चुरोटभन्दा हानिकारक हुक्का

काठमाडौं । तपाईँ कतै हुक्काको नियमित सेवन त गरिरहनुभएको छैन वा हुक्का सुर्तीजन्य पदार्थबाट बनेको होइन, पानीको वाफको धुवाँ भनेर त तपाईँले खाइरहनुभएको त छैन । यदि त्यो हो भने सुर्तीजन्य पदार्थलाई पानी हुँदै धुवाँ बनाएर तानिने हुक्काले भविष्यमा क्यान्सर जस्तो घातक रोगको सुरुआती चरण बन्न सक्छ ।
राष्ट्रिय स्वास्थ शिक्षा तथा सूचना केन्द्रका स्वास्थ्य प्रवर्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखा प्रमुख उपेन्द्र ढुंगानाले युवामाझ हुक्का खाने प्रचलन बढ्दै गएको बताए । सुर्र्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ सार्वजनिक ठाउँमा हुक्का खानलाई प्रतिबन्ध गरे पनि रेष्टुरेन्ट, चिया पसलमा अहिले सेवनकर्ता बढेका छन् ।
हुक्का पाइपको माध्यमबाट सुर्तीलाई बलिरहेको कोइलाले तातो बनाई धुवाँ निकालेर सेवन गरिन्छ । हुक्कामा सुर्र्तीको पातको धुलो प्रयोग गरिन्छ र यो विभिन्न स्वाद वा सुगन्धमा पाइन्छ । त्यो सुगन्धले हुक्का मानिसलाई खाउँखाउँ गराउँछ । हुक्का खाँदा मानिसलाई स्याउ, पुदिना, चकलेट, नरिवल, खरबुजा सुगन्ध आउने गर्दछ ।
नेपालमा हुक्काजन्य सामग्रीको प्रयोग निरन्तर बढिरहेको छ ।१५ देखि ३० वर्षका युवामा हुक्काको प्रयोग बढी देखिन्छ । ‘हुक्का सेवन गर्दा धुवाँ हामीले लिन्छौँ । सुर्तीजन्य पदार्थ बनेको धुवाँ पानीबाट फिल्टर भएर आइरहेको छ भन्ने हामीले सोचेको हुन्छौँ तर त्यो गलत हो । पानी भएर धुवाँ आउदा रसायन पनि पानीमा धुलिन्छ,’ सुर्तीजन्य पदार्थ नियमन शाखा प्रमुख्र ढुंगाना भन्छन्, ‘हुक्कामा धुवाँको तापक्रम घटाउनका लागि पानी प्रयोग गरिन्छ । पानीमा मिसिएपछि धुवाँ झन् खतरनाक हुन्छ ।’
खाउँखाउँ लाग्ने फ्लेबर
हुक्कामा विभिन्न फ्लेवरका कोइला, व्रिकेट राखिएका हुन्छ । ती फ्लेवरले नै मानिसलाई खाउँखाउँ बनाउने गर्छन् । हुक्कामा राखिएका फ्लेवरले नमीठो बास्नालाई मीठो बनाउँछ । त्यसपछि मान्छेलाई हुक्का मन पर्न थाल्दछ । हुक्कामा स्याउ, स्ट्रवेरी, बबलगम जस्ता फ्लेवर राखिन्छ । निकोटिनले लत बनाउने र फ्लेवरले धुवाँलाई मीठो बनाउने भएपछि अहिलेका युवामा होटल, रेष्टुरेन्ट, क्याफे र चियापसलमा हुक्का खाने प्रचलन बढ्दै गएको छ । निकोटिनले सिधैँ क्यान्सर नबनाउने तर मुटुसँग सम्बन्धित रोग बनाउने गर्दछ ।
फ्लेवरमा विभिन्न रयायन हुन्छन् । ती रसायनले मानिसलाई क्यान्स रजस्ता प्राणघातक रोग निम्त्याउन सक्ने चिकित्सकहरू बताउँछन् । ह्याम्स अस्पतालकी वरिष्ठ फोक्सो रोग तथा क्रिटिकल केयर विशेषज्ञ डा रक्षा पाण्डेले हुक्का धेरै मानिसले हानिकारक होइन भनेर सेवन गरिरहेको बताइन् ।
‘हुक्कामा भएको खराब पदार्थ पानीमा नै बस्छ भन्ने सोचाइ छ तर हुक्का तान्दा पानी तान्ने होइन, क्यान्सर गराउने पदार्थ पानीको फोकामा हुन्छ । त्यही तान्ने हो । पानीमा पदार्थ बस्छ भन्ने सोचाइ गलत छ’, उनले भनिन् । संसारभरि चुरोट खाने मानिस घटिरहेका छन् तर चुरोटको सट्टा हुक्का भेपको सेवन बढिरहेको छ ।
हुक्का सेवनकर्ताले एउटा पटकमा हुक्का सेवन गर्दा ३० देखि ४५ मिनेट निरन्तर धुवाँ तानिरहेका हुन्छन् । अध्ययन अनुसार हुक्का ४५ मिनेटसम्म नियमित तान्ने हो भने त्यो सय चुरोट बराबरको हुने वरिष्ठ फोक्सो रोग विशेषज्ञ डा पाण्डे बताउँछिन् । ‘एक सर्को चुरोट र एक सर्को हुक्कामध्ये हुक्कामा धुवाँको मात्रा बढी हुन्छ । मान्छेले गफ गर्दै हुक्का तानिरहेको हुन्छ । उसले कम्तीमा ३० देखि ४५ मिनेट लगाएर हुक्का खान्छ । यसरी हुक्का खाँदा सय वटा चुरोटबराबर सेवन गर्दछ’, उनले भनिन् ।
क्यान्सर गराउने उच्च सम्भावना
हुक्काको सेवा गर्दा कोइलाबाट निस्कने धुवाँमा हानिकारक क्यान्सर बनाउने तत्व, धातु तथा कार्बोन मोनोअक्साइड हुन्छन् । अमेरिकी लग्स एसोसिएसनले पनि हुक्काले क्यान्सर रोग बनाउने पुष्टि गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हुक्कामा कार्सिजेनिक, हाइड्रोअक्साइड, नाइट्रोजन, नाइट्रिक एसिड, निकोटिन, फिनोलस र फिनोल डेरिभेटिभस जस्ता हानिकारक रसायन हुन्छ ।
फोक्सो रोग विशेषज्ञ डा पाण्डेले हुक्कामा प्रयोग गरिने कोइला र व्रिकेटमा कार्वनमोनोक्साइड हुने बताइन् । ‘चुरोटभन्दा हुक्कामा ४ प्रतिशत बढी कार्वनमोनोक्साइड हुने गर्दछ’, उनले थपिन्, ‘कार्वनमोनोक्साइडले हुक्का तान्दा हाम्रो मुटुको चाल बढाउँछ । यसले गर्दा उच्च रक्तचाप, कोलोस्ट्रोल बढ्ने र फोक्सो, मुटु, खाना खाने नलीको क्यान्सर बढी देखिने गरेको छ ।’
एक अध्ययनले १३ वर्षमाथिका ५० प्रतिशतले आफ्नो जीवन कालमा एक पटक हुक्का तानेको देखिएको छ तर तीमध्ये १० प्रतिशतमात्र धूमपान गर्ने रहेको र बाँकीले हुक्का हानिकारक छैन भनेर खाने गरेको देखिन्छ । उनले आफूकहाँ आउने बिरामीले पनि चुरोट नखाने गरेको तर हुक्का भने कहिलेकाहीँ खाने गरेको बताएको जानकारी दिइन् ।
हुक्का खाँदा धुवाँ फोक्सोमा जान्छ र फोक्सोबाट मुटु, मस्तिष्क हुँदै मानिसको शरीरको सबै भागमा पुग्ने गर्दछ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही पनि हुक्काको धुवाँमा पनि सिगरेटजस्तै (र कतिपय अवस्थामा अझ बढी) कार्सिनोजेनिक रसायन, कार्बन मोनोअक्साइड, टार र सुक्ष्म कण हुने गरेको बताए । हुक्का तान्दा ती कणलाई पानीले छाने जस्तो देखिए पनि ती विषालु पदार्थ फोक्सोसम्म सजिलै पुग्ने र पछि क्यान्सर निम्त्याउँछ ।
पछिल्लो समय क्याफे–लाउन्ज, रेष्टुरेन्टमा भेला भएका युवामाझ ‘स्टाइलिस’ र ‘कम हानिकारक’ भन्ने गलत धारणाका कारण यसको सेवन बढेको उनी बताउँछन् । हुक्का सेवनले फोक्सोको क्यान्सर, मुख र घाँटीको क्यान्सर, फोक्सोको क्षमता घट्ने र ह्दय रोगको जोखिम बढाउने हुन्छ ।
हुक्कापछि चुरोटमा लत
हुक्का सधैँ खान नपाइएपछि सेवनकर्ता चुरोट सेवनतर्फ आकर्षित हुन्छन् । ‘हुक्का महँगो पर्दछ र सधैँ पायक पर्ने ठाउँमा पाइँदैन’, क्यान्सर रोग विशेषज्ञ डा शाही भन्छिन्, ‘त्यसपछि हुक्का सेवन गर्ने मानिस चुरोट सेवन गर्न थाल्दछन् ।’
हुक्काको सेवन गर्ने व्यक्तिसँगै सेवन नगर्ने तर नजिक बस्ने अन्य व्यक्तिलाई समेत असर गर्दछ । गर्भवती हुँदा महिलाले हुक्का सेवन गरेमा शिशु जन्मँदा कम तौलको जन्मने र त्यस्ता शिशुमा श्वासप्रश्वाससम्बन्धी समस्या, समयअगावै जन्मने र शिशुको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने गर्दछ ।









दराजमै थन्किन्छ सिफारिस
प्रोग्रेसिभ फाइनान्सको सभा
मुस्ताङमा ११ हजार मतदाता
पोखरा सहकारीको सभा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया