जेनजी आन्दोलनका सहिद अनिश: ‘परिवारको मियो नै उखेलियो, अब केले सान्त्वना होला ?’

काठमाडौं । ‘हाम्रो परिवारको मियो नै उखेलियो’, जेनजी आन्दोलनका सहिद अनिश पराजुलीका बुबा भीमबहादुरले भने, ‘अब हामीले पाउने सान्त्वना के होला ?’ गोरखा पालुङ्टार नगरपालिका ३ का अनिश आफ्नै देशमा केही गर्नुपर्छ भन्ने दृढ सोच राख्ने व्यक्ति थिए।
भीमबहादुर छोरो सम्झिँदै भन्छन्, ‘म केही गर्छु, व्यावसायिक हिसाबकिताब मिलाएर परिवारलाई सुख दिन्छु भन्ने उनको सोच थियो।’ व्यवहारमा अलि कडा देखिए पनि कुराकानी सुरु गरेपछि सबैलाई छोइहाल्ने अनिश देशको अवस्थाबारे छरछिमेक र साथीभाइमा सधैँजसो गम्भीर भएर कुरा गर्थे। ‘यसरी बिग्रँदै गयो भने देश भिखारी हुन्छ, जनता पनि अप्ठ्यारोमा पर्छन्’ भन्ने उनको चिन्ता परिवारले पटक–पटक सुनेको थियो।
जेनजीले शान्तिपूर्ण प्रदर्शन भन्दै गत भदौ २३ गते आह्वान गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि भएको दमन र निर्दोष युवाहरूको मृत्युले अनिशलाई गहिरो पीडा दिएको थियो। उनी जेनजी आन्दोलनका औपचारिक सदस्य थिएनन् तर अघिल्लो दिनको घटनाले उनलाई चुप बस्न नसक्ने बनायो। देशमा भ्रष्टाचार बढ्यो भनेर आन्दोलनमा गएका स्कुले पोसाक लगाएका बच्चा मारिएको देखेर उनलाई झन् आक्रोशित बनायो।
भदौ २४ गते बिहान बाबुछोरासँगै थिए। करिब ११ बजेतिर अनिश ‘एकछिन विरोध प्रदर्शन भएको ठाउँमा पुगेर आउँछु’ भन्दै घरबाट निस्किए। ५–७ वटा मोटरसाइकलमा साथीहरूसँगै उनी गोङ्गबुतर्फ लागे। ‘अनिशले भिडको दृश्य मोबाइलबाट लाइभ देखाइरहेका थिए भन्ने सुनेको थिएँ’, भीमबहादुर भन्छन्, ‘तर मैले त्यो लाइभ हेरिनँ।’ करिब दिउँसो २ बजेतिर ‘बाबुलाई पाखुरामा गोली लाग्यो’ भन्ने खबर आयो। ‘छोरो घाइते भयो भनेपछि बुहारीलाई नजानु, म जान्छु भनेर मेट्रो अस्पताल महाराजगंज पुगेँ’, उनी सम्झन्छन्, ‘त्यहाँ पुग्दा थाहा पाएँ—उनी त घटनास्थलमै बितिसकेका रहेछन्।’
त्यो दृश्य सम्झिँदा उनी अझै सम्हालिन सक्दैनन्। ‘हामीले छोरा गुमायौँ, दुई जना नातिहरूले बुबा गुमाए, बुहारीको सिन्दुर पुछियो, आमाको काख रित्तियो’, गला अवरुद्ध पार्दै भीमबहादुरले भने, ‘हाम्रो परिवारको मियो नै उखेलियो।’ अनिशलाई सरकारले सहिद घोषणा गरिसकेको छ। तर सहिद घोषणाले मात्रै पीडा कम नभएको भीमबहादुरको भनाइ छ।
‘देशका लागि छोराले बलिदानी दिए’ उनी भन्छन्, ‘तर हामी सामान्य परिवार हौँ। १ पेट खान जसोतसो पुगेको थियो, अबको भविष्य झन् अनिश्चित देखिएको छ।’
अनिशकी श्रीमती मञ्जु पौडेलको लागि जीवन एकाएक अवरुद्ध बनेको छ। ‘मेरो दुई साना छोरा छन्, अब उनीहरुको भविष्यले सधैँ चिन्तित बनाएको छ’ उनी भन्छिन्। अनिश–मञ्जुका जेठो छोरा निकोलस १४ वर्ष र कान्छो मेल्सन दुई वर्षका छन्। निकोलस अहिले कक्षा आठमा पढ्दै छन्। करिब १५ वर्षको वैवाहिक जीवनमा अनिश लामो समय वैदेशिक रोजगारीमा थिए। विसं २०४० मंसिर १९ गते गोरखाको पालुङ्टारमा जन्मिएका अनिश कोरोना महामारीपछि दुबई र कतारको लामो बसाइ अन्त्य गर्दै स्वदेशकै केही इलम गर्ने लक्ष्य लिएर फर्किएका थिए।
काठमाडौंको बसुन्धारामा साझेदारीमा कार्पेट व्यवसाय सुरु गरे। व्यवसायले गति लिन नपाउँदै कोरोना महामारी फैलियो। कोरोनाका कारण साझेदार र उनकी श्रीमती दुवैको निधन भएसँगै व्यवसाय पनि चौपट भयो। कार्पेट व्यवसाय बन्द भएपछि पराजुलीले काठमाडौंकै रमाइलोडाँडामा जस्ताको टहरा बनाएर सानो किराना पसल सञ्चालन गरे। विदेशबाट कमाएको पैसाले १ तले घर निर्माण गरेका थिए।
पछि कोरोनाको समय र व्यवसायको असफलताले त्यो पनि बेच्ने अवस्था आयो। ‘उनी अरूलाई परेको अन्याय सहन नसक्ने मान्छे थिए’, मञ्जु भन्छिन्, ‘अघिल्लो दिन विद्यार्थीमाथि गोली चलेको घटना अन्याय हो, यसको विरोध गर्नुपर्छ भनेर उनी गएका, फर्किएनन्।’ त्यसदिन दिउँसो २:३० बजेतिर गोली लागेको खबर छिमेकीबाट मञ्जुले थाहा पाइन्। उनलाई अस्पताल पुर्याउँदा ढिला भइसकेछ। पतिको निधनपछि मञ्जुलाई अब के गर्ने, कसरी बच्चा हुर्काउने भन्ने प्रश्नले सताएको छ।
अनिश पछिल्लो समय आफ्नै व्यवसायमा व्यस्त थिए। किराना पसल भए पनि ग्राहकका घरघरमा दैनिक उपभोग्य सामान पुर्याउन लैजाने गर्थे। पसल राम्रै चल्दै थियो। अब यो कसरी गर्ने र घर परिवार धान्ने भन्ने छटपटी मञ्जुलाई भएको छ। अनिशका नजिकका साथी सन्दीप खत्री जेनजी सुशासन योद्धा अनिशलाई समाजसेवी स्वभावका व्यक्तिका रूपमा सम्झन्छन्। ‘आफ्नो काम जतिसुकै भए पनि अरूलाई समस्या पर्यो भने पहिला सहयोग गर्ने मान्छे थिए अनिश’, उनी भन्छन्, ‘पछिल्लो समय देशमै केही गर्नुपर्छ भन्ने सोच उनमा थियो।’
भदौ २३ गते नयाँ बानेश्वरमा स्कुले विद्यार्थीमाथि भएको गोली प्रहारको घटनाबारे उनीहरूबीच लामो कुराकानी भएको थियो। ‘निर्दोष बच्चाहरू मारिनु देशका लागि दुर्भाग्य हो भनेर उनी निकै चिन्तित थिए’, सन्दीप सम्झन्छन्। घटना भएको दिन त्रिवि शिक्षण अस्पतालमा रहेका सन्दीपले मेट्रो अस्पतालमा आफ्नो हितैषी अनिशको निधन भएको थाहा पाए। ‘सरकारबाट सहिद परिवारले पाउने १५ लाख रुपैयाँ सहयोग पाएका छन् तर पीडा त्यतिले मेटिँदैन’ सन्दीप भन्छन्, ‘दोषीलाई कारबाही र सुशासनको अनुभूति नभएसम्म न्याय भएको महसुस हुँदैन।’ सन्दीप र अनिशको वडा फरक भए पनि मित्रता एकदम निकट थियो। उनीहरूबीच पारिवारिक नाता सम्बन्ध पनि थियो। अहिले आत्मीय साथी गुमाउनुपर्दा सन्दीप लगायत धेरैलाई एक्लो महसुस भएको छ। नवीन पौडेल/ रासस









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया