मालेपाटनमा ढुंगेधारा निर्माण

समाधान संवाददाता २०८२ माघ ६ गते १८:०५

पोखरा । पोखरा महानगरपालिका वडा नं ५ मालेपाटनस्थित विचारीचोकमा नवनिर्मित ढुंगेधारा उद्घाटन गरी समुदायलाई हस्तान्तरण गरिएको छ । सशस्त्र प्रहरी बल नेपालको २५औँ स्थापना दिवस (रजत जयन्ती) को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं २४ गण हेडक्वाटर कालिका कास्की र पोखरा महानगरपालिका वडा नं ५ को सहकार्यमा क्विक इम्प्याक्ट प्रोजेक्ट अन्तर्गत ढुङ्गेधारा निर्माण गरिएको हो ।

Advertisement

सशस्त्र प्रहरी बल, नेपाल नं २४ गण हेडक्वाटर कालिका कास्कीका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले सशस्त्र प्रहरी बल नागरिकको सुरक्षा मात्र नभई सामाजिक उत्तरदायित्व बहनमा समेत सक्रिय रहेको बताए । उनले समुदायको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता परियोजनाले नागरिक र सुरक्षाकर्मीबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

पोखरा महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष विष्णुप्रसाद बरालले ढुंगेधाराले स्थानीय बासिन्दाको खानेपानी समस्यामा राहत पुग्ने बताउँदै सशस्त्र प्रहरी बलको योगदानको प्रशंसा गरे ।

Advertisement

उद्घाटन समारोहमा वडा सदस्यहरू, समाजसेवी तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति थियो । कार्यक्रमको अन्त्यमा ढुंगेधारालाई औपचारिक रुपमा समुदायको संरक्षण र उपयोगका लागि हस्तान्तरण गरिएको छ ।

सशस्त्र प्रहरी बल कालिका गण सामाजिक कार्यमा समेत योगदान दिँदै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया