पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न मन्त्रीको ध्यानाकर्षण
पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता माग

पोखरा ।
होटल संघ पोखरा नेपालले पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिने सरकारी घोषणा कार्यान्वयन गर्न माग गरेको छ । संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हालाई भेटेर पाँचबुँदे ध्यानाकर्षणपत्र बुझाएको हो । शनिबार पोखरामा आयोजित कार्यक्रममा संघका अध्यक्ष लक्ष्मण सुवेदीले मन्त्री सिन्हालाई उक्त पत्र बुझाए ।
चालू आर्थिक वर्षको बजेटमा पर्यटनलाई उद्योग सरहको मान्यता दिएर सुविधा उपलब्ध गराउने भनिए पनि व्यवहारमा लागू नभएको गुनासो व्यवसायीको छ । उद्योग र कानुन मन्त्रालयको जिम्मेवारीमा समेत रहेका मन्त्री सिन्हालाई संघले यो विषय छिटो कार्यान्वयनमा लैजान आग्रह गरेको छ ।
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी मुलुक भारत र चीनका विभिन्न सहरमा उडान भर्न पहल गर्नुपर्ने माग पनि संघको छ । हाल यो विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ । संघले छिमेकी देशका सीमावर्ती सहर र आन्तरिक पर्यटकलाई केन्द्रित गर्दै प्रादेशिक सहरबीच हवाई सञ्जाल जोड्नुपर्ने आवश्यकता औँल्याएको छ ।
‘जेन–जी’ आन्दोलनका कारण मारमा परेका होटल प्रतिष्ठानलाई पुनरुत्थान गर्न राहतको व्यवस्था हुनुपर्ने माग व्यवसायीले गरेका छन् । पोखरा जोड्ने मुख्य राजमार्गको स्तरोन्नति तोकिएको समयमै सक्न सम्बन्धित निकायलाई दबाब दिनुपर्ने विषय पनि ध्यानाकर्षणपत्रमा समेटिएको छ । २०७२ भन्दा अघि बनेका साना तथा मझौला होटलले गर्नुपर्ने वातावरणीय अध्ययन व्यावहारिक नभएको भन्दै यसलाई खारेज गर्नुपर्ने माग संघले गरेको छ ।
ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री सिन्हाले पर्यटन क्षेत्रलाई उद्योग सरहको सहुलियत दिने विषयमा छलफल भइरहेको बताए । उनले यो विषय चाँडै कार्यान्वयन हुने आश्वासन दिए । पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने विषयमा सरकार गम्भीर भएर लागेको दाबी उनले गरे । गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बश्यालले विमानस्थल सञ्चालनका लागि संघीय सरकारलाई पटकपटक झकझक्याएको बताए ।
होटल क्राउन हिमालयजमा भएको छलफलमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले लगानी सुरक्षा र व्यावसायिक वातावरणमा जोड दिए । ‘जेन–जी आन्दोलनको क्रममा लुटिएका हतियार फिर्ता र बन्दीहरू पक्राउ नगरिएसम्म सुरक्षाको वातावरण तयार हुन सक्दैन’, उनले भने ।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य एवं संघका सल्लाहकार विश्वशंकर पालिखेले नेपालमा पर्यटक कम आउनुको कारण खोजी हुनुपर्ने बताए । उनले सातै प्रदेशमा पर्यटन मार्ट आयोजना गर्नुपर्ने सुझाव दिए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले बंगलादेशी र श्रीलंकन मुद्रा सटहीको सुविधा नेपालमा भए पर्यटनलाई फाइदा पुग्ने बताए ।
पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेलले लेकसाइडको पार्किङ व्यवस्थित गर्नुपर्ने र फेवातालको मापदण्डबारे अदालतको फैसला सच्याइनुपर्ने माग राखे । संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन संघका कोषाध्यक्ष नेत्रप्रसाद पौडेल (रमेश)ले गरेका थिए ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया