लेखनाथ जन्मजयन्ती मनाइँदै

समाधान संवाददाता २०८२ पुष १४ गते १२:४४

लेखनाथ ।
कविशिरोमणि लेखनाथ पौड्यालको जन्म जयन्तीका त्रिदिवसीय कार्यक्रम आइतबारदेखि सुरु भएका छन् । पौड्यालको १४२ औं जन्मजयन्ती त्रिदिवसीय रुपमा विभिन्न कार्यक्रमसहित बनाइँदै छ ।

Advertisement


आइतबार लेखनाथ काव्य परिचर्चा, खुला कविता प्रतियोगिता तथा विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता भएका हुन् । लेखनाथ लायन्स क्लबका अघ्यक्ष बोधराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले लेखनाथको स्मृतिमा सिर्जित कवितावाचन गरे ।


कार्यक्रममा नेपाल सगीत तथा नाट्य प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले लेखनाथको काव्यहरु नेपाली भाषा र साहित्यका अमूल्य निधि भएको उल्लेख गरे ।

Advertisement

कार्यक्रममा लेखनाथका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकमा विद्यावारिधि गरेका डा बोधराज ढकाल, संस्कृत क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख डा जगन्नाथ रेग्मी, साहित्यकार नारायण मरासिनी लगायतले लेखनाथका काव्यबारे चर्चा गरेका थिए ।


त्रिदिवसीय कार्यक्रम अन्तर्गत सोमबार कविशिरोमणि जन्मस्थल सरसफाइ र मंगलबार अर्चलेमा मूल समारोह हुने छन् । विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा लक्ष्मी आदर्शकी मनिषा खनाल प्रथम, रिलायन्स पब्लिककी निष्ठा भट्टराई द्वितीय, लिटल फ्लावरकी सुदीक्षा पौडेल र जेसिएकी सुरक्षा बराल तृतीय भए ।

Advertisement


राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा छन्दतर्फ रामलाल कुमाल प्रथम, प्रेमनारायण ढकाल द्वितीय, श्रीधर पाण्डेय र कृष्णप्रसाद पौडेलले तृतीय ठहरिएका छन् । कविताको गद्यतर्फ केनिका गिरी प्रथम, उमाकान्त पोखरेल द्वितीय र सुदिना पौडेलले तृतीय स्थान पाए ।

तपाईको प्रतिक्रिया