४२१० को आँखा जाँच

समाधान संवाददाता २०८२ पुष १४ गते १२:२०

जोमसोम ।
मुस्ताङका पाँच पालिकामा ४ हजार २ सय १० जना व्यक्तिले आँखा परीक्षण गराएका छन् । नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगंगा आँखा प्रतिष्ठान केन्द्रको शाखा मुस्ताङ सामुदायिक आँखा केन्द्र जोमसोमले २०२५ को जनवरीदेखि डिसेम्बरसम्म मुस्ताङमा आँखामा समस्या भएका व्यक्तिको जाँच गरेको थियो ।

Advertisement


मुस्ताङमा नेपाल आँखा कार्यक्रम कार्यान्वयनमा ल्याउन सन् २००९ देखि तिलगंगा आखा प्रतिष्ठान केन्द्र अन्तर्गत मुस्ताङ सामुदायिक आँखा केन्द्रले सेवा प्रवाह गर्दै आएको छ । मुस्ताङ सामुदायिक आँखा केन्द्रलाई अन्धो उपचार परियोजनाले आर्थिक सहयोग गर्दै आएको छ ।


आइतबार यहाँको प्रादेशिक अस्पताल जोमसोममा आयोजित केन्द्रको वार्षिक कार्यप्रगति समीक्षा तथा वार्षिक लेखा परीक्षण समिक्षा बैठकमा केन्द्रका प्रमुख एवं नेत्र अधिकृत रमिला नेपालीले मुस्ताङमा केन्द्रले स्थापनादेखि हालसम्म गरेको कार्यप्रगति प्रस्तुति गरिन् ।

Advertisement


नेत्र अधिकृत नेपालीले स्थापना कालदेखि हालसम्मको १६ वर्षको अवधिमा मुस्ताङ जिल्लामा १८ हजारभन्दा बढीको आँखा परीक्षण गरिएको सुनाइन् । जसमध्ये हालसम्म ५ सय ३५ जनाको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । केन्द्रले स्थानीयलाई २४ सै घन्टा आकस्मिक सेवा प्रवाह गर्दै आएको छ ।


केन्द्रले ओपिडी सेवातर्फ दृष्टि परीक्षण, आँखाको जाँच, चश्मा जाँच, सुपथ मूल्यमा चश्मा र औषधी सेवा र कम्प्युटरद्वारा चश्माको जाँच लगायतका सेवा दिने गरेको छ । आकस्मिक सेवा अन्तर्गत आँखाको पर्दा जाँच र रिफर सेवा प्रवाह गरेको नेत्र अधिकृत नेपालीले जानकारी दिइन् ।

Advertisement


केन्द्रले आँखा सम्वन्धि परीक्षणका अलावा बाह्य कार्यक्रम पनि सञ्चालन गर्ने गरेको छ । सन् २०२५ पनि केन्द्रले एक दिने आँखा शिविर सञ्चालन गरेको थियो । यहाँ दृष्टि परीक्षण, मोतिबिन्दु परीक्षण, चश्मा जाँच र चस्मा फिटिङसहितको सेवा उपलब्ध गराएको नेत्र अधिकृत नेपालीको भनाइ छ ।


यस वर्ष यहाँ सामुदायिक विद्यालयका शिक्षकलाई आँखा उपचारबारे तालिम पनि दिइएको छ । केन्द्रले यहाँ आयोजना गर्ने आँखाको शल्यक्रिया शिविरमा स्थानीय तह, आमा समूह, नागरिक समाज, स्वास्थ्य स्वंयसेविका, रेडक्रस र विद्यालयसँग समन्वय गर्ने गरेको छ ।


विपन्न समुदायका व्यक्तिहरुलाई केन्द्रको सेवाले उपचारका लागि सुगमका अस्पतालमा धाउनुपर्ने बाध्यता टरेको छ । केन्द्रमा १ नेत्र अधिकृत र १ अफ्टिकल फिडर कार्यरत छन् ।

तपाईको प्रतिक्रिया