गण्डकीमा थपिए २ लाख मतदाता

मनाङमा सबैभन्दा कम ७ हजार मतदाता छन्

सञ्जय रानाभाट २०८२ पुष १५ गते ११:४९

पोखरा ।
‘जेन जी’ विद्रोहको जगमा फेरिएको सत्ता समीकरण र आसन्न निर्वाचनको सरगर्मीबीच गण्डकी प्रदेशमा मतदाता संख्या ह्वातै बढेको छ । फागुन २१ गते तोकिएको आम निर्वाचनका लागि २०७९ मा भएको निर्वाचनभन्दा २ लाख ७ हजार ८ सय १९ मतदाता थपिएका छन् ।

Advertisement


योसँगै प्रदेशभर कुल मतदाताको संख्या १८ लाख ७० हजार ६५ पुगेको छ । जसमध्ये ९ लाख ५५ हजार ५ सय १६ महिला र ९ लाख १४ हजार ५ सय ३५ पुरुष मतदाता छन् भने अन्य समूहका १४ मतदाता सूचीकृत छन् । २०७९ साल मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गण्डकी प्रदेशमा कुल १६ लाख ६२ हजार २४६ जना मतदाता थिए ।


यीमध्ये ८ लाख ६९ हजार ५ सय ३८ महिला, ७ लाख ९२ हजार ६ सय ९६ पुरुष र ११ जना अन्य थिए । भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचन घोषणा गरेको थियो । सरकारले निर्वाचन घोषणा गर्दा असोज १० गतेसम्म १८ लाख २६ हजार ३१ मतदाता थिए ।

Advertisement


केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले युवाको भावना सम्बोधन गर्न विशेष अध्यादेशमार्फत मतदाता नामावली दर्ताको बाटो खोलेको थियो । त्यसयता मात्र ४४ हजार ३४ जनाले मतदाता नामावलीमा नामावली थप गरेका थिए । निर्वाचनको मिति घोषणा भइसकेपछि पनि मंसिर ५ गतेसम्म नाम दर्ता गर्न दिइएको विशेष समयमा युवाको लाम लागेको थियो ।


निर्वाचन कार्यालयका अनुसार नयाँ थपिएका मतदातामध्ये ८५ देखि ९० प्रतिशत १९ देखि २४ वर्ष उमेर समूहका युवा छन् । सरकारले अध्ययादेश ल्याएपछि कास्कीमा मात्रै १७ हजार ८ सय ९४ नयाँ मतदाता थपिएका छन् । यस पटक मतदाता नामावली संकलनमा प्रविधिको पनि ठूलो भूमिका रह्यो । कास्कीमा थपिएका यी मतदातामध्ये ८ हजार १ सय ९७ जनाको विवरण राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक तथ्यांकबाट सीधै निर्वाचन सूचीमा समावेश गरिएको थियो ।

Advertisement


बाँकी ९ हजारभन्दा बढीले प्रत्यक्ष उपस्थित भएर नाम दर्ता गराएका थिए । यसका साथै सयौं मतदाताले आफ्नो विवरण सच्याउने र मतदान स्थल स्थानान्तरण गर्ने कार्य समेत गरेका छन् । योसँगै कास्कीमा अहिले कुल मतदाता संख्या ३ लाख ११ हजार ७ सय ५६ पुगेको छ । कास्कीमा महिला मतदाताको संख्या १ लाख ६० हजारभन्दा बढी छ ।


यता, हिमाली जिल्ला मनाङमा भने सबैभन्दा कम ७ हजार मतदाता छन् । गोरखामा २ लाख २९ हजार ५८, स्याङ्जामा २ लाख ४८ हजार ८ सय १६, तनहुँमा २ लाख ५४ हजार ३ सय ९७ र नवलपरासी (सुस्ता पूर्व) मा २ लाख ६८ हजार ५ सय २६ मतदाता पुगेका छन् । बागलुङमा १ लाख ९३ हजार ३ सय ८१ र पर्वतमा १ लाख २५ हजार ४ सय ६६ मतदाता पुगेका छन् ।


गण्डकी प्रदेशका ११ जिल्लामा प्रत्यक्षतर्फ १८ वटा निर्वाचन क्षेत्र छन् । फागुन २१ को मतदानका लागि प्रदेशभर १ हजार २ सय ९७ मतदान स्थल र २ हजार ३ सय ९६ मतदान केन्द्रहरू तोकिएका छन् । निर्वाचन आयोगले फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने नागरिकलाई मतदानको अधिकार सुरक्षित गरेको छ ।


२०७९ को निर्वाचनमा गण्डकीमा नेपाली कांग्रेसले १०, एमालेले ५, माओवादी (नेकपा) ले २ र जनमोर्चाले १ क्षेत्रमा जित निकालेका थिए । यद्यपि तनहुँ १ बाट जितेका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उपनिर्वाचत हुँदा रास्वपाबाट स्वर्णिम वाग्ले विजयी भएका थिए । अहिले थपिएका नयाँ र युवा मतदाताले आगामी फागुन २१ को निर्वाचन परिणामलाई कुन दिशामा मोड्छन् भन्ने कुरा चासोको विषय बनेको छ ।


प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार अन्तिम नामावली प्रकाशन भएसँगै आयोग अब मतपत्र छपाइ र चुनावी जनशक्ति परिचालन जस्ता प्राविधिक व्यवस्थापनमा केन्द्रित भएको छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया