माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार

कास्की ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलास्थित सार्दीखोला विद्यार्थी सहयोग समितिले आफ्नो ३० औँ वार्षिकोत्सवको अवसरमा शिक्षक सम्मान तथा छात्रवृत्ति वितरण गरेको छ । समितिले गाउँपालिकाका विभिन्न विद्यालयका २ सय ६० जना जेहेन्दार विद्यार्थीलाई ७ लाख ४२ हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गर्नुका साथै उत्कृष्ट शिक्षकहरूलाई नगदसहित सम्मान गरेको हो ।

शुक्रबार आयोजितसमारोहका बीच संस्कृतिविद् डा. जगमान गुरुङको प्रमुख आतिथ्यमा समितिले माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १, २ र ३ भित्रका १२ वटा विद्यालयका कक्षा १ देखि १२ सम्मका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति रकम प्रदान गरेको छ । सोही अवसरमा माछापुच्छ्रे माध्यमिक विद्यालय भुर्जुङखोलाका प्रधानाध्यापक सन्तोष आचार्यलाई ५० हजार रुपैयाँ राशिसहित विशेष सम्मान गरिएको छ ।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा नेतृत्वदायी र अतुलनीय योगदान पुर्याएको भन्दै आचार्यलाई ५० हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको समितिले जनाएको छ ।
यसैगरी शिक्षा क्षेत्रमा योगदान पुर्याएका अन्य ४ जना शिक्षकलाई पनि उत्कृष्ट शिक्षकका रूपमा सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा माछापुच्छ्रे माध्यमिक विद्यालय भुर्जुङखोलाका शिक्षक एलिसा अधिकारी र संगीता गुरुङ, मेघराज आधारभूत विद्यालय घाचोकका शिक्षक सपना मिजार तथा अन्नपूर्ण आधारभूत विद्यालय मिर्साका शिक्षक तिलकुमारी गुरुङ रहेका छन् । उनीहरूलाई जनही ६ हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । विद्यालय, समुदाय र अभिभावकको सिफारिसका आधारमा शिक्षक छनोट गरिएको आयोजकले बताएको छ ।
कार्यक्रममा विद्यार्थीहरूबीच गणित दौड, मिठाई दौड, कविता तथा नृत्य प्रतियोगितासमेत आयोजना गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई क्रमशः १६ सय, १३ सय, १ हजार र ७ सय रुपैयाँ बराबरको शैक्षिक सामग्री पुरस्कार स्वरूप प्रदान गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले ’उत्कृष्ट शिक्षकहरू समुदायका साझा सम्पत्ति भएको’ बताउँदै यस्ता सम्मानले शिक्षकको मनोबल बढ्ने र नयाँ पुस्तालाई शिक्षण पेसाप्रति आकर्षित गर्ने विचार व्यक्त गरेका थिए ।
समितिका अध्यक्ष हर्कबहादुर घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव बेगनाथ पौडेलले गरेका थिए । २०५३ सालमा माछापुच्छ्रे माध्यमिक विद्यालयका पूर्वविद्यार्थी भीम तामाङद्वारा स्थापित यो समितिले विगत तीन दशकदेखि शैक्षिक उत्थान, प्रतिभा विकास र शिक्षा क्षेत्रमा चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित काम गर्दै आएको छ ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया