अन्नपूर्णका विद्यार्थीलाई प्राथमिक उपचार तालिम, आयुष विक प्रथम

समाधान संवाददाता २०८२ माघ १ गते ६:४३

पोखरा ।  नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजनामा कास्कीको अन्नपूर्ण गाउँपालिकामा दुईदिने विद्यालयस्तरीय प्राथमिक उपचार प्रशिक्षण सम्पन्न भएको छ । अन्नपूर्ण–९ तिखेढुङ्गास्थित भगवती माध्यमिक विद्यालयमा सञ्चालित तालिम बुधबार सकिएको हो ।

Advertisement

प्रशिक्षणपछिको मूल्यांकनमा भगवती माविका आयुष विक प्रथम भएका छन् । त्यस्तै, धारापानी माविकी स्मृति पौडेल द्वितीय र भगवती माविकै एलिसा क्षेत्री तृतीय भए ।

समापन समारोहमा रेडक्रस कास्कीकी सभापति उर्मिला खड्काले सहरभन्दा टाढाका गाउँमा हुने दुर्घटनामा प्राथमिक उपचारको महत्त्व बढी हुने बताइन् । उनले विद्यालय तहबाटै विद्यार्थीमा यससम्बन्धी सीप विकास गर्नुपर्नेमा जोड दिइन् । खड्काले रेडक्रसले यस क्षेत्रमा सुधारिएको चुलो वितरण, एक घर एक धारा तथा राहत उद्धारका काम गर्दै आएको स्मरण गराइन् ।

Advertisement

वडा नम्बर ९ का वडाध्यक्ष रमेश गुरुङले वडाको इतिहासमै पहिलो पटक विद्यालयमा प्राथमिक उपचार तालिम भएको बताए । उनले अब गाउँघरमा सामान्य प्राथमिक उपचार नपाएर बिरामीको अवस्था जटिल बन्ने समस्या हट्ने विश्वास व्यक्त गरे ।

गाउँपालिकाभित्रका विद्यालयमा स्थापित जुनियर रेडक्रस सर्कलको सहभागिता रहेको तालिममा रेडक्रस कास्कीका सदस्य सूर्यप्रसाद तिम्सिना ‘पालुवा’ र प्रशिक्षक लीला देवकोटाले सहजीकरण गरेका थिए ।

Advertisement

कार्यक्रममा रेडक्रस कास्कीका उपमन्त्री एवं जुनियर युवा संयोजक डिल्लीराम बराल, दाङसिङ घान्द्रुक उपशाखाका उपाध्यक्ष लक्ष्मी विक, ढिकुरपोखरी उपशाखाका सदस्य कृष्णप्रसाद भण्डारीलगायतले तालिमले विद्यार्थीलाई आपतकालीन जीवन रक्षामा सक्षम बनाउने धारणा राखे ।

विद्यालयका प्रधानाध्यापक एवं सर्कलका संरक्षक कीर्तिराज ढकालले स्वागत गरेको कार्यक्रम सर्कलकी अध्यक्ष सुमिता परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया