस्ताउने पोखराका होटल र रेस्टुरेन्टहरू अहिले यही महोत्सवका कारण भरिभराउ हुने गर्छन् । ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने मूल नाराले एकातिर स्थानीय परिकार र संस्कृतिलाई सडकमा ल्याएको छ भने अर्कोतिर पोखराको अर्थतन्त्रलाई चलायमान बनाउन मेरुदण्डको काम गरेको छ । यस वर्षको महोत्सव झन् विशेष छ, किनकि यसले जेन–जी आन्दोलनपछिको विषम राजनीतिक परिस्थिति र मुलुकको शिथिल आर्थिक संकटका बिच पर्यटन पुनरुत्थानको एउटा बलियो सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ ।
महोत्सवको अर्को सबल पक्ष भनेको यसको सांस्कृतिक र सांगीतिक विविधता हो । यस पटक ३ दशकपछि एउटै मञ्चमा गुन्जिन लागेको ‘हिट्स अफ नाइन्टिज’ र ‘एक्स–नेपथ्य’ का संस्थापकहरूको प्रस्तुतिले पुरानो पुस्तालाई नोस्टाल्जिक बनाउनेछ भने आधुनिक पप र लाइभ ब्यान्डका प्रस्तुतिले नयाँ पुस्तालाई आकर्षण गर्नेछ । स्थानीय हस्तकला, चित्रकला, मौलिक भेषभूषा र रोधी जस्ता संस्कृतिलाई समेटेर महोत्सवले आधुनिकता र परम्पराको सुन्दर फ्युजन तयार पारेको छ । यसले पोखरा महानगरपालिकाले घोषणा गरेको ‘पोखरा भ्रमण वर्ष २०२५’ लाई सफल बनाउन समेत ठूलो मद्दत पुर्याउने निश्चित छ ।
यद्यपि, महोत्सवको सफलता केवल आयोजक रेबानको प्रयासले मात्र सम्भव छैन । यसका लागि राज्यका निकाय, सुरक्षा प्रशासन र आम पोखरेलीको साझा ऐक्यबद्धता आवश्यक छ । लाखौं पर्यटक भित्रिने यो उत्सवमा सुरक्षा, यातायात व्यवस्थापन र गुणस्तरीय सेवामा कुनै सम्झौता हुनुहुँदैन । पोखराको पर्यटनलाई विश्वबजारमा चिनाउने यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै यसले समग्र गण्डकी प्रदेशकै आर्थिक समृद्धिको ढोका खोल्न सकोस् । २७ औं सडक महोत्सवको भव्य सफलताको शुभकामना ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया