पर्वतको कुश्मामा निःशुल्क शिविर : ५७४ को परीक्षण, ७३ ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

समाधान संवाददाता २०८२ माघ ३ गते ६:४१

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरबाट ७३ जना ज्येष्ठ नागरिकले पुनः आँखाको ज्योति पाएका छन् । शिविरमा ५७४ जनाको परीक्षण गर्दा ७३ जनामा मोतिबिन्दुको समस्या देखिएपछि उनीहरूको निःशुल्क शल्यक्रिया गरिएको हो ।

Advertisement

नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पतालले लायन्स क्लब अफ हिमालय कुश्मा र लायन्स क्लब अफ पर्वत अल्पेश्वरसँगको सहकार्यमा गत साता दुईदिने शिविर आयोजना गरेको थियो ।

हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक एवं नेत्र अधिकृत सुवास नेपालका अनुसार मोतिबिन्दु देखिएका सबै बिरामीको शल्यक्रिया निःशुल्क गरिएको छ । शिविरमा दृष्टिदोष देखिएका बिरामीलाई निःशुल्क चस्मासमेत वितरण गरिएको थियो ।

Advertisement

शिविरमा नेत्ररोग विशेषज्ञ डा. हरिबिक्रम अधिकारीको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले परीक्षण तथा शल्यक्रिया गरेको थियो । अस्पतालले विभिन्न विकास साझेदारसँग मिलेर गण्डकी र कर्णाली प्रदेशमा यस्ता शिविर सञ्चालन गर्दै आएको छ ।

नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दले ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी–आँखा सेवामा साझेदारी’ भन्ने मूल नाराका साथ अस्पतालको पहुँचभन्दा टाढा रहेका नागरिकलाई लक्षित गरी शिविर चलाएको बताए ।

Advertisement

‘ग्रामीण क्षेत्रका न्यून आय भएका, गरिब तथा विपन्न नागरिक आर्थिक तथा भौगोलिक कारणले उपचारबाट वञ्चित नहुन् भन्ने उद्देश्यले घरआँगनमै सेवा दिएका हौँ,’ उनले भने ।

संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार संघले हालसम्म देशका ६७ जिल्लामा स्थायी उपचार संरचना स्थापना गरेको छ । स्थापनाकालदेखि सन् २०२४ को अन्त्यसम्म २८ आँखा अस्पताल र २२६ उपचार केन्द्रमार्फत ४ करोड ६८ लाख ६८ हजार ६० जनालाई सेवा प्रदान गरिएको मिश्रले जानकारी दिए । यस अवधिमा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको संघले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया