कालिका बहुमुखी क्याम्पसमा ३ करोडको पुस्तकालय भवन

पोखरा ।
पोखराको कालिका बहुमुखी क्याम्पसमा संस्थापक अध्यक्ष सूर्यबहादुर केसीको सालिक अनावरण गरिएको छ । क्याम्पसको ३४औँ वार्षिकोत्सवका अवसरमा केसीको अर्धकदको सालिक अनावरण गरिएको हो । सोही कार्यक्रममा केसी परिवारको ३ करोड रुपैयाँभन्दा बढी लगानीमा बनेको पुस्तकालय भवन पनि उद्घाटन भयो । पोखरा महानगरपालिका वडा नम्बर १४ काजीपोखरीस्थित क्याम्पस हाताभित्र सालिक राखिएको छ ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राडा महानन्द चालिसेले सालिक अनावरण गरे । कार्यक्रममा स्वर्गीय केसीकी पत्नी प्रेमकुमारी सहभागी थिइन् । केसीका छोराहरू किरण, प्रकाश र रोशन पनि साथमै थिए । क्याम्पस प्रमुख विरञ्जी गौतमसहित उनीहरूले संयुक्त रूपमा सालिक अनावरण गरे । क्याम्पस स्थापनादेखि नै केसीले शैक्षिक र भौतिक विकासमा ठुलो योगदान गरेका थिए । उनको योगदानको कदर गर्दै सालिक स्थापना गरिएको हो ।
क्याम्पस परिसरमा कीर्ति पुस्तकालय भवन पनि निर्माण गरिएको छ । यो भवन स्व. कीर्तिबहादुर केसीको स्मृतिमा बनाइएको हो । भवन निर्माणमा सूर्यप्रेम ट्रस्टले आर्थिक सहयोग गरेको छ । यो ट्रस्ट केसी परिवारले स्थापना गरेको हो । भवन बनाउन ३ करोड २६ लाख २८ हजार ५ सय २० रुपैयाँ खर्च भयो । डिन प्राडा चालिसे र केसी परिवारले भवनको संयुक्त उद्घाटन गरे । त्यसपछि केसी परिवारले भवनको साँचो डिन चालिसेलाई हस्तान्तरण गरे । चालिसेले उक्त साँचो क्याम्पस प्रमुख गौतमलाई बुझाए ।
सञ्चालक समिति अध्यक्ष किरण केसीले बाबुको सम्मानमा सालिक बनाएको बताए । उनले क्याम्पसलाई समयसापेक्ष अगाडि बढाउने प्रतिबद्धता जनाए । निवर्तमान क्याम्पस प्रमुख रवीन्द्रनाथ बास्तोलाले केसीको योगदान अनुकरणीय रहेको बताए । कार्यक्रममा डम्बर मोहन गरिब छात्रवृत्ति अक्षयकोष पनि स्थापना भयो । क्याम्पसका अभिभावक डम्बरकुमारी गुरुङ र छोरा मोहन गुरुङले सहयोग गरे । उनीहरूले २ लाख ५१ हजार रुपैयाँ क्याम्पस प्रमुख गौतमलाई हस्तान्तरण गरे ।
कार्यक्रममा पूर्व क्याम्पस प्रमुख बालकृष्ण शर्मा र जनप्रकाश बहुमुखी क्याम्पसका प्रमुख ऋषिराम बुढाथोकीले बोले । सिनेटर कृष्णबहादुर थापा र कल्याणकारी समितिका सचिव तेजेन्द्र केसीले पनि भनाइ राखे । कार्यक्रम अध्यक्ष किरण केसीको अध्यक्षतामा भएको थियो । वडा नम्बर १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले स्वागत गरे । सञ्चालन सहायक क्याम्पस प्रमुख सालिकराम तिम्सिनाले गरे । कार्यक्रममा विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो । साथै सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत भयो ।









माझठानाका ९ प्रतिभा सम्मानित
इन्द्रराज्यलक्ष्मीको खेलकुद
स्वावलम्बन जीवन पद्धतिको सभा
पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न मन्त्रीको ध्यानाकर्षण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया