नेपालमै बन्यो एआइमा आधारित ‘मिरागो’ भर्चुअल ट्रायल रुम, घरमै बसेर कपडा ट्रायल गर्न सकिने

समाधान संवाददाता २०८२ माघ ६ गते १७:५४

काठमाडौँ ।

Advertisement

कपडा किन्दा सुहाउँछ कि सुहाउँदैन भन्ने द्विविधा र भौतिक रूपमा ट्रायल रुममा पसेर लुगा लगाउनुपर्ने बाध्यतालाई हटाउँदै नेपालमै पहिलो पटक एआइ प्रविधिमा आधारित ‘मिरागो’ भर्चुअल ट्रायल रुम प्लाटफर्म सञ्चालनमा आएको छ । यो प्रविधिको प्रयोगले अब प्रयोगकर्ताले घरमै बसेर वा अनलाइन माध्यमबाट आफूलाई मन परेको कपडा भर्चुअल रूपमै लगाएर हेर्न सक्ने भएका छन् ।

एआइ टेक्नोलोजीमा केन्द्रित यो भर्चुअल ट्रायल रुम प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो एउटा तस्बिर र आफूलाई मन परेको लुगाको फोटो वा स्क्रिनसट प्लाटफर्ममा अपलोड गर्नु पर्ने हुन्छ । यसरी फोटो अपलोड गरेपछि एआइले स्वतः प्रयोगकर्ताको तस्बिरमा उक्त लुगा फिट गरेर नयाँ तस्बिर तयार गरिदिन्छ । यसले गर्दा प्रयोगकर्तालाई आफूलाई सुहाउने लुगा छान्न सहज हुनुका साथै अनलाइन सपिङबाट सामान किनेपछि हुने निराशालाई अन्त्य गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

Advertisement

विशेषगरी अनलाइनमा मन परेका लुगाहरू किनेर लगाएपछि मन नपर्ने वा नसुहाउने समस्या समाधान गर्न यो प्लाटफर्म प्रभावकारी हुने देखिएको छ । अब फर्मल, विवाह, पार्टी अथवा कुनै पनि प्रकारका पहिरन छान्न र आफ्नो स्टायल पहिचान गर्न मिरागोले सहयोग गर्ने निर्माण पक्षले जनाएको छ । कहाँ जाँदा के लगाउने, कस्तो लुगा लगाउने र किन्ने कि नकिन्ने लगायतका प्रश्नको उत्तर यही एउटै प्लाटफर्ममार्फत पाउन सकिनेछ ।

मिरागो प्लाटफर्मका निर्माणकर्ताहरूका अनुसार नेपालमा बनेको यो प्लाटफर्मले अन्तर्राष्ट्रिय स्तरको टेक्नोलोजी र युजर इन्टरफेसको अनुभव प्रदान गर्नेछ । निर्माणकर्ताले भने, ‘नेपालमै निर्मित यस भर्चुअल एआइ प्लाटफर्म केवल नेपालका लागि मात्र नभएर संसारकै लागि एक उपयोगी साधन बन्ने विशेषता राख्दछ ।’ उनले यस प्लाटफर्मले प्रयोगकर्ताको गोपनीयता र सुरक्षालाई समेत प्राथमिकतामा राखेर जीवनलाई सहज बनाउने दाबी गरे ।

Advertisement

अन्तर्राष्ट्रिय बजारमा जानुपूर्व पहिलो चरणमा नेपालमा सार्वजनिक गरिएको यस प्लाटफर्मको युजर इन्टरफेस नेपाली प्रयोगकर्तालाई प्राथमिकतामा राखेर बनाइएको छ । विद्यार्थी, कर्पोरेट कर्मचारी, कन्टेन्ट क्रिएटर र इन्फ्लुएन्सरका साथसाथै आम मानिसलाई लक्षित गरिएको यस प्लाटफर्मले ड्रेसिङलाई थप सहज र रोचक बनाउने बताइएको छ । यसलाई हाल प्ले स्टोर र एप स्टोर दुवैबाट डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ भने वेबसाइटमार्फत समेत प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराइएको छ ।

तपाईको प्रतिक्रिया