मिथ्या र भ्रमपूर्ण सूचना कसरी चिन्ने ?

पोखरा । पोखरामा बुधबार भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचना कसरी चिन्ने, कसरी त्यस्ता सूचना कम गर्नेदेखि त्यसका प्रभावबारे छलफल भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीको आयोजनामा भएको ‘भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचनासम्बन्धी सरोकारवालाबीच सचेतना तथा अन्तरक्रिया’मा यस्ता सूचनाको स्रोत, फैलिनुका कारणदेखि निवारणका उपायसम्मको खोजी गरियो ।
कार्यmत्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचना आजको समाज र विशेषगरी युवा पुस्ताका लागि गम्भीर चुनौती बन्दै गएको बताए । उनले सूचना प्रविधिको तीव्र विकाससँगै गलत सूचनाको जोखिम पनि बढ्दै गएको उल्लेख गरे ।
‘आज हामी सूचना प्रविधिको युगमा छौँ, तर यससँगै सूचनाको भीडभाड पनि बढेको छ,’ उनले भने, ‘सत्य समाचारसँगै गलत र भ्रामक सूचना सजिलै फैलिने अवस्था छ, जसको प्रत्यक्ष असर समाजको सामाजिक सद्भाव र युवाको सोचमा परेको छ ।’ भ्रमपूर्ण सूचनाका कारण समुदायबीच द्वन्द्व, सामाजिक असहिष्णुता र हिंसासमेत निम्तिन सक्ने खतरा औँल्याउँदै युवा डिजिटल प्लेटफर्ममा बढी सक्रिय भएकाले उनीहरू नै यस्ता सूचनाको मुख्य निशाना बन्न पुगेको औंल्याए ।
न्युमिडिया, युट्युब लगायतका संलग्न युवालाई इंगित गर्दै उनले क्यामेरा र मोबाइल ठूलो शक्ति भएकाले त्यसको प्रयोग समाजलाई जोड्ने दिशामा गर्न आग्रह गरे । ‘भाइरल हुने नाममा समाजलाई विभाजन गर्ने होइन, सत्य र तथ्यमा आधारित सूचना प्रवाह गर्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा गण्डकी प्रेस रजिष्ट्रार विमला भण्डारीले अहिले मिथ्या सूचनाको बाढी देखिएको जनाउँदै प्रविधिको उपयोगमा ध्यान दिन आग्रह गरिन् । उनले भनिन्, ‘अहिले मिथ्या सूचनाको बाढी छ, प्रविधिले दिएको चुनौती चिर्न प्रविधिकै प्रयोग र यसका भित्री पक्षबारे जानकार हुनै पर्छ ।’
बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले मिथ्या सूचना छु्ट्याउन मिडियाको भूमिका रहने जनाउँदै यो समस्या निराकरणमा सञ्चार सञ्चारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । ‘यसका लागि गेट किपिङमा ध्यान दिनुपर्यो, मिथ्या सूचनालाई कम गर्न समाचार कक्षलाई आधुनिक, सशक्त, अनुभवी र व्यवस्थित बनाउन जरुरी छ,’ उनले भने, ‘एकै जना रिपोर्टरदेखि सम्पादकसम्म हुने अवस्थाले पनि समाचारकै कारण कहिलेकाँही मिथ्या सूचना फैलिन्छ ।’
सिएमआरका प्रमुख उज्ज्वल आचार्यले मिथ्या सूचना प्राचीन कालबाट सुरु भएको जनाउँदै सबैभन्दा कम मिथ्या सूचना पत्रकारिता क्षेत्रमा हुने दाबी गरे । उनले मिथ्या सूचनालाई चार वर्गमा विभक्त गर्दै यसले मानिसलाई मुल मुद्दाबाट टाटा बनाएर बहकाउनेदेखि ज्यानै लिनेसम्मका उदाहरणहरु पेश गरे ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, गण्डकी सरकारका मुख्य सचिव डन्डुराज घिमिरे, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णप्रसाद लम्साल, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल, प्रेस युनियन कास्की अध्यक्ष वासु मिश्र, गैसस महासंघ कास्की अध्यक्ष इन्दिर पौडेल लगायतले बोलेका थिए ।









दराजमै थन्किन्छ सिफारिस
प्रोग्रेसिभ फाइनान्सको सभा
मुस्ताङमा ११ हजार मतदाता
पोखरा सहकारीको सभा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया