के चाहिन्छ भन्नुस्, कार्यक्षेत्रमा १ नम्बर बन्नुहोस्ः मुख्यमन्त्री

समाधान संवाददाता २०७६ भदौ १९ गते १५:२९

समाधान संवाददाता
पोखरा

Advertisement

गण्डकी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमै ७० प्रतिशतभन्दा माथि बजेट खर्च गर्ने लक्ष्य राखेको थियो । तर, त्यो लक्ष्य पूरा हुन सकेन । कर्मचारी, संरचना, साधन र स्रोतको अभावले प्रदेशले जनताले देख्ने गरी काम गर्न नसकेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ निष्कर्ष लिकालेका छन् ।

संघ सरकारको अवरोध र साधन, स्रोतको अभावले मात्रै होइन कर्मचारीको मानसिकता र काम गर्ने पुरानै शैलीले पनि प्रदेशले गति लिन नसकेको सरकारको भनाइ थियो ।

मुख्यमन्त्री गुरुङले बुधबार प्रदेश मातहतका सबै कार्यालयका प्रमुखलाई डाकेर निर्देशन दिएका छन्, ‘काम गर्ने पुरातन शैली बदलौं । ढिला सुस्ती गर्दै नगरौं । काममा तल माथि नगर्नोस् । कर्मचारीलाई के चाहिन्छ त्यो प्रदेशले व्यवस्था गर्छ ।’ प्रदेशका ११ जिल्लाका मातहतका कार्यालय प्रमुखलाई पोखरामा बोलाएर मुख्यमन्त्री गुरुङले प्रदेशको लक्ष्य प्राप्ति र संघीयता बलियो बनाउने गरी काम गर्न निर्देशन दिएका हुन् ।

देशमा ठूला ठूला परिवर्तन भए पनि कर्मचारीको काम गर्ने शैली भने पुरानै भएको मुख्यमन्त्रीको भनाइ थियो । ‘हिजो जस्तो ढिलासुस्ती थियो, आज पनि उस्तै छ । कुनै चेन्ज छैन,’ मुख्यमन्त्री गुरुङले भने, ‘प्रक्रिया र विधि भनेर पछाडि परेको देश हो नेपाल ।’

Advertisement

हिजो पश्चिमाञ्चल विकास क्षेत्रमा जस्तो शैलीले काम गरेर प्रदेशको विकास नहुने मुख्यमन्त्रीको भनाइ थियो । देशमा संघीयता आइसकेपछि मानसिकतामा पनि संघीयता कर्मचारीलाई मुख्यमन्त्रीले निर्देशन दिए ।

सरकारको नीति तथा कार्यक्रम र ३४ अर्बको बजेट कार्यान्वयन कर्मचारीको काम गराईमै भर पर्ने मुख्यमन्त्री गुरुङले बताए । ‘प्रधानमन्त्री, मुख्यमन्त्री, कर्मचारी सबैको टाउकोमा ऋणको भारी छ । ऋणको भारी बोकेर ठीक ढंगले काम नगरे के हुन्छ ?’ मुख्यमन्त्री गुरुङले प्रश्न गरे, ‘त्यसैले हाम्रो भगवान भनेको जनता हो । जनतालाई खुसी पार्नुस् ।’ उनले जनतालाई ऋणको भारी बोकाएर तलब लिएको नबिर्सन कर्मचारीलाई आग्रह गरे ।

जनता नै भगवान भएको बताउँदै मुख्यमन्त्री गुरुङले तिनै जनतालाई रुने बनाए कर्मचारीलाई पाप लाग्ने बताए । सरकार–सरकारबीचको समन्वय गर्ने र सरकारका योजनालाई प्रभावकारी ढंगले अगाडि बढाउने जिम्मेवारी पनि कर्मचारीकै भएको मुख्यमन्त्री गुरुङको भनाइ थियो ।

कर्मचारीको क्षमता तथा वृत्ति विकास लगायत कुरामा कर्मचारीलाई के गर्नुपर्ने हो प्रदेशले व्यवस्था गर्ने तर कर्मचारी पनि १ नम्बर भएर देखाउन मुख्यमन्त्रीको आग्रह थियो । ‘हाम्रा प्रदेश मातहतका सबै कार्यालयका प्रमुखलाई १÷१ वटा गाडी हुनैपर्छ । हाम्रो अन्य कर्मचारीलाई पनि सवारी साधनको व्यवस्था हुनुपर्र्छ,’ मुख्यमन्त्री गुरुङले कर्मचारीलाई भने, ‘कार्यक्षेत्रमा पनि हामी १ नम्बर हुनुपर्छ । मुख्यमन्त्री बोलीमा जति रुखो छ । मनको उत्तिकै दयालु पनि छ ।’

जनतालाई सुख दिन एउटा सरकारको ठाउँमा ७ सय ६१ वटा सरकार बनाएर पनि जनताले दुख पाउन थाले भने संघीयतामाथि नै प्रश्न उठ्ने उनको भनाइ छ ।

प्रदेशका कर्मचारी भ्रष्टाचारका मुद्दामा समातिएपछि आफूलाई जिउमा हिँउको डल्लो खसेजस्तो भएको बताए । अख्तियारले समाउनुभन्दा पहिले प्रदेशले जानकारी पाए त्यस्ता कर्मचारीलाई आफैंले कारबाही गर्ने मुख्यमन्त्री गुरुङको चेतावनी थियो ।

अघिल्लो वर्ष काम नहुनु जम्मै संघको दोष
अघिल्लो वर्ष धेरै काम गर्न नसक्नुमा जम्मै संघीय सरकारको दोष भएको मुख्यमन्त्री गुरुङले बताएका छन् । संघीय सरकारका कारण कर्मचारी, स्रोत साधन, संरचना हरेक कुराको बिघ्नबाधामा प्रदेश चलेको उनको भनाइ थियो ।

‘हामीले गण्डकी विश्वविद्यालय बनाउने भन्यौं, गण्डकी प्राविधिक विश्वविद्यालय बनाउँछौं भन्यौं, सबै मन्त्रालय र मन्त्री र कर्मचारीका आवास बनाउँछौं भन्यौं, प्रदेश सभा बनाउने भन्यौं तर अहिलेसम्म पनि जग्गा प्राप्ति नै हुन सकेन,’ मुख्यमन्त्री गुरुङले भने, ‘यस्तो बिघ्नबाधाबीच पनि ६६ प्रतिशत खर्च गर्न सकेकै हौं ।’

यसपटक प्रदेशले ९५ प्रतिशत बजेट कार्यन्वयनको लक्ष्य राखेको स्मरण गराउँदै मुख्यमन्त्री गुरुङले त्यसका लागि सबै मन्त्रालयले जेठ मसान्तसम्मको कार्ययोजना बनाएको सुनाए । सोही कार्ययोजनाको आधारमा कर्मचारीलाई काममा लाग्न उनले निर्देशन दिए । आर्थिक ममिला तथा योजना मन्त्री किरण गुरुङले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मात्र विकास निर्माण गरिने भएकाले सोही अनुसार काममा लाग्न निर्देशन दिए ।

तपाईको प्रतिक्रिया