कांग्रेसको विशेष महाधिवेशनमा गण्डकीका ११ सांसद

पोखरा ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा गण्डकी प्रदेशका ११ जना सांसद देखिएका छन् । गण्डकीमा कांग्रेसका २७ सांसद हुन् । तीमध्ये कतिपय महाधिवेशन प्रतिनिधिकै हैसियत र कतिपय सहभागिताका लागि गगन नेतृत्वमा आयोजित विशेष महाधिवेशनमा पुगेका थिए । त्यसरी पुग्नेको संख्या ११ देखिएको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको आधिकारिताको विवाद भने निर्वाचन आयोग पुगेको थियो । सभापति शेरबहादुर देउवा पक्षहरुले आफूहरु आधिकारिक रहेको दाबी शुक्रबार आयोग पुगेरै पेस गरेको थियो । त्यसलगत्तै गगन थापालाई सभापति निर्वाचित गरेको पक्ष पनि पुगेको थियो ।
विशेष महाधिवेशन आयोजना हुँदा नै गण्डकीका ११ जिल्लामध्ये ४ वटाका सभापतिहरुले महाधिवेशनमा भाग लिन आह्वान गर्दै सार्वजनिक अपिल जारी गरेका थिए । तीमध्ये कतिपय प्रदेश सांसदसमेत थिए । गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेसहित सांसदहरु महेन्द्रध्वज जिसी, डिल्लीराम सुवेदी, प्रकाश बराल, चम्पा खड्का, भेषबहादुर पौडेल, टीकाकुमारी बस्याल र अशोक श्रेष्ठले प्रतिनिधिका रुपमा महाधिवेशनमा भाग लिएको स्रोत बताउँछ । त्यसबाहेक प्रतिनिधि नभए पनि सांसदहरु पार्वती तामाङ, रेखा गुरुङ र कल्पना तिवारी पनि महाधिवेशनमा गएका थिए ।
कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेसहित १६ सांसद भने सभापति शेरबहादुर देउवाको संस्थापन पक्षका छन् । विशेष महाधिवेशन हुनुअघि देखि नै कांग्रेसमा तत्कालीन महामन्त्री गगन थापा पक्ष र देउवा पक्ष थियो । त्यसअनुसार गण्डकीमा मुख्यमन्त्री पाण्डेले गगन पक्षमै रहेका र आफ्नो गृहजिल्ला गोरखामा जिल्ला पार्टी सभापति रहेका नन्दप्रसाद न्यौपानलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए ।
त्यसै गरी उनले महेन्द्रध्वज जिसीलाई यसअघिको मन्त्रिपरिषदमा सामेल गरेका थिए भने चम्पा खड्कालाई प्रदेश मामिला तथा संसदीय समितिको सभापतिमा पठाएका छन् । त्यस्तै गगन पक्षधर नै रहेका प्रकाश बराललाई सचेतकको जिम्मेवारी छ । पाण्डेले शक्ति सन्तुलनका लागि आफ्नो विचार समूह इतरकालाई समेत जिम्मेवारी दिएका थिए । तर पाण्डे, न्यौपाने र बराल सबै खसआर्य र पुरुषमात्रै भएको भन्दै आलोचनासमेत हुँदै आएको थियो ।








कांग्रेसको आधिकारिकता गगन थापालाई, देउवाले गुमाए रुख चिह्न
कांग्रेसको विशेष महाधिवेशनमा गण्डकीका ११ सांसद
समाधानलाई ‘राष्ट्रिय क’ वर्गको मान्यता
इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया