लेकसाइडमा फुड, म्युजिक र कल्चरको उत्सव

समाधान संवाददाता २०८२ पुष १३ गते ११:२७

पोखरा ।
पाहुनाको स्वागतका लागि ठडिएका भव्य स्वागतद्वार । सिरसिर चल्ने हावासँगै फर्फराइरहेका बुद्धमन्त्र अंकित रंगीचंगी ध्वजापताकाका तोरण । सफा र चिरिच्याट्ट पारिएको सडक । दायाँबायाँका पसलबाट गुञ्जने कहिले शान्त धुन । पाइला अघि बढाउँदै जाँदा सांगीतिक धुनहरू पनि बदलिँदै जान्छन्, कतैबाट पश्चिमा धुन मिसिएर आउँछ त कतै पूर्वीय शास्त्रीय संगीतको ।

Advertisement


कफी सपहरुको सजावटले थपेको छुट्टै आकर्षण र रेस्टुरेन्टहरूमा देखिने परम्परा र आधुनिकताको अनौठो संगम । अनि, ढोकामा उभिएर मुस्कुराउँदै ‘नमस्ते’ टक्र्याउने सत्कार । हो, यतिबेला देशको पर्यटकीय राजधानी पोखराको लेकसाइडको दृश्य फेरिएको छ । अंग्रेजी नयाँ वर्षको छेको पारेर फेवाताल किनारमा एउटा भव्य पर्व चल्दैछ ।


कुनै समय थियो, जब क्यालेन्डरको पाना पल्टिएर डिसेम्बर अन्त्यतिर पुग्दा पोखरा सुनसान बन्न थाल्थ्यो । चिसो सिरेटोसँगै पर्यटकका पाइला पनि न्यानो खोज्दै थाइल्याण्ड वा भारतको गोवातिर मोडिन्थे । लेकसाइडका व्यवसायीहरू हात बाँधेर ‘अफसिजन’ को दिक्दारी काट्थे । तर, साढे दुई दशकभन्दा लामो अन्तरालमा लेकसाइडको त्यो हिउँदे शून्यता अहिले भव्य उत्सवमा बदलिएको छ । समय फेरियो, र फेरियो पोखराको गन्तव्य पनि । अहिले डिसेम्बरको जाडोमा पोखरा सुस्ताउँदैन, बरु जाग्छ ।

Advertisement


आइतबार (पुस १३ गते) देखि सुरु हुने २७ औं पोखरा सडक महोत्सवले त्यही २७ वर्षअघिको सपनालाई फेरि एक पटक विपनामा उतार्दै छ । अंग्रेजी नयाँ वर्ष पोखरामा ठूलै सार्वजनिक पर्व हुन थालेको छ । यो बेला यहाँको पर्यटकीय केन्द्र लेकसाइड पूरै चाडपर्वमय बन्छ । लेकसाइड सुरु हुने बिन्दु फिस्टेल गेटदेखि अन्तसम्मको ३ किलोमिटर सडकको दायाँबायाँ र धर्ती आकाश नै बेहुली घर झै सिंगारिएको छ । फराकिलो सडकका दायाँबायाँ हुन्छन् रेस्टुरेन्टका पक्वान । सडकमै पाइन्छ खान र रमाउन ।


यो उत्सवको कथाको जरा २७ वर्ष अघिको एउटा संयोगसँग जोडिएको छ । ९० को दशकको मध्यतिरको कुरा हो, पोखराका पुराना पर्यटनकर्मी तथा रेबान पोखराका संस्थापक उपाध्यक्ष गणेशबहादुर भट्टराई भारतको गोवा पुगेका थिए । पुराना दिन सम्झँदै भट्टराई भन्छन्, ‘सन् १९९७ मा म गोवा पुगेका बेला त्यहाँको ‘सिफुड एन्ड म्युजिक फेस्टिभल’ को रौनक देखेपछि मेरो मनमा पोखराको सुनसान हिउँद खड्कियो ।

Advertisement

युरोपेली पर्यटक नयाँ वर्ष र क्रिसमस मनाउन कि थाइल्यान्डतिर जान्थे कि भारतको गोवातिर । त्यहाँ मैले देखेको फेस्टिभलबाटै प्रभावित भएर पोखरामा पनि फरक फरक समुदायको संस्कृति र खानपानलाई एउटै थलोमा ल्याउने सोच पलायो ।’


त्यही सोचले सन् १९९८ मा लेकसाइडमा पहिलो पटक सडक महोत्सवको बिउ रोपियो । तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सव र ‘भिजिट नेपाल १९९८’ को माहोल छोपेर सुरु गरिएको त्यो सानो प्रयास अहिले विशाल वटवृक्ष बनेको छ । फिस्टेल गेटदेखि खहरेसम्मको करिब ३ किलोमिटर सडक अबको साता सवारी साधनमुक्त हुनेछ । सडकमा गाडी होइन, मान्छेको सागर उर्लिनेछ । रेस्टुरेन्टका भान्सा सडकमै पाक्नेछन्, र स्वादका पारखीहरूले सडकमै बसेर रसास्वादन गर्नेछन् ।


रेबान पोखराका अध्यक्ष विश्वराज पौडेल यसलाई बहुपक्षीय फाइदाको रुपमा व्याख्या गर्छन् । ‘सडक महोत्सवले लेकसाइडलाई मात्र नभएर समग्र क्षेत्रमा फाइदा पुगेको हुन्छ । यसको ठूलो ‘चेन इफेक्ट’ छ,’ पौडेल भन्छन्, ‘पर्यटक आउँदा सवारीदेखि जहाजसम्ममा फाइदा पुग्छ । उनीहरूले खाने खानाले कृषि क्षेत्रमा फाइदा पुग्छ । पाहुना होमस्टेसम्म पुग्छन्, ट्रेकिङ र एड्भेन्चर गतिविधि बढ्छ ।’

अंग्रेजी नयाँ वर्ष मनाउनु भनेकै पोखरा जानु हो भन्ने भाष्य निर्माण भएको छ


यसपटक सुरक्षा र महँगी नियन्त्रणमा कडाइ गरिएको बताउँदै उनी थप्छन्, ‘सडकमै खाऊँ, सडकमै रमाऊँ भन्ने मूल नाराका साथ हामी फुड, म्युजिक र कल्चरलाई आधार बनाएर महोत्सव गरिरहेका छौं । पोखराका स्थानीय व्यवसाय र सांस्कृतिक धरोहरलाई विश्वव्यापी रूपमा चिनाउने एउटा महत्वपूर्ण प्लेटफर्म हो यो ।’


यो वर्षको महोत्सव समग्रमा राम्रो हुने महोत्सवका संयोजक वसन्त गौतम अपेक्षा गर्छन् । महोत्सव सफल बनाउन कै लागि पूर्वका ४÷५ वटा सहरमा पुगेर अन्तरक्रिया पनि गरेका गरेको उनले सुनाए । ‘सबैको साथ र समर्थन छ । त्यसैले यो वर्षको महोत्सव सफल हुनेमा हामी विश्वस्त छौं,’ उनले भने, ‘ठ्याक्कै गन्न त सकिदैंन् । अघिल्ला वर्षहरुमा करिब ५ लाख दर्शक महोत्समा आएको आंकलन गरिएको थियो । अहिले पनि त्यही संख्यामा महोत्सवमा आउँछन् भन्ने हो ।’


सुरुवाती दिनहरूमा यो महोत्सव आजको जस्तो भव्य थिएन । आयोजकहरूले नै खल्तीबाट पैसा हालेर यसलाई बचाएका थिए । रेबान पोखराका संस्थापक उपाध्यक्ष गणेशबहादुर भट्टराई भन्छन्, ‘पहिला लेकसाइड मिनी फेस्टिभल भनेका थियौं, अहिले यति ठूलो महोत्सव भयो ।’ सुरु हुने बेला यसको खास नामचाहिँ लेकसाइड मिनी फेस्टिभल भन्ने थियो । अहिले भने देशकै मिनी होइन बिगेस्ट फेस्टिभल भएको छ । लेकसाइड मिनी फेस्टिभल २०५६ सालको पुसमा पहिलो फेस्टिभल सुरु भएको थियो ।

पछि रेबान स्ट्रिट फेस्टिभल नाम भयो। सातौं संस्करणदेखि पोखरा सडक महोत्सव भन्न थालिएको हो । विदेशीलाई रोक्न सुरु गरिएको यो मेला अहिले स्वदेशी पर्यटकको पहिलो रोजाइ बनेको छ । अंग्रेजी नयाँ वर्ष मनाउनु भनेकै पोखरा जानु हो भन्ने भाष्य निर्माण भएको छ ।


रेबान पोखराका महासचिव वीरेन शेरचनका अनुसार अग्रजहरूले देखेको सपना अहिले ‘ब्रान्ड’ बनेको छ । ‘पर्यटनको अफसिजनमा हाम्रा अग्रजहरूले कोरेको एउटा सुन्दर सपना आज २७औं वसन्तसम्म आइपुगेको छ,’ शेरचन भन्छन्, ‘कुनै समय मन्द बनेको पोखराको पर्यटनलाई गति दिन सुरु गरिएको महोत्सव अहिले पोखराको ब्रान्ड बनेको छ ।

अचेल स्वदेशी मनहरू मात्र होइन, भारत र बंगलादेशबाट आएका पाहुनाहरूको समेत उत्तिकै प्रेमिल उपस्थिति देखिन्छ ।’ यो अवधारणा पोखरामा मात्र सीमित रहेन । शेरचन खुसी हुँदै सुनाउँछन्, ‘पोखराको यो उत्सवमय सिको अहिले बन्दीपुर, चितवन र बुटवल जस्ता सहरहरूमा पनि फैलिनु निकै सुखद पक्ष हो । जहाँ–जहाँ रेबानको पदचाप पुगेको छ, त्यहाँ यस्तो रौनकता छाउनुपर्छ ।’ महोत्सवमा यसपालि लोकसंस्कृतिमा लोकप्रिय रोधीको सेट नै ल्याइने भएको छ ।


२७औं संस्करणसम्म आइपुग्दा सडक महोत्सव समावेशीताको नमुना पनि बन्दै गएको छ । विशेषगरी महिला उद्यमीहरूका लागि यो आफ्नो सीप र उत्पादन देखाउने साझा मञ्च बनेको छ । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) की अध्यक्ष ममता न्यौपाने महोत्सवले महिलाहरूको आत्मविश्वास बढाएको बताउँछिन् । ‘पोखरा सडक महोत्सवले महिला पर्यटन व्यवसायी र महिला उद्यमीहरूलाई नयाँ अवसरहरू प्रदान गरेको छ । आफ्ना उत्पादन, कला र सीप सडकमा राखेर प्रदर्शन गर्ने मौका पाउँदा उनीहरूको आत्मविश्वास बढेको पाइन्छ,’ न्यौपाने भन्छिन् ।


पर्यटन व्यवसायी महिला संघ (टेवान) की अध्यक्ष शोभा पाण्डे पनि यसमा सहमति जनाउँछिन् । ‘टेवानको नारा नै दिगो पर्यटनका लागि समान सहभागिता भन्ने छ । रेबानले आयोजना गर्ने सडक महोत्सव पनि सोही अनुसार अघि बढेको छ,’ पाण्डे भन्छिन्, ‘हामी महिला पर्यटन व्यवसायीहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ ।’


जतिसुकै भव्यता थपिए पनि महोत्सवको मूल मर्म भने २७ वर्षअघि जे थियो, आज पनि त्यही छ । संस्थापक उपाध्यक्ष भट्टराई आफ्नो कथाको अन्त्यमा यसको उद्देश्यबारे प्रष्ट पार्छन्, ‘हाम्रो मुख्य उद्देश्य भनेको विभिन्न जाति र समुदायबीचको सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउनु, उनीहरूका मौलिक भेषभूषा, कृषि उपज र स्थानीय सामग्रीको बजारीकरण गर्नु हो । अहिले यो नेपालकै सडक महोत्सव बन्ने दिशामा छ ।’


पुस १३ गते आइतबारदेखि सुरु हुने यो महोत्सव अंग्रेजी नयाँ वर्ष (जनवरी १) सम्म चल्नेछ । कोभिड र आर्थिक मन्दी जस्ता अवरोधहरू छिचोल्दै २७ वर्षदेखि अविचलित यो यात्राले पोखरालाई फेरि एकपटक जुरुक्क उठाउँदै छ । दिउँसो सडकमा मौलिक झाँकी र साँझपख संगीतको तालमा झुम्ने लेकसाइडले अबका दिन देश–विदेशका पाहुनालाई न्यानो आतिथ्यता पस्कनेछ ।

तपाईको प्रतिक्रिया