सहकारी शुद्धीकरण अपरिहार्य

गोरखा । सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा गोरखा जिल्लाको आरुघाट गाउँपालिकामा सहकारिता, सहकारी ऐननियम तथा समसामयिक विषयक अभिमुखीकरण गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमको समन्वय जिल्ला सहकारी संघ, गोरखा र आरुघाट गाउँपालिकाले गरेका थिए । कार्यक्रममा गोरखा जिल्लाका भीमसेनथापा गाउँपालिका र आरुघाट गाउँपालिकाका विभिन्न सहकारी संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समिति सदस्य र व्यवस्थापक गरी ७० जना सहभागी थिए ।
कार्यक्रममा सहकारी रजिस्ट्रार भेषराज रिजालले सहकारी कानुन तथा सहकारी संस्थाले गर्नुपर्ने कानुनी परिपालना विषयक कार्यपत्र प्रस्तुत गरे । शाखा अधिकृत चोलाकान्त वाग्लेले सम्पत्ति शुद्धीकरण निवारण, गण्डकी प्रदेशमा सहकारीको तथ्यांकीय अवस्था र कोपोमिस प्रणाली सम्बन्धी कार्यपत्र र जिल्ला सहकारी संघ, गोरखाका महासचिव सरोज देवकोटाले गोरखा जिल्लामा सहकारीको स्थिति र आगामी दिनमा चाल्नुपर्ने कदम विषयक कार्यपत्र प्रस्तुत गरे । गाउँपालिका अध्यक्ष राजु गुरुङ, प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठ र आरुघाट गाउँपालिका सहकारी संघका अध्यक्ष मेन बहादुर अधिकारीले मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन सहकारी रजिस्ट्रारको कार्यालयका अधिकृत (छैटौँ) तुलसीप्रसाद पौडेलले गरेका थिए ।
कार्यपत्र प्रस्तोताहरूले सहकारी संस्थाका सञ्चालकका काम, कर्तव्य र दायित्वबारे चर्चा गर्दै सहकारी संस्थाहरूबीच लाभांश वितरण, व्याजदर निर्धारण, ऋण लगानी, सदस्यता प्रदान जस्ता क्रियाकलापहरूमा अस्वस्थ्य प्रतिस्पर्धा गर्न नहुने तथा सदस्य हित, सदस्य सहभागिता, वित्तीय सुशासन एवं संस्थागत अनुशासनमा जोड दिँदै संस्था सञ्चालन एवं व्यवस्थापन गर्नुपर्ने कुरामा जोड दिइएको थियो ।
सहकारीका सेयर सदस्यहरूले पनि केवल लाभांश प्राप्त गर्ने र ऋण लिने उद्देश्यले मात्र सदस्य नबनी संस्थाप्रति जिम्मेवार भई नियमित बचत गर्दै आफूले लिएको ऋण तोकिएको सर्त बमोजिम समयमै चुक्ता गर्नुपर्ने विषयमा चर्चा भएको थियो ।
कार्यक्रममा सम्पत्ति शुद्धीकरण जस्तो सामाजिक अपराध हुन नदिन सहकारी संघसंस्थाहरूले गर्नुपर्ने कार्य प्रक्रियाका विषयमा छलफल गरिएको थियो । कार्यक्षेत्रभित्र रही सेयर सदस्यसँग मात्र कारोबार गर्नुपर्ने, निष्क्रिय रूपमा रहेका सहकारीहरूले अद्यावधिक गरी सम्बन्धित नियामक निकायमा नियमित प्रतिवेदन पेश गर्नुपर्ने तथा एउटै कार्यक्षेत्रका एकैप्रकृतिका सहकारी संघ संस्थाबीच एकीकरण गर्दा सहकारी सञ्चालन र व्यवस्थापन उपलब्धिमूलक हुने विषयमा समेत परिचर्चा गरिएको थियो ।
कार्यक्रममा धितो लिलामी, ऋण असुली, सञ्चालक तथा सेयर सदस्यको दोहोरो सदस्यता लगायत विषयमा सहभागीहरूले राखेका जिज्ञासा, सुझाव तथा प्रतिक्रिया उपर जवाफ दिँदै सहकारी रजिस्ट्रार भेषराज रिजालले वर्तमानमा सहकारी शुद्धीकरण अनिवार्य भएकोले यस कार्यमा सामुहिक प्रतिबद्धता र सक्रियता आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रममा सहकारी रजिस्ट्रार भेषराज रिजालको अध्यक्षता एवं आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङको प्रमुख आतिथ्यता थियो । आरुघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठ, जिल्ला सहकारी संघ, गोरखाका महासचिव सरोज देवकोटा, जिल्ला बचत तथा ऋण संघ, गोरखाका अध्यक्ष तीर्थ बहादुर नेपाली समेत कार्यक्रममा उपस्थित थिए ।
तपाईको प्रतिक्रिया