भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता

समाधान संवाददाता २०८२ पुष १३ गते १८:३६

पोखरा । भद्रकाली माध्यमिक विद्यालयमा आयोजित ‘खेलकुद सप्ताह–२०८२’ भव्य रूपमा सम्पन्न भएको छ। ‘स्वस्थ जीवनका लागि खेलकुद अपरिहार्य, अनुशासनसहित शैक्षिक वृत्तिमा सहकार्य’ भन्ने मूल नाराका साथ ६ पुसदेखि सुरु भएको कार्यक्रम शुक्रबार सकिएको हो।

Advertisement

सप्ताहव्यापी कार्यक्रममा नर्सरीदेखि कक्षा १२ सम्मका करिब १ हजार ५०० विद्यार्थीले उत्साहजनक सहभागिता जनाए। विद्यार्थीको उमेर र कक्षागत अवस्थालाई मध्यनजर गर्दै ४ तहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो।

कक्षा ४ देखि १० सम्मका विद्यार्थीबीच अन्तर–सदनात्मक (हाउस) प्रतिस्पर्धा गराइएको थियो। जसमा हरियो, निलो, रातो र पहेँलो सदनका विद्यार्थीबीच भिडन्त भएको थियो। यस्तै, नर्सरीदेखि कक्षा १, कक्षा २ देखि ५, कक्षा ६ देखि ८ तथा कक्षा ९ र १० सँगै कक्षा ११–१२ को छुट्टाछुट्टै तहमा खेल सञ्चालन गरिएको विद्यालयले जनाएको छ।

Advertisement

नर्सरी तथा प्राथमिक तहका बालबालिकाका लागि हट पोटाटो, मेमोरी गेम, मिठाई खोज, इन–आउट, स्याक दौड, म्युजिकल चेयर र चम्चा दौडजस्ता मनोरञ्जनात्मक खेल खेलाइएको थियो।

कक्षा ६ देखि १२ सम्मका विद्यार्थीले फिल्ड र ट्र्याक विधामा प्रतिस्पर्धा गरे। यसअन्तर्गत बास्केटबल, भलिबल, फुटबल, डोरी तान्ने प्रतियोगिता तथा १०० र २०० मिटर दौड समावेश थिए।

Advertisement

समापन समारोहमा विद्यालयका प्रधानाध्यापक यदुराज पगेनीले विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई मेडल तथा पुरस्कार वितरण गरे। उनले विद्यार्थीको सर्वांगीण विकासका लागि शैक्षिक ज्ञानसँगै खेलकुद आवश्यक रहेको बताए। पगेनीले भने, ‘खेलकुदमार्फत अनुशासन, आत्मविश्वास, सहकार्य र नेतृत्व क्षमताको विकास हुन्छ।’

विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक मीनबहादुर सावदले खेलकुद सप्ताह विद्यालयको नियमित शैक्षिक तथा अतिरिक्त क्रियाकलापको महत्वपूर्ण अंग रहेको बताए। यस्ता गतिविधिले विद्यार्थीको शारीरिक सुदृढता र मानसिक तन्दुरुस्तीमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया