६ दशकदेखि निरन्तर पढाउँदै रुप सर

रवीन्द्र माकाजू २०८२ पुष १४ गते १३:१९

अचम्म लाग्न सक्छ कोही व्यक्ति ६० वर्षदेखि निरन्तर पढाउने पेशामा संलग्न छ भन्नु पर्दा अपवादका रूपमा देखापरेका छन् हिसाबका प्रखर गुरु रुपबहादुर गुरुङ । ८० वर्षका भएपनि उनको पढाउने धोको अझै नपुगेको भन्दै । ऊनी भन्छन् – कक्षा कोठामा पढाउन जाँदा म आफूलाई योङ फिलिङ गर्छु । वि.स. २०२४ साल पौष ४ गते भद्रकाली स्कुलका सचिब चित्राङ्गद सिग्देलका हातबाट नियुक्तिपत्र बुझेका रुप सरको तलब त्यसबेला २२५/रुपैया थियो । उनले यो शैक्षिक पेशालाई अहिलेसम्म अंगालेका छन् । स्वास्थमा केही समस्या देखापरे पनि उनमा जागर घटेको छैन ।

Advertisement

ऊनी भन्छन्–यो मेरो बोनसको जीवन हो, म शिक्षाको सदुपयोग गरेरै मात्रै धर्तीबाट बिदा लिन्छु । रुप सरको पैतृक घर तनहुँको शुक्लागण्डकी नगरपालिका भए पनि उनको जन्म भारत विभाजन पूर्व (हाल पाकिस्तान को लाहोरमा) भएको थियो । लाहुरेका सन्तान हुँदा उनले आफू जीवनमा मास्टर हुम्ला भनेर कहिले सोचेका थिएनन् । भारतको विभाजन भएपछि ऊनी आफ्ना मातापिताको साथमा भारतको फिरोजपुर आए । उनको पढाई वि.एसीसम्म गोरखपुर युनिभर्सिटीमा भएको थियो ।

आफ्नो पुर्खौली घर आउने क्रममा ऊनी २०२२ सालमा पोखरामा आएका थिए । ऊनी उच्च शिक्षा प्राप्तिका लागि काठमाडौ जाने क्रममा पोखरा एयरपोर्टमा राजधानी जान टिकट नपाएर ७ दिन प्लेन कुर्नुपर्ने भयो । त्यसबेला दैनिक एक पटक मात्र पोखरा काठमाडौ हवाईसेवा चल्थ्यो । यही क्रममा पोखराको पेन्सन क्याम्पमा आफन्तलाई भेट्न जाँदा उनलाई भद्रकाली स्कुलका सचिव सिग्देललाई भेट गरायो । त्यहाँबाट शुरु भएको शैक्षिक यात्रा अहिलेसम्म निरन्तर चलिरहेको छ । उनले लामो समय कन्या स्कुल, प्रौढ स्कुल (हाल नवप्रभात) शिशु निकेतन, न्यु मिलिनियम हुँदै अहिले आफ्नै निजी सूर्योदय बोडिङ स्कुल लामाचौरमा कार्यरत छन् । उनमा पढाउने जागरणमा केही कमि आएको छैन । ऊनी भन्छन् यही जागरणले नै मलाई अहिलेसम्म जीवित तुल्याएको छ ।

Advertisement


भारतको गोरखपुरमा उच्चशिक्षा अध्ययन गरेका रूप सरलाई पोखरामा स्कुलको अवस्था देखेर दिक्क लागेको थियो । स्कुलमा झ्याल ढोका केही थिएन । खुल्लाचौरमा पढाउनु पर्दथ्यो । रुखको छहारी सहारा हुन्थ्यो । उनले विद्यालयमा पिटी खेलाउदा गाउँलेहरू हेर्न आउँदथ्यो, जात्रा नै लाग्दथ्यो । मान्छेहरू अचम्म मान्दै पिटी खेलाएको दृश्य हेर्दथे ।

जटिल स्वास्थ्य अवस्थाका बाबजुद शैक्षिक क्षेत्रमा योगदान दिइरहेका ८० वर्षीय रुपबहादुर गुरुङ (रुप सर) शिक्षण कर्मलाई नै ईश्वरको पूजा ठान्ने एक अथक र प्रेरणादायी शिक्षक हुन्

Advertisement


रूप सरले विद्यालय कसरी सञ्चालन र व्यवस्थापन गर्नेबारे समितिलाई जानकारी दिँदा विद्यालयले फड्को मार्‍यो । २०२८ सालमा भद्रकाली स्कुललाई मा.वि.बाट निमावि बनाइयो । रूपसरले विद्यालय छोडेर अन्यत्र जानुपर्ने अवस्था आयो । अनि २०२९ सालतिर तारानाथ रानाभाट, सुरेन्दैराज रेग्मी र रूप सरले प्रौढ मा.वि.को परिकल्पना गरेर नदीपुरको कन्या स्कुलमा विहान विद्यालय सञ्चालन गरे । विद्यालयको नाम प्रौढ मा.वि. सुहाउँदो भएन भनेर शिक्षासेवी स्व.गोपाल बैद्यले नवप्रभात नामाकरण गरेको पुरानो दिन सम्झदै रूप सरले भने –त्यसबेला विद्यालयका लागि दुधमान उदासले जग्गा दान गरेका थिए नदीपुरमा । पनि त्यही जग्गाको क्षतिपूर्तिले नयाँवजारमा नवप्रभाव मा.वि.को भवन बनाइयो ।


जीवनभर शैक्षिक सेवामा लागेका रूप सरका लागि खेलकुद अर्को मनपर्ने विषय हो । २०३८ सालमा रूप सर वक्सिङ टिमका मेनेजर नै बनेका थिए । वीरेन्द्र सिल्ड राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा उनी अति नै सक्रिय र व्यस्त हुन्थे ।


रूप सरको वैवाहिक सम्बन्ध आफ्नै पूर्व छात्रा नरशोभा गुरुङसँग प्रेमविवाह भएको थियो । रूप सरका दुई छोराहरु मध्ये जेठो राजेश शैक्षिक क्षेत्रमा संलग्न छन् अर्को छोरा अभिनाश डाक्टर छन् । छोरी अञ्जलीले एमएससी पूरा गरेर अष्ट्रेलिया बसोबास गर्दछिन् । ०४१ सालमा राष्ट्रिय शिक्षा पुरस्करबाट पुरस्कृत रुप सरलाई २०७८ सालमा मुटुमा समस्या देखा पर्‍यो ।

हरेक दिन डाइलोसिस गरेर स्वास्थ्यलाभ गर्दैछन् । जीवनमा उनी सन्तुष्ट छन् । कसैसँग कुनै गुनासो गर्दैनन् । कसैसँग केही आशा पनि गर्दैनन् । कर्मलाई नै ईश्वरको पूजा ठान्दछन् । जीवनमा कुनै राजनैतिक पार्टीमा आवद्ध नभएका रूप सरलाई पार्टी प्रवेशका लागि आग्रह भएको भएता पनि कहिल्यै ईच्छा गरेनन् । तर उनी मुलुकको अस्तव्यस्त अवस्था देखेर दिक्क हुँदै भन्छन् –मैले राजनीतिमा नलागेर सही निर्णय गरेको रहेछु । यसैमा सन्तुष्ट छु ।

तपाईको प्रतिक्रिया