मुस्ताङमा एमालेका ईन्द्रधारा विष्टद्वारा उम्मेदवारी दर्ता

समाधान संवाददाता २०८२ माघ ६ गते १७:४५

मुस्ताङ
हिमाली जिल्ला मुस्ताङबाट नेकपा (एमाले) का तर्फबाट ईन्द्रधारा ढाडु विष्टले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मुस्ताङको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विष्टले समर्थकहरूसहित औपचारिक रूपमा मनोनयन पत्र दर्ता गराएका हुन् ।

Advertisement

विष्टको राजनीतिक र सामाजिक पृष्ठभूमि सामान्य राजनीतिज्ञको भन्दा फरक र रोचक छ । उनी मुस्ताङका अन्तिम राजा जिग्मे दोर्जे पलवर विष्टका नजिकका सहयोगी तथा सल्लाहकार थिए । राजतन्त्र रहुन्जेल र त्यसपछि पनि उनले मुस्ताङी राजाको निकट रहेर लोमन्थाङको सामाजिक तथा सांस्कृतिक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । परम्परागत नेतृत्व र आधुनिक राजनीतिको संगमका रूपमा उनलाई लिइन्छ ।

विशेषगरी २०७४ सालको निर्वाचनमा मुस्ताङ (क) बाट प्रदेश सभा सदस्य निर्वाचित भएपछि विष्ट राष्ट्रियस्तरमा चर्चामा आएका थिए । गण्डकी प्रदेश सभाको पहिलो बैठकमा उनी आफ्नो परम्परागत मुस्ताङी पोसाक ‘बख्खु’ (दोचा र विशेष अंगरखा) लगाएर उपस्थित भएका थिए ।

Advertisement

लोमन्थाङको स्थानीय राजनीतिमा सुरुमा स्वतन्त्र छवि बनाएका विष्ट पछि नेकपा एमालेमा सक्रिय भएका हुन् । उनले आफ्नो कार्यकालमा नेपाल र चीन जोड्ने कोरला नाका सञ्चालनका लागि निरन्तर आवाज उठाए । संसदमा होस् वा सार्वजनिक फोरममा, उनले मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने र उत्तरी नाकालाई व्यापारिक केन्द्र बनाउने कुरालाई सधैं प्राथमिकतामा राखेका छन् ।

एक सफल पर्यटन व्यवसायी र समाजसेवीका रूपमा समेत परिचित विष्टले लोमन्थाङको पर्यटन प्रवर्द्धन र गुम्बाहरूको संरक्षणमा लामो समयदेखि काम गर्दै आएका छन् । मुस्ताङी जनताको भावना बुझ्ने, परम्परागत दरबारको अनुभव सँगालेका र संसदीय अभ्यासमा समेत खरो उत्रिएका विष्टको उम्मेदवारीले यसपटकको चुनावलाई थप प्रतिस्पर्धात्मक बनाउने आँकलन गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया