सम्पादकीय—नयाँ मतदाताको परीक्षा

आगामी फागुन २१ प्रतिनिधि सभा निर्वाचन गर्ने तयारी सरकारको छ । जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचनमा पहिलोपटक सहभागी हुने मतदाताको संख्या ९ लाख १५ हजार १ सय १९ छ । गण्डकी प्रदेशमा मात्र ४४ हजार मतदाता थपिएका छन् । जसले नेपालको आगामी राजनीतिक यात्रा कता लैजाने भन्ने निर्णय गर्दै छन् । २०७९ को चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता थिए । यस पटक थपिएर मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ कायम भएको छ । पछिल्लो ३ वर्षमा ९ लाख बढी मतदाता थपिनु सामान्य जनसांख्यिकीय वृद्धिको परिणाममात्र होइन, यो संख्या आफैंमा एउटा राजनीतिक सन्देशसमेत हो । नयाँ मतदाता थपिनुका पछाडि केही पृष्ठभूमि र कारणहरू छन् ।
सामान्यतया युवाको उमेर समूह मतदान योग्य भएको देखिन्छ । जो डिजिटल युगमा जन्मिएर डिजिटल प्लेटफर्ममार्फत समाज हेर्दै हुर्किएका छन् । अब उनीहरू कस्तो नीति र नेतृत्व चाहन्छन् भन्ने मत परिणामले देखाउनेछ । जेनजी मतदाता छुट्लान भनेर अध्यादेश नै ल्याएर सरकारले सहजीकरण गरेको थियो । यस कारण पछिल्लो समयमा देखिएका राजनीतिक असन्तुष्टि र सचेतनाका बीचमा युवाले कस्तो राजनीति चाहेका छन् भन्ने थाहा पाउन मत परिणाम कुर्नुपर्छ । नेपालको पछिल्लो परिवर्तनका बाहक जेनजी हुन् । जसको प्रतिनिधित्व थपिएका ९ लाख मतदाताले गर्दै छन् ।
यस कारण नयाँ मतदाता कुनै अमूर्त तथ्यांक होइन । उनीहरू परिवर्तनको अपेक्षा बोकेका नागरिक हुन् । रोजगारी, शिक्षा, सुशासन, भ्रष्टाचार नियन्त्रण र अवसरको समान पहुँच लगायतका मुद्दा नयाँ मतदताको मतदानको निर्णयसँग गाँसिनेछ । ‘राजनीति फोहोरी खेल हो’ भन्दै राजनीतिक गतिविधिबाट टाढा बसेकाहरूसमेत यस पटक मतदान केन्द्रसम्म पुग्दैछन् । यस कारण २१ फागुनको चुनाव थप अर्थपूर्ण हुने अपेक्षा गरिएको छ ।
पहिलोपटक मतदान गर्ने मतदाता सामान्यतया आशावादी तर आलोचनात्मक खालका हुन्छन् । उनीहरू बाचा सुन्न चाहन्छन्, तर त्यसभन्दा बढी बाचा पूरा गर्ने क्षमताको प्रमाण खोज्छन् । यस कारण अब पुराना नारा र अनुहार मात्रले काम गर्दैन । चुनाव जितेपछि के कसो गर्ने हो त्यसको कार्ययोजना, विश्वास र परिणाम देखाउन सक्ने आधार राजनीतिक दल र उम्मेदवारहरुले दिनुपर्ने हुन्छ । नयाँ मतदाताले पक्कै ख्याल गर्ने छन् कि लोकतन्त्र मत हाल्ने अधिकारमा मात्र सीमित हुनु हुँदैन, यो जवाफदेहिताको संस्कार पनि हो । नयाँ मतदाताले दिएको मतले यदि पुरानै अभ्यास दोहोरियो भने निराशा थप बढ्न सक्छ । उनीहरूको मतले नीति, नेतृत्व र शासनशैलीमा सुधार ल्याउन सक्यो भने यही जेनजी पुस्ता लोकतन्त्रको बलियो आधार बन्छ ।









‘निर्वाचनको विकल्प छैन’
४८ पिन्ट रगत
वृद्धाभत्ता सहारा एकेडेमीलाई
दुर्घटना घटाउन पहल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया