राष्ट्रिय कर दिवसमा पोखरामा प्रभातफेरी

समाधान संवाददाता २०८१ मंसिर १ गते १८:०१

पोखरा । राष्ट्रिय कर दिवस २०८१को सप्ताह व्यापी कार्यक्रम शनिबारदेखि औपचारिक रुपमा सुरुवात भएको छ । कर सप्ताह (मंसिर १देखि ७)को पहिलो दिन आन्तरिक राजश्व कार्यालय पोखराले सचेतनामुलक प्रभातफेरी ¥याली निकाल्नुका साथै सरोकारवालाबीच शुभकामना आदान प्रदान कार्यक्रम राखेको छ ।

स्थानीय पोखरा सभागृहबाट निकालेको र्‍याली सिर्जनाचोक, रत्नचोक, राष्ट्रबैंकचोक, शहिदचोकहुँदै कार्यालयमा पुगी समापन भएको प्रमुख कर अधिकृत शिव शर्माले जानकारी दिए । कार्यक्रममा करदाता, व्यापारिक तथा बस्तुगत संगठन, लेखा परीक्षक लगायत सरोकारवालाहरुको सहभागिता रहेको छ । प्रमुख कर अधिकृत शर्माले नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको दिन १ मंसिर, २०५४ को स्मरण गर्दै हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको बताए । उनले नेपाल सरकारको निर्णय अनुसार २०६९ सालदेखि प्रत्येक वर्ष कर दिवस मनाउँन थालेको जनाए ।


राष्ट्रिय कर दिवस, ‘कर प्रणालीको सार, नेपालको आधार’ भन्ने नाराका साथ मनाइएको छ । प्रमुख कर अधिकृत शर्माले कर दिवसको सन्दर्भमा पहिलो सेवाग्राहीलाई सम्मान, बस्तुगत संघ संगठनसँग अन्तक्र्रिया, कर शिक्षाको बारेमा प्रशिक्षण, उत्कृष्ट कर्मचारी सम्मान, करदाता सम्मान सहित कर सप्ताहको समापन गरिने बताए ।

Advertisement

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकण कार्कीले करको दर भन्दा दायरा बढाउन सुझाव दिए । उनले स्वच्छ र स्वस्थ व्यवसाय गरेर कर तिर्न उद्योगी व्यवसाय तयार रहेको जानकारी दिए । ‘स्वच्छ रुपमा कारोबार गरेर नियमित रुपमा कर तिर्नेलाई कर माथि कर थोपर्दा मारमा परेका छन्,’उनले भने, ‘कर पनि नतिर्ने र करको दायरामा समेत नआउनेले सबैलाई बिगार्ने काम गरेका छन् ।’ उनले अहिलेको विषम परिस्थितिमा उद्योगी तथा व्यवसायीहरु सहज रुपमा कर तिर्न नसक्ने अवस्थामा रहेको जानकारी दिए । उनले कर सप्ताह पश्चात राजश्व प्रशासनले नयाँपन दिन पर्ने बताए ।

कर अधिकृत उपेन्द्र लामिछानेले कर सप्ताहको सन्दर्भमा कार्यालयका कर्मचारीबीच व्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको जानकारी दिए । नेपाल अडिटर एशोसियसन कास्कीका अध्यक्ष कमलबहादुर रेग्मीले एशोसियसनले उद्योगी व्यवसायी र कार्यालयबीच पुलको काम गरेको उल्लेख गरे ।

Advertisement

आन्तरिक राजस्व विभागले नेपालमा आन्तरिकरूपमा परिचालन हुने प्रमुख करहरू आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कलगायत कर प्रशासन सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०८०/०८१ मा कुल राजस्व १० खर्ब ५८ अर्ब असुली भएकोमा आन्तरिक राजस्व विभागको योगदान ५ खर्ब ३३ अर्ब छ । विभागको योगदान कुल राजस्व असुलीको करिब ७८.६५ प्रतिशत हो ।

तपाईको प्रतिक्रिया