निर्वाचन आउन ४७ दिन बाँकी : सामग्री ढुवानीका लागि १३ कम्पनी सूचीकृत, हेलिकप्टरमा परेन आवेदन

समाधान संवाददाता २०८२ माघ ३ गते ६:५३

काठमाडौँ– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्रलगायतका सामग्री ढुवानी गर्न १३ वटा सेवाप्रदायक संस्था सूचीकृत गरेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा निर्वाचन सामग्री ओसारपसार गर्न आयोगले कुरियर र कार्गो कम्पनी छनोट गरेको हो ।

Advertisement

आयोगका अनुसार कुरियर सेवातर्फ २ र ट्रक तथा कन्टेनर सेवातर्फ ११ वटा फर्म छनोटमा परेका छन् । आयोगले हेलिकप्टर सेवाका लागि पनि आवेदन माग गरे पनि कुनै पनि कम्पनीले प्रस्ताव पेस नगरेको जनाएको छ ।

कुरियर सेवातर्फ साझा कुरियर एण्ड कार्गो र ट्रान्स एयर इन्टरनेसनल लजिस्टिक प्रालि सूचीकृत भएका छन् ।

Advertisement

यस्तै, ट्रक तथा कन्टेनर सेवा उपलब्ध गराउन ११ वटा कम्पनी छनोट भएका छन् । जसमा हिमालयन कार्गो लजिस्टिक, वासुकी ट्रान्सपोर्ट, चितवन रोडवेज क्यारियर, न्यु भैरव ट्रान्सपोर्ट, अदिति ट्रान्सपोर्ट, ओम ट्रान्सपोर्ट, हरहर महादेव ढुवानी सेवा, देउती बज्यै कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, कृष्ण ट्रान्सपोर्ट, धौलागिरि कालिका कन्स्ट्रक्सन एण्ड सप्लायर्स र एयर मनकामना कुरियर एण्ड कार्गो प्रालि रहेका छन् ।

आयोगले गत पुस १७ गते सार्वजनिक सूचना जारी गरेर प्रस्ताव आह्वान गरेको थियो । प्राप्त निवेदनलाई तोकिएको सर्त र वार्षिक औसत कारोबारको आधारमा मूल्यांकन गरी ती सेवाप्रदायकलाई सूचीकृत गरिएको आयोगले जनाएको छ । छनोट भएका संस्थाहरूलाई निर्वाचन सामग्री आपूर्तिका लागि परिचालन गरिनेछ ।रासस

Advertisement

तपाईको प्रतिक्रिया