पोखरामा हस्तकला तथा गार्मेन्ट मेला

समाधान संवाददाता २०८२ पुष १६ गते ११:५१

पोखरा ।
इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखरा र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको संयुक्त आयोजनामा पोखरामा हस्तकला तथा गार्मेन्ट मार्ट (मेला) भएको छ । २ दिने उक्त मेला गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले स्वदेशी उत्पादनको प्रवर्द्धन र बजारीकरणमा मेलाले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

Advertisement


‘यस्ता मेला–महोत्सवले स्थानीय कला, सीप र प्रविधिको जर्गेनाका साथै आयआर्जन र उद्यमशीलता विकासमा टेवा पुग्छ’, उनले भने, ‘गण्डकी प्रदेश सरकारले पनि स्थानीय कच्चा पदार्थमा आधारित उद्यम विकासका लागि लगानी गर्दै आएको छ । पाँच जिल्लामा स्वदेशी उत्पादनको कोसेली घर बनाउने योजना अगाडि बढाइएको छ ।’


लगानी र प्रविधिको अभावमा रैथाने ज्ञान र सीप विस्थापित हुँदै गएको भन्दै मन्त्री बस्यालले ग्रामीण अर्थतन्त्र उकास्न स्थानीय उत्पादनमा जोड दिनुपर्ने उल्लेख गरे । नेपाल पर्यटन बोर्ड, प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले मेलाबाट आर्थिकसँगै पोखराको पर्यटकीय गतिविधिमा टेवा पुग्ने बताए । हस्तकलामार्फत बनाइएका वस्तु तथा हातेतानमार्फत बुनिएका कपडासँगै उक्त क्षेत्रमा क्रियाशील व्यवसायीलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ मेला आयोजना गरिएको उनको भनाइ छ ।

Advertisement


पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन स्थानीय उत्पादनको बजारीकरण गर्नुपर्नेमा जोड दिए । पोखरा भ्रमण वर्ष–२०२५ का संयोजक गोपीबहादुर भट्टराईले हस्तकला तथा गार्मेन्ट मार्टलाई निरन्तरतासहित विस्तार गर्नुपर्ने धारणा राखे ।


होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरामा हुने मेला–महोत्सवले पर्यटन क्षेत्र चलायमान हुने गरेको बताए । उनले अङ्ग्रेजी नयाँ वर्षको सम्मुखमा भइरहेका विभिन्न पर्यटकीय गतिविधिले पोखरा होटल तथा रेष्टुराँ पाहुनाले भरिभराउ भएको सुनाए ।

Advertisement


पोखरा महानगरपालिका, व्यवसाय प्रवर्धन केन्द्रका प्रमुख नवराज अधिकारीले नेपाली उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउनुपर्ने बताए । स्वदेशी उत्पादनको प्रवर्धन र बजारीकरणका लागि सरकारले लगानी बढाउनुपर्ने उनको भनाइ छ ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिका महासचिव जमुना शर्मा ‘वर्षा’, मेलाका संयोजक सुरेन्द्र पौडेल लगायतले धारणा राखेका थिए । ‘एगा’ पोखराका अध्यक्ष गोकर्ण लम्सालले स्थानीय उत्पादन राष्ट्रिय एवं अन्तरराष्ट्रियस्तरमा बजारीकरणमा मेलाले योगदान पुग्ने विश्वास लिइएको बताए ।


मेलामा गण्डकी प्रदेशका कास्की, स्याङ्जा, पर्वत, लमजुङ, म्याग्दी, नवलपुर र रुकुम पूर्वलगायत जिल्लाका उद्यमीले तयार गरेका हेम्स, अल्लो, ऊन लगायतबाट बनेका सामग्री प्रदर्शनी तथा बिक्रीमा राखिएका छन् ।

तपाईको प्रतिक्रिया