मगर सभ्यता र माघे संक्रान्ति

गुरुङको ल्होसार, मगरको माघी
मै राम्री भएको सोल्टीज्युका लागि
आजभोलि निकै बज्ने यो गीतले भने जस्तै १५ पुसमा मनाइने ल्होसार गुरुङ जातिको नयाँ वर्ष हो । माघ १ गतेको माघे संक्रान्ति पर्व फेरि अर्को जाति मगरको महत्वपूर्ण चाड हो । त्यसो त आजभोलि यिनीहरुले ‘माघे सकराती’लाई नयाँ वर्ष नै भन्ने गरेको पनि यदाकदा पाइन्छ । हुन सक्छ, परापूर्व कालमा यो नयाँ वर्षकै दिन थियो ।
कालान्तरमा यसलाई त्यो रुपमा नमनाए पनि विशेष हर्षोल्लासपूर्ण तरिकाले महत्वका साथ मनाइन्थ्यो । उता, ‘माघी’ शब्दको प्रयोग गरेर नै थारुहरुले चाँही यही दिन पारेर नयाँ वर्ष मनाउँछन् ।
भारतीय उपमहाद्विपमा विकसित ज्योतिष विज्ञान अनुसार माघ महिनाको पहिलो दिनबाट सूर्य मकर राशिमा प्रवेश गर्छ । आजको १५ दिन जति अगावै सूर्य दक्षिणायन हुन्छ अर्थात् ग्रीष्म याम सुरुआत हुन्छ । पृथ्वीको उत्तरी गोलाद्र्धमा रहेको यो भूखण्डमा यो समयसँगसँगै कठ्याङ्ग्रिदो चिसो पछिको न्यानोपनको पनि सुरु हुन्छ । कृषिलाई जीविकाको मुख्य आधार बनाउने मानिसहरुको लागि यसले शुभ र सहकालको संकेत पनि गर्छ ।
अबको समय ठाउँ अनुसारका सबै प्रकारका खेती लगाउने समय हो । यो समय हिउँद र बर्खाको संक्रमण समय पनि हो । तसर्थ, मगर जातिमात्रै नभएर सबै कृषिजीवी खासगरी आदिवासी समुदायका लागि यो महत्वपूर्ण समय हो ।
सबै कृषिजीवी खासगरी आदिवासी समुदायका लागि यो महत्वपूर्ण समय हो
मगर जाति नेपालको समग्र जनसंख्याको हिसाबले तेस्रो र आदिबासीबिचमा पहिलो ठूलो जाति हो । यो जातिको फैलावट नेपालका ७७ वटै जिल्ला, भारत, भुटान, बर्माका नेपाली जाति बस्ने सबै ठाउँमा र बाँकी विश्वका अन्य ठाउँमा पनि रहेको छ र माघे सकराती यी मगरको महत्वपूर्ण पर्वको रुपमा रहेको छ । सबैले उस्तै प्रकारले हर्षोल्लासका साथ मनाउँछन् ।
माघे सकराती माघ महिनाको मात्रै संक्रान्ति नभई सिङ्गै बर्खायामको संक्रान्ति हो । यही बुझेर नै हजारौँ वर्षदेखि नेपालमा बसोबास गर्दै आएका मगरहरुले यो समयलाई पर्वको रुपमा मनाउने गरेको हुनुपर्छ । वास्तवमा मगरको माघे संक्रान्तिसँग सांस्कृतिक, वैज्ञानिक, सामाजिक, धार्मिक आदि विभिन्न पक्षहरु जोडिएका छन् । प्रकृति पूजक मगरहरुले यस दिनलाई शारिरीक, मानसिक शुद्धिकरणको लागि उपयोग गर्छन् ।
यो धार्मिक र आध्यात्मिक पक्ष हो भने छोरी चेलीलाई घरमा बोलाएर मिठा खानेकुरा खुवाउनु, दिदीबहिनीले दाजुभाइको पूजा गर्नु, उज्यालो संस्कृतिको द्योतक हो । यसका वैज्ञानिक पक्ष त छँदै छन् । सूर्य उत्तरायण हुने समय भएकाले उत्तरी गोलाद्र्धको यो भूभाग सूर्यपोषित हुन्छ र बीजवृद्धि देखि प्राणी र वनस्पति लगायत सम्पूर्ण जीवात्माको विकास हुनपुग्छ ।
यस समयमा खाइने खानेकुरा बारा र सेलरोटी मगरका मौलिक खानेकुरा हुन् । तरुल खनिज पौष्टिकताले भरिएको अर्गानिक खानेकुरा हो । यसलाई विशिष्ट मौलिक परिकारको रुपमा अहिलेसम्म पनि प्रयोग गरिनुले पनि यस जातिलाई कृषिभन्दा पनि अगाडिको पशुपालन र घुमन्ते युगको मानिससँग जोड्दछ । यस पर्व अति वैज्ञानिक पनि देखिन्छ । आफू बसेको भूगोल र हावापानीका आधारमा यिनीहरुले आफ्ना चाडपर्वहरुको विकास गरेको देखिन्छ ।
अबको समय, यी संस्कृतिका धनी र आफ्नै मौलिक सभ्यता सहितका मगरहरुले आफ्नो विशिष्टता र पहिचानलाई अरुसमक्ष प्रस्तुत गर्नुपर्ने देखिन्छ । हुन सक्छ यसैलाई दृष्टिगत गरी ‘नेपाल मगर संघ’ले पनि यस दशकलाई मगरात सभ्यता र संस्कृतिको दस्तावेजिकरणको दशकको रुपमा अगाडि बढाएको छ । यो र यस्ता खाले अरु पनि चाडहरुलाई पुस्तान्तरणको माध्यमबाट सुरक्षित राख्ने र पर्यटन प्रवद्र्धनमा प्रयोग गरी उत्पादनसँग जोड्नुपर्छ ।
यसबाट एकातिर पहिचानको संरक्षण हुन्छ भने अर्थोपार्जन भई समुदाय समृद्धितर्फ अघि बढ्न सक्छ । अझ एक जातिमा मात्र सीमित यस्ता चाडलाई अरु समुदायको पनि अपनत्व बढाउन समुदायबिचको अन्तरघुलन जरुरी छ । हाम्रा यस्ता अभौतिक सम्पदालाई अहिलेको डिजिटल युगमा सँगसँगै अगाडि बढाउनुपर्छ । छिटोभन्दा छिटो यी विषयवस्तुलाई गुगलसँग सहकार्य गरी विश्व समक्ष पुर्याउनु जरुरी छ ।










मगर सभ्यता र माघे संक्रान्ति
पोखरा महानगरले चैतसम्म राजस्व छुट दिने
चुनावको मुखमा फुट्यो कांग्रेस
सम्पादकीय—स्वास्थ्य बिमा नरोकौं
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया