म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो

समाधान संवाददाता २०८२ माघ ६ गते १९:१८

म्याग्दी । म्याग्दीमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पूर्वमन्त्री महावीर पुनसहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार साँझ ५ बजेसम्मको समयभित्र २ जना स्वतन्त्र र ११ जना विभिन्न राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ताका लागि सबैभन्दा पहिला स्वतन्त्र उम्मेदवारका रूपमा महावीर पुन पुगेका थिए ।

Advertisement

निर्वाचन कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार म्याग्दीबाट पुन र नवीन जिसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । राजनीतिक दलहरूका तर्फबाट नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी ‘केबी’, नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर घिमिरे ‘ध्रुव’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवराज रोका चुनावी मैदानमा उत्रिएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्बरबहादुर सुवेदी र नेपाल कम्युनिष्ट पार्टीबाट अर्जुन थापाले पनि मनोनयन दर्ता गराएका छन् ।

अन्य उम्मेदवारहरूमा प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, मंगोल नेशनल अर्गनाइजेसनका भीमबहादुर लामा, श्रम संस्कृति पार्टीका विनोद लामा, राष्ट्रिय जनमोर्चाका क्षेमबहादुर विक र नेशनल रिपब्लिक नेपालका तुलप्रसाद गर्बुजा रहेका छन् । म्याग्दीमा यसपटक स्थापित राजनीतिक दलहरूसँगै स्वतन्त्र उम्मेदवारका रूपमा पुनको उपस्थितिले चुनावी माहोल निकै रोचक बन्ने देखिएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग बोल्दै उम्मेदवारहरूले आफ्नो जित निश्चित भएको दाबी गरेका छन् ।

Advertisement

म्याग्दीमा निर्वाचनका लागि कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । जसमा महिला ४४ हजार ६४, पुरुष ४२ हजार ३३२ र अन्य १ जना रहेका छन् । १ नगरपालिका र ५ गाउँपालिका रहेको यस जिल्लामा प्रतिनिधि सभाका लागि १ मात्र निर्वाचन क्षेत्र रहेको छ । निर्वाचन सम्पन्न गर्नका लागि जिल्लाभर ८२ वटा मतदान स्थल र १२० वटा मतदान केन्द्र तोकिएका छन् । मुख्य दलहरूबीच हुने प्रतिस्पर्धामा यसपटक नयाँ दल र स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले नयाँ रौनक थपेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया