सम्पादकीय—गुरुङ संस्कृतिका धरोहरलाई श्रद्धासुमन

समाधान संवाददाता २०८२ पुष १४ गते ११:११

गुरुङ भाषा र संस्कृतिका धरोहर इन्द्रबहादुर गुरुङको निधन भएको छ । ९२ वर्षमा बितेका उनको देहावसानले एउटा व्यक्तिको मात्र अन्त्य भएको छैन । एउटा जिउँदो इतिहासमा बिराम लागेको छ । गुरुङ समुदायले एक धरोहर गुमाएको छ । नेपाली समाजले एक सपुत गुमाएको छ । हाम्रो समाज र खास गरी गुरुङ समाज मौखिक परम्परामा आधारित छ । अघिल्लो पुस्ता नै ज्ञानको स्रोत हो । तर त्यो ज्ञान लिपिबद्ध छैन । रैथाने ज्ञानको स्वभाव लिपिबद्ध नहुनु हो । इन्द्रबहादुरले यही शून्यता चिर्ने काम गरे । गुरुङ संस्कृतिका ज्ञान र परम्परालाई उनले लिपिवद्ध गरी पुस्तकहरु निकालेका थिए ।

Advertisement


लमजुङको लमजुङको गिलुङमा जन्मिएका उनी पैंडी अर्थात पुरोहित त थिए नै, त्यसभन्दा धेरै अनुसन्धाता थिए । गुरुङ भाषाको शब्दकोश लेखेका छन् उनले । ‘तमु चि’ अर्थात ज्योतिष शास्त्र लेखेका छन् । अर्थात हराउन लागेको संस्कृतिलाई अक्षरमा कुँदेका छन् । मानिस मरणशील छ । यो प्रकृतिको नियम हो । तर इन्द्रबहादुर गुरुङ तिनै कृतिमार्फत अजर हुन्छन् । उनी ‘सेर्का क्वे’ का भाकाहरूमा गुञ्जिरहनेछन् । केही समय राजनीति पनि गरेका उनले विद्यालयहरू खोलेका छन् । गाउँको विकास निर्माणमा योगदान गरेका छन् ।

सबैभन्दा धेरै योगदान गुरुङ संस्कृतिको संरक्षण गरेर गएका छन् । गुरुङ संस्कृतिको आधिकारिक व्याख्याता थिए, इन्द्रबहादुर । बोन्पो र बौद्ध धर्मको मर्म बुझाउने सामथ्र्य राख्थे । नयाँ पुस्ता विदेश पलायन भइरहेको छ । यस्तो अवस्थामा ज्ञानको हस्तान्तरण कसरी हुन्छ ? यो चिन्ताको विषय हो । ‘जरो रहे मात्र हाँगा पलाउँछ’ भन्ने उखान छ । इन्द्रबहादुरले जरोलाई मलजल गरेका थिए । अब त्यो दायित्व नयाँ पुस्ताको काँधमा आएको छ ।

Advertisement


विदेशी उदाहरण हेरौं । जापान र कोरियाले आफ्नो भाषालाई कति माया गर्छन् । उनीहरूले प्रविधिसँगै संस्कृतिलाई पनि विकास गरे । हामीले पनि त्यही बाटो समात्नुपर्छ । नयाँ पुस्ताले यही कुरा मनन गर्नुपर्छ । मात्रै प्रविधिमा भुल्नु हुँदैन, संस्कृति र भाषालाई पनि संरक्षण गर्दै जानुपर्छ । होइन भने पहिचान हराउँछ । अफ्रिकी समाजमा एउटा चर्चित भनाइ छ । ‘एउटा वृद्ध मानिसको मृत्यु हुनु भनेको एउटा सिंगो पुस्तकालय जलेर खरानी हुनु हो ।’ त्यस्तो नहोस्, जिम्मेवारी नयाँ पुस्ताले लेओस् । अनिमात्रै इन्द्रबहादुरप्रति पनि सच्चा श्रद्धाञ्जली हुन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया